कोहलपुर (बाँके) ।
बाँकेका केही स्थानीय तहमा हिउँदे अधिवेशन सकिएको छ भने केही पालिकाहरू पुसभित्रै अधिवेशन सक्नेगरी तयारीमा जुटेका छन् । जिल्लामा रहेका आठ स्थानीय तहमध्ये केहीमा आइतबारसम्म हिउँदे अधिवेशन सुरु भएका छन् । तीमध्ये जिल्लाको एकमात्र नेपालगन्ज उपमहागरपालिकाले नगर सभाको १६औँ अधिवेशन सम्पन्न गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत ओमबहादुुर खड्काका अनुसार अधिवेशनले तीन महत्वपूर्ण समिति गठन गरेको छ । यस्तै अधिवेशनमार्फत कार्यालय र वडा कार्यालयबाट पेस भएका प्रस्तावहरू स्वीकृत गरिएको प्रमुुख प्रशासकीय अधिकृत खड्काले मिसन टुडेलाई जानकारी दिए । उनका अनुसार अधिवेशनले केही समितिहरूमा सदस्यहरूसमेत मनोनीत गरेको छ ।
आइतबार खजुरा गाउँपालिकाको अधिवेशन सुरु भएको छ । कोहलपुुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीका अनुुसार नगरपालिकाले पुस २६ गते नगर अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । यही पुुस ३ गते बसेको नगरकार्यपालिका बैठकले नगर सभा आह्वान गर्ने निर्णय गरेको गिरीले जानकारी दिए । ‘नगर सभामा विविध विषयमा छलफल हुुन्छ । चालू आवको बजेट संशोधनदेखि, ऐन निर्माण गर्ने कार्य हुन्छ । यस्तै, महत्वपूर्ण विषयमा सिफारिस र निर्णय गरिन्छ,’ प्रमुख प्रशासकीय अधिकृत गिरीले भने ।
यस्तै बैजनाथ गाउँपालिकाले पनि पुस महिनाभित्रै गाउँ सभा सक्नेगरी तयारी गरेको छ । बैजनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले पुस २९ गते गाउँपालिकाको गाउँ सभा बस्ने निर्णय गरिएको बताए ।
१९ गते बसेको गाउँकार्यपालिका बैठकले उक्त निर्णय गरेको थियो । न्यौपाने भन्छन्, ‘गाउँ सभा आयोजना गर्ने निर्णय भएको छ । त्यसका लागि एजेन्डा छनोट भइसकेको छैन । केही दिनमा उक्त कार्य हुन्छ । तोकिएको समयमा गाउँ सभा हुन्छ ।’
जिल्लाको राप्ती सोनारी गाउँपालिकाले भने एक साताभित्रै गाउँ सभा सम्पन्न गर्नेगरी आन्तरिक गृहकार्य गरिरहेको छ । राप्ती सोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत दानबहादुर ऐडीका अनुसार केही दिनमै बस्ने गाउँ कार्यपालिकाल बैठकले गाउँसभाको मिति तोक्नेछ ।
मिति तोकिसकेपछि एजेन्डामाथि छलफल गर्ने, गाउँ सभा सदस्यहरूलाई पत्राचार गर्ने र अन्य तयारीका कामहरू गर्नेगरी काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत ऐडीले बताए । बजेट संशोधन र अन्य महत्वपूर्ण निर्णयहरू गाउँ सभाबाट हुने उनको भनाइ छ । यस्तै योजना छनोट र ऐन, नियम पास र संंशोधन गर्ने कार्यतालिका रहनेछन् ।
नरैनापुर गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राका अनुुसार गाउँ कार्यपालिका बैठक केही दिनमा बस्दै छ । सोही बैठकले गाउँसभाको मिति टुंगो लगाउनेछ । डुडुवा र जानकी गाउँपालिकाले समेत गाउँ सभाको तयारी गरिरहेका छन् । दुवै पालिकाले केही दिनभित्रै हिउँदे अधिवेशनको मिति तोक्ने तयारी गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्