लुुम्बिनी प्रदेश सभामा बाँके बर्दिया कर्णालीमा गाभ्ने बहस



डा. धवलशमशेर राणा नेपालगन्जको नगर प्रमुख हुँदा यो विषयलाई बहसमा ल्याएका थिए । बर्दियाका सांसद सञ्जय गौतमदेखि जुम्लाका सांसद ज्ञानेन्द्र शाहीसम्म बाँके बर्दियालाई कर्णालीलाई गाभ्नुपर्ने पक्षमा उभिए । अहिले भने यो विषय औपचारिक रूपमा लुम्बिनी प्रदेश सभामा प्रवेश गरेको छ । बाँके, बर्दिया र दाङका प्रदेश सदस्यहरूले बाँके र बर्दियालाई कर्णालीमा गाभ्ने विषयलाई लुम्बिनीमाथिको हमला, षडयन्त्र र औचित्यहीनको संज्ञा दिएका छन् ।

शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने विषय लुम्बिनी प्रदेश सभामा प्रवेश गरेको छ । लामो समयदेखि बहसमा रहेको बाँके र बर्दियालाई कर्णालीमा गाभ्ने विषय लुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशनमा पहिलोपटक प्रदेश सभामा प्रवेश गरेको हो । पुस १६ र १७ गते चलेको पाँचौँ अधिवेशनको पहिलो र दोस्रो बैठकमा दाङ, बाँके र बर्दियाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरूले बाँके र बर्दियालाई कर्णालीमा गाभ्ने विषयको प्रसंग उठाएका थिए ।

पुस १६ गते चलेको लुुम्बिनी प्रदेश सभाको पाँचौँ अधिवेशनको पहिलो बैठकमा दाङका सांसद इन्द्रजित चौधरी, बर्दियाका सांसद राजकुमार चौधरी र पुस १७ गते दोस्रो बैठकमा सांसदसमेत रहेका बाँकेका पूर्वमन्त्री भण्डारीलाल अहिरले यस विषयलाई प्रदेश सभामा प्रवेश गराएका हुन् । बाँके र बर्दियाबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरूले नै बाँके र बर्दियालाई लुम्बिनीबाट टुक्र्याएर कर्णाली प्रदेशमा लैजाने विषय छलफल नै चलाएको भन्दै उनीहरूले विरोध जनाएका हुन् ।

लुम्बिनी प्रदेशलाई विभाजित गरेर बाँके र बर्दियालाई कर्णालीमा गाभ्ने षडयन्त्र भइरहेको उनीहरूको आरोप छ । पाँचौँ अधिवेशनको पहिलो बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसदसमेत रहेका चौधरीले बाँके र बर्दियाबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरूले प्रतिनिधि सभा बैठकमा लुम्बिनीको औचित्यमाथि प्रश्न उठ्ने कुरा गरिरहेको बताए । उनका अनुसार बाँके र बर्दियालाई कर्णालीमा गाभ्ने विषय जिल्लास्तरमा समेत छलफल चलिरहेको छ ।

बाँके र बर्दियालाई कर्णालीमा गाभ्ने विषय लुुम्बिनीमाथिको हमला भएको सांसद चौधरीले बताए । लुम्बिनी प्रदेशमाथि प्रश्नचिन्ह खडा गर्ने र औचित्य नै समाप्त गर्ने कुराको कडा प्रतिवाद गर्नुपर्नेमा उनको जोड थियो ।

यस्तै, नागरिक उन्मुक्ति पार्टीका सांसद राजकुमार चौधरीले पनि बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने विषयलाई जनभावनाविपरीत कार्यको संज्ञा दिए । उनले गम्भीर खालको विषयका कारण गाउँघरमा उकुसमुकुसको अवस्था रहेको उनको भनाइ थियो ।

यस्तै, जनता समाजवादी पार्टीका सांसद भण्डारीलाल अहिरले बाँके बर्दियालाई कर्णाली प्रदेशमा गाभ्ने षडयन्त्र भइरहेको बताए । ‘यो विषय हामीले सुनिरहेका छौँ । त्यो को हो ? किन र कसरी गरिराखेका छन् यस्तो कार्य ? यो विषय सम्मानित सदनमा राख्न चाहन्छु । सबैजना मिलेर कडा प्रतिरोध गर्नुपर्छ,’ अहिरले भनेका थिए ।

लुम्बिनी प्रदेशमा ६ वटा तराई, पाँच वटा पहाडी र एउटा हिमाली गरेर १२ वटा जिल्लाहरू रहेका छन् । बाँके र बर्दियालाई कर्णालीमा जोड्दा कर्णाली प्रदेशको सिमाना भारतसँग जोडिने र व्यापारिक केन्द्रका रूपमा विकास हुने कतिपय सांसदलाई लागेको छ । नागरिक भने जातीय भेषभूषा र भौगोलिक अवस्थाका कारण बाँके र बर्दियालाई लुम्बिनी प्रदेशमै रहनु दिनु उचित हुने बताउँछन् । संविधान नै संशोधन गरेर दुुई जिल्लालाई लुम्बिनीबाट कर्णालीमा सार्ने विषय सहज भने छैन ।

‘लुम्बिनीमाथिको हमला हो, प्रतिवाद गरौँ’

इन्द्रजीत चौधरी
सांसद, लुम्बिनी प्रदेश

प्रतिनिधि सभा सदस्यहरूले प्रतिनिधि सभामा लुम्बिनीको औचित्यमाथि प्रश्न उठ्ने कुरा गरिरहनुभएको छ । यो लुम्बिनी प्रदेशमाथिको हमला हो । प्र्रदेशको औचित्य नै समाप्त गर्ने कुरा उठिरहेको छ । प्रदेश सरकारले कडारूपमा प्रतिवाद गर्नुपर्छ ।

यस्ता कुरा संविधानको बर्खिलापमा छन् । प्रदेशहरूलाई टुक्राटुक्रा पार्ने हिसाबमा छलफल र बहस चल्नु हाम्रो प्रदेशका लागि विडम्बना हो । यो अधिवेशनमा त्यस्ता बहसहरूको प्रतिवाद गरेर जानुपर्छ ।

‘जनताको भावनाविपरीत कार्य हो’

राजकुमार चौधरी
सांसद, लुम्बिनी प्रदेश

बाँके र बर्दियामा नयाँ किसिमको हल्ला फैलिएको छ । हाम्रो लुम्बिनी प्रदेशका बाँके बर्दियालाई कर्णालीमा गाभ्ने भनेर प्रतिनिधि सभामा आवाज उठाएको पाइएको छ । गाउँघरमा एकप्रकारको उकुसमुकुसको वातावरण बनिरहेको छ ।

यो विषय लुम्बिनी प्रदेशका जनताको जनभावनाविपरीत कार्य हो । यसकाविरुद्ध प्रदेश सरकार र सम्पूर्ण सदस्यहरूले आवाज उठाउनुुपर्छ । किनकि हामी १२ जिल्लामा मिलेर बसेका छौँ । दाङमा राजधानी ल्याउन बाँके बर्दियाको पनि भूमिका छ । यत्रा संरचना बनेको छ । यो विषयलाई गम्भीर रूपमा लिइनुपर्छ ।

‘बाँके र बर्दियामाथि षडयन्त्र भइरहेको छ’

भण्डारीलाल अहिर
सांसद, लुम्बिनी प्रदेश

बाँके बर्दियालाई कर्णाली प्रदेशमा मिसाउने षडयन्त्र भइरहेको छ । यो विषय हामीले सुनिरहेका छौँ । को हो ? कसरी गरिराखेका छन् ? यो विषय सम्मानित सदनमा राख्न चाहन्छु । सबै जना मिलेर कडा प्रतिरोध गर्नुपर्छ ।

यत्रो संरचना बनेको छ । यो कहाँ जाने हो के गर्ने हो ? यसरी टुक्र्याउने खेल राम्रो होइन । जनताले पनि उकुसमुकुस गरिरहेका छन् । प्रदेश सरकारको यसमा ध्यानाकर्षण होस् । जनस्तरबाटै यस्ता कार्यको प्रतिरोध गर्नुपर्छ ।

राणादेखि ढकालसम्म छन् गाभ्ने पक्षमा

नेपालगन्जका तत्कालीन नगर प्रमुख डा. धवलशमशेर राणाले जोडतोडका साथ उठाइरहेको मुद्दा हो, ‘बाँके र बर्दियालाई कर्णालीमा गाभ्ने’ । बाँके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यसमेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राणाले नै पहिलोपटक बाँके र बर्दियालाई कर्णालीमा गाभ्ने बहसको सुरुवात गरेका थिए । त्यसका लागि उनले लामो समय बहससमेत सिर्जना गरे । प्रतिनिधि सभामा समेत उनले यो विषय उठाएका थिए । उनले अहिले पनि आफू सोही विषयमा अडिग रहेको बताए ।

बाँके र बर्दियालाई कर्णालीमा गाभ्ने पक्षमा रहेका अर्का सांसद हुन्, बर्दियाका प्रतिनिधि सभा सदस्य सञ्जय गौतम । ८ साउन २०८१ प्रतिनिधि सभामा बोल्दै सांसद गौतमले संविधान संशोधन गर्दा बाँके र बर्दियालाई कर्णालीमा मिसाउनुपर्ने बताएका थिए ।

नेपाली कांग्रेसका नेतासमेत रहेका सांसद गौतमले त्यतिबेला भनेका थिए, ‘संविधान संशोधनको कुरा आइरहेको छ । बाँके र बर्दिया कर्णाली प्रदेशको अंग बन्नुपर्ने थियो । अहिले लुम्बिनी प्रदेशमा छौँ । सामाजिक, सांस्कृतिक आर्थिक र भूगोलको हिसाबले बाँके र बर्दिया कर्णालीको अंग बन्यो भने सो क्षेत्रको समृद्धिका लागि आयाम निर्माण हुन्छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता एवम् जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाहीले समेत निर्वाचित भएपछि कोहलपुरमा आयोजित एक कार्यक्रममा बाँके र बर्दियालाई कर्णालीमा गाभ्न आफ्नो प्रयास रहने बताएका थिए । बाँके र बर्दियालाई कर्णालीमा गाभे तराई, पहाड र हिमालको संगम प्रदेश हुने उनको भनाइ थियो ।

बाँके र बर्दिया कर्णालीमा जोडिए सुर्खेतलाई केही व्यावसायिकरूपमा घाटा लाग्ने र राजनीतिक हिसाबले यहाँका नेताको पहुँच हुने हुँदा बाँके र बर्दियालाई कर्णालीमा गाभ्न केही राजनीतिक नेतृत्व नै पछाडि हटेको बताएका थिए ।

नेकपा एमालेका सांसद सूर्य ढकाल, नेपाली कांग्रेसका सांसद सञ्जय गौतम र राप्रपाका सांसद धवलशमशेर राणाले विगतदेखि नै बाँके र बर्दिया जिल्लालाई कर्णालीमा गाभ्नुपर्ने विषयमा सार्वजनिक रूपमा बोल्दै आएका छन् ।

तर लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्यहरूले बाँके र बर्दियालाई कर्णालीमा गाभ्ने विषयको सशक्त विरोध जनाएका छन् । बाँके र बर्दियाकै निर्वाचित सांसद गाभ्ने विषयमा उभिरहँदा सोही जिल्लाका प्रदेश सभा सांसद भने यसको विपक्षमा देखिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस २४ गते बुधबार