कर्णालीको बृहत्तर विकासलाई अघि बढाउन प्रधानमन्त्रीसँग माग



सुर्खेत ।

कर्णालीका नेकपा एमाले नेताहरूले कर्णालीको बृहत विकासलाई प्राथमिकता दिन माग गरेका छन् । कर्णालीको सडक, विमानस्थल, जलविद्युत् तथा छिमेकी राष्ट्र चीनसँग जोड्ने सडक आयोजनामा बजेट सुनिश्चितता गर्न माग गरेका हुन् ।

कर्णालीका राष्ट्रिय गौरवका आयोजना, सडक सञ्जाललगायतका विषयलाई प्राथमिकता दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनीहरूले पाँचबुँदे माग गरेका हुन् । नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटीको नेतृत्वमा गएको टोलीले प्रधानमन्त्री ओलीलाई भेटी कर्णालीको सडक, जलविद्युत् तथा विमानस्थल विस्तार र विकासमा प्राथमिकता दिन माग पत्र बुझाएका छन् ।

प्रदेश इन्चार्जदेखि अध्यक्ष तथा कर्णालीका १० वटै जिल्लाका इन्चार्जहरूको सहभागितामा प्रधानमन्त्री ओलीलाई कर्णालीको विकासका लागि चालु आव र आगामी आवको बजेटमै कर्णालीका ठूला आयोजना समेटिने गरी पहल गर्न माग गरेका हुन् ।

प्रधानमन्त्री ओलीको कार्यकालमा कर्णालीमा भएका विकास र उपलब्धिप्रति धन्यवाद ज्ञापनसहित बजेट अभावले रोकिएका, अधुरा रहेका आयोजनामा बजेट सुनिश्चत गर्न र कर्णालीको आर्थिक, सामाजिक विकास र समृद्धिसँग जोडिएका पूर्वाधारका आयोजनालाई अघि बढाउनुपर्ने ५ बँुदे माग गरिएको छ ।

कर्णाली करिडोरअन्र्तगत सुर्खेत–हिल्सा सडक, भेरी करिडोरको छिन्चु–जाजारकोट–डोल्पा (धो–मोरिम्ला) सडक र कर्णाली राजमार्गअन्तगत सुर्खेत–जुम्ला–मुगु (नाक्चे लाग्ना) सडकलाई राष्ट्रिय गौरवका योजनाको रूपमा समाबेश गरी आवश्यक बजेट व्यवस्था गर्न माग गरिएको छ ।

त्यस्तै, बाँकेको कोहलपुरदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतसम्म चार लेनको सडक निर्माणका लागि आवश्यक बजेट व्यवस्था गर्न प्रधानमन्त्रीलाई माग गरिएको हो । यसैगरी, चीनको सिमानासँग जोडिएको हिल्सा नाकामा क्वारेन्टाइन र यारी नाकामा सुक्खा बन्दरगाहको स्थापना गर्ने व्यवस्था गर्न माग गरिएको छ । नलगाड जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी अगाडि बढाउन माग गरिएको नेकपा एमाले जुुम्लाका इन्चार्ज रतननाथ योगीले बताए ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतस्थित एयरपोर्ट विस्तारका लागि १० करोड बजेट व्यवस्था भएको छ । आवश्यक पर्ने स्रोतको सुनिश्चितता गरी चालु आवबाटै विस्तार तथा निर्माण कार्य सुरु गर्नुका साथै प्रदेशका हिमाली जिल्लाहरूमा सुर्खेतबाट नेपाल एयरलाइन्स र अन्य निजी एयरलाइन्सहरूको नियमित तथा सुलभ उडान गर्ने व्यवस्था गरिदिन पनि माग गरिएको नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज बोगटीले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस २९ गते सोमबार