अविश्वासदेखि आत्मविश्वाससम्मको यात्रा



आज यस्तै–यस्तै कारणले वर्तमान मानिसहरूका बीचमा अविश्वासका खाडलहरू बढिरहेका छन् । कसैको कसैमाथि विश्वास छैन । सँगै जीवन बिताउने कसम खाएका अधाङ्ग–अर्धाङ्गिनीको बीचमा पनि विश्वास छैन । व्यापारी र ग्राहकको बीचमा विश्वास छैन । हाकिम र कारिन्दाको बीचमा विश्वास छैन । नेता र कार्यकर्ताको बीचमा विश्वास छैन । अभिभावक र सन्तानहरूको बीचमा विश्वास छैन । गुरु र चेलाहरूको बीचमा विश्वास छैन । डाक्टर र बिरामीको बीचमा विश्वास छैन । लेखक र पाठकको बीचमा विश्वास छैन । मालक र मजदूरहरूको बीचमा विश्वास छैन । वक्ता र स्रोताको बीचमा विश्वास छैन । विश्वास नगर्नका लागि सबुतप्रमाणहरू यत्रतत्र छरपष्ट छन् ।


जीतबहादुर शाह

नयनराज पाण्डेको घामकिरी पढेपछि थाहा पाएँ– राजा भर्तृहरीको राज्यमा अतिसय सुख हुँदाहँुदै पनि उनको राज्यको दुर्गम गाउँमा बस्ने एकजना युवा ब्राह्मणलाई अचानक असमयमै बुढो हुने रोग लागेपछि उनकी पत्नीले उनलाई त्यागेर अर्केसँग गएको पीडा सहन गर्न नसकेर उक्त ब्राह्मण जंगलमा गएर आत्महत्या गर्नका लागि बेलको रूखमा झुण्डिनै लाग्दा अचानक वनदेवता प्रकट भएर ब्राह्मणलाई आत्महत्या गर्न रोकेछन् । वनदेवताले उक्त ब्राह्मणलाई यौवन फर्काएर सदावहार जवान भइरहनका लागि अमृतफल दिएर अन्तध्र्यान भएछन् ।

उक्त ब्राह्मणले त्यो फल आफूले खानु भन्दा राजाले खाएर सधैँ जवान भइरहे भने राज्य राम्रो होला भन्ने सोची राजा भर्तृहरीलाई दिएछन् । भर्तृहरीले उक्त फल आफूले नखाइ सधैैँ जवान भैरहून भनेर आफ्नो रानी पिङ्गलालाई दिएछन् । पिङ्गलाले उक्त फल आफूले नखाई आफूलाई गुप्त रूपमा यौन सुख प्रदान गर्ने दरबारको सयसलाई प्रदान गरिछन् । सयसले पनि उक्त फल आफूले सेवन नगरी समय–समयमा आफूले सहवास गरेर आनन्द लिने शहरकी नामूद वेश्या र समञ्जरीलाई दिएछन् ।

आफूजस्तो वेश्याले उक्त फल खान उपयुक्त नठानी उक्त फल र समञ्जरीले राजा भर्तृहरीले खान उपयुक्त हुन्छ भनेर दरबारमा आएर राजालाई नै छोडेर गइछन् । आफूले अतिसय स्नेह गरी रानीलाई दिएको फल सयस र वेश्या हुँदै उक्त फल आफूसँग आएपछि उनलाई दुनियाँप्रति बितृष्णा र एक प्रकारको बैराग्य जाग्यो । आफ्नी धर्मपत्नीले समेत विश्वासघात गरेपछि उनले त्यो अमृतफल वनदेवतालाई नै समर्पित गरेछन् । राज्य भाइलाई सुम्पिएछन् र आफू गुरु गोरक्षनाथसित दिक्षा लिएर सन्यासी भएछन् ।

आज यस्तै–यस्तै कारणले वर्तमान मानिसहरूका बीचमा अविश्वासका खाडलहरू बढिरहेका छन् । कसैको कसैमाथि विश्वास छैन । सँगै जीवन बिताउने कसम खाएका अधाङ्ग–अर्धाङ्गिनीको बीचमा पनि विश्वास छैन । व्यापारी र ग्राहकको बीचमा विश्वास छैन । हाकिम र कारिन्दाको बीचमा विश्वास छैन । नेता र कार्यकर्ताको बीचमा विश्वास छैन । अभिभावक र सन्तानहरूको बीचमा विश्वास छैन । गुरु र चेलाहरूको बीचमा विश्वास छैन । डाक्टर र बिरामीको बीचमा विश्वास छैन । लेखक र पाठकको बीचमा विश्वास छैन ।

मालक र मजदूरहरूको बीचमा विश्वास छैन । वक्ता र स्रोताको बीचमा विश्वास छैन । विश्वास नगर्नका लागि सबुतप्रमाणहरू यत्रतत्र छरपष्ट छन् । गाउँटोल, सहरबजार, स्कूलकलेज, कार्यालय, अस्पताल जता गएपनि यस्ता अविश्वास गर्नुपर्ने कारणहरू र अविश्वासले जन्माएका विसङ्गतिका ठूला डङ्गुरहरू भेटिन्छन् ।

सुनिन्छ, फलानाको पत्नीले त आफ्नो लोग्नेको श्रीसम्पत्ति बोकेर अर्कैसँग गई रे । फलानाको लोग्ने त सहरतिर अर्कैलाई विवाह गरेर राखेको छ रे । फलानाले त आफ्नो पार्टीकै मानिसहरूले धोका दिएका कारण चुनाव हा¥यो रे । फलानो स्कूलमा फलानो शिक्षकले पढाउने क्लासमा त विद्यार्थीहरू बस्दै बस्दैनन् रे । फलानो पसलबाट ल्याएको खाद्यवस्तुमा अखाद्य वस्तु मिसाएको कारण मानिसहरू उक्त वस्तु खाएर बिरामी परे रे । फलानो अफिसमा त हाकिमले एकाध व्यक्तिलाई मात्र काम र माम दिएका कारण अन्य कर्मचारीहरू हाकिमसँग रिसाएर बसिखानु छैन रे । फलानो डाक्टरले अप्रेसनको क्रममा अप्रेसन सामग्री नै पेटभित्र छोडेर घाउ सिलाइदियो रे आदि–आदि ।

यस्तै घटनाक्रमहरू दोहोरिरहने भएका कारण मानिसहरू आफूमा अविश्वासका किटाणुहरू हरक्षेत्रमा हरक्षण पालेर बसेका छन् । विश्वास गर्नुपर्ने ठाउँमा पनि अविश्वास गर्दछन् । सुन र पित्तल छुट्याउन नसकिरहेको स्थिति छ । यसले गर्दा मानवीय सम्बन्ध र आत्मीयता धरापमा परिरहेको छ । अविश्वासकै कारण एकातिर थप जनशक्तिका लागि लगानी बढिरहेको छ भने अर्कोतिर राम्रा र सक्षम जनशक्ति एवम् क्रियाकलापहरूले प्रेरणा र प्रोत्साहन नपाइरहेको स्थिति छ ।

अविश्वास विज्ञानको जननी पनि हो र यसले नविनता पनि निम्त्याउने गर्दछ । तथापी अनावश्यक किसिमबाट गरिने अविश्वासले कलह र विनास पनि निम्त्याउने गर्दछ । मानिसभित्र कसैप्रति एकचिम्टी पनि विश्वास भएन भने उसले जीवनदेखि पलायन हुने बाटो रोज्नु पर्दछ राजा भर्तृहरीले जस्तै । त्यस्ता व्यक्तिहरूले एकपाइला पनि अघि बढाउन सक्दैनन् । अविश्वासकै कुरा गर्ने हो भने गाडी चढ्न र चलाउन बन्द गर्नुपर्छ, किनभने गाडी दुर्घटना हुनसक्छ ।

जहाजमा उड्न बन्द गर्नुपर्छ किनभने जहाज खसेर मानिस मरेका हजारौं हजार उदाहरणहरू छन् । भोजभतेरमा निकोमीठो खान गएर निम्तालुहरू भोजभतेरको नाममा विषसेवन गरेर मृत्युवरण गरेका घटनाहरू पनि छन् । भन्नुको मतलब, यसरी आशंका र अविश्वासका पोकापन्तुराहरू यसरी खोतल्दै जाने हो भने अन्ततः सबै काम बन्द गर्नुपर्दछ किनभने असुरक्षा र क्षतिका पाटाहरू नभएको संसारमा कुनै काम नै छैन । केही नगरेर सुतौं भनेपनि सुत्नु आफैँमा मृत्युको परिचायक हो । कतिपय मानिसहरू सुतेपछि कहिल्यै नब्युझिएका उदाहरणहरू पनि छन् ।

हाम्रो परिवेशमा धेरै सवालहरूमा हामी असफल हुनुमा हामी बीचको अविश्वास पनि हो । जनताहरू दलप्रति विश्वस्त छैनन् । त्यसैले पनि कहिले कुन दल ठूलो हुन्छ त कहिले कुन दल । दलभित्र पनि विश्वास छैन । भाइ फुटे गँवार लुटे भनेझै यसले दलहरू नाङ्गिएका छन् र दलका विरोधीहरू झाङ्गिएका छन् । अविश्वास यत्ति धेरै बढ्यो कि त्यो भित्र राम्रो र विश्वास गर्नलायक नेता पनि चपेटामा परेको छ, किनभने अविश्वासको बाढी थामी नसक्नु छ । हुँदा हुदा मतदाताहरू राम्रा र नराम्रा छानबिनतिर नलागेर सबै उही ड्याङका मुला हुन भन्दै जसले मुख रसिलो र गोजी भरिलो बनाउँछ । उसैलाई मत दिने भनेर गलत निर्णय गर्न पुग्छन् ।

अविश्वासकै कारणले गर्दा विभिन्न निकायका काम कारबाहीहरूको समेत गुणस्तर अन्यौलमा अल्झिएको छ र चुनौतिहरू बल्झिएका छन् । कतिपय राम्रा शिक्षकहरूले समेत विद्यार्थीहरूबाट पाउनु पर्ने मानसम्मान र प्रतिष्ठा पाइरहेका छैनन् । उनीहरू पनि अगतिला शिक्षककै घानमा पेलिएका छन् । यसले शिक्षाको गुणस्तर खस्किन पुगेको छ ।

मलाई त लाग्छ शैक्षिक गुणस्तरको सबैभन्दा ठूलो कसीमध्ये शिक्षक र विद्यार्थी बीचको आपसी विश्वास पनि एक हो । घरघरमा हुने कलह र झैझगडाको जड खोज्दै जाने हो भने प्रमुख कारणको रूपमा अविश्वास नै पर्ने कुरामा द्विविधा देखिदैन । त्यसैले सबैतिर शान्ति, उन्नति र सुखसयल खोज्ने हो भने विश्वासको वातावरण तयार गर्नुपर्दछ । विश्वासको उर्बर धरातलमा मात्रै शान्ति, उन्नति र सुखसयलका सुन्दर फूलहरू ढक्कमक्क फूल्न सक्छन् ।

कुरा गर्ने क्रममा एकदिन सिनियर प्रशिक्षक नरबहादुर कार्की भन्दै हुनुहुन्थ्यो– ‘स्थायित्व र विकासका लागि विश्वासमात्र होइन अन्धविश्वास पनि आवश्यक पर्दछ ।’ उहाँले यहाँ भनेको अन्धविश्वास भनेको अतिविश्वास हो । कुनै व्यक्तिका विगतका गतिविधिहरूमा विश्वास भएपछि भविष्यका गतिविधिहरू पनि त्यस्तै राम्रा होलान् भनेर आँखा चिम्लेर विश्वास गरिहाल्नु भनेको अन्धविश्वास हो ।

जुन हाम्रो परिवेशमा आवश्यक पनि छ । कुनै मान्छे शशरीर नमर्दासम्म उसले केही गल्ती गरिहाल्छ कि भनेर हालसम्म गरेका राम्रा कामहरूप्रति पनि विश्वास र श्रद्धा व्यक्त गर्न नसक्ने हाम्रो संस्कार वास्तवमा अन्यायपूर्ण देखिन्छ । बाँचुञ्जेलसम्म गाली, छेडछाड र आलोचना गर्ने र मृत्युपश्चात भने सम्मान र पुरस्कारको राशीले फोटो र मूर्ति सिंगार्ने काम त्यति राम्रो होइन र यी सबै गतिविधिहरूभित्रको गुह्य कुरा भनेकै अविश्वास हो । बाँचुञ्जेल खुट्टा तान्ने र मरेपछि खुट्टा ढोग्ने प्रवृत्तिभन्दा राम्रो काम गर्नेहरूका निम्ति अन्धभक्त र अन्धविश्वासी भएर अघि बढ्दा पनि धेरै उपयोगी हुने देखिन्छ ।

अहिलेको आवश्यकता भनेको तथा कथित धर्म, साम्प्रदायिक सोच र रुढिवादीतर्फ लिप्त भएको अन्धविश्वासलाई समता, न्याय, शान्ति, स्वतन्त्रता, लोकतन्त्र र मानवसेवातर्फ मोड्नु हो । साँच्ची मानिसहरू समता, न्याय, शान्ति, लोकतन्त्र र मानवसेवातर्फ अन्धभक्त भएर लागे भने समाज सभ्य, सुसंस्कृत र बाँच्नलायक बनाउन धेरै समय कुर्नु पर्दैनथ्यो होला । जातिपाति, छुवाछुत, बोक्सी प्रथा आदिलाई सरकारी निकायबाट जति प्रयत्न गर्दा पनि हटाउन नसक्नु मानिसहरूको यस्ता प्रथाप्रतिको अन्धविश्वास र अन्धभक्ति नै हो ।

यसरी नराम्रा कामप्रति भएको अन्धविश्वासलाई राम्रा कामतिर रूपान्तरण गर्नु अहिलेको जल्दोबल्दो आवश्यकता हो जस्तो लाग्छ । साँच्ची सन्ततिहरूलाई इमान्दार, चरित्रवान, मानवताप्रेमी, शान्तिप्रेमी र सेवा भावले प्रेरित बनाउनका लागे यत्रतत्र कतैपनि नसोची आफूलाई समेत बिर्सिएर अभिभावकहरू जुटे भने र त्यही अनुसार शिक्षकहरू पनि आफ्नो कर्मप्रति समर्पित भएर आफ्नो कर्म गरे भने के हाम्रा आजका सन्तति र भोलिका सम्पत्तिहरू गतिला नहुने कुरा पनि कतै हुन्छ र !

घटना वि.सं. २०५६ सालको हो । मध्यावधिको चुनाव सकेर जाजरकोटको सदरमुकाम फर्कने क्रममा बाटोमा कुकाठको भरेङ (सिढी) थियो त्यो पनि कमजोर किसिमको । त्यो भन्दा तल नरसिंह गाड जोडतोडका साथ बगिरहेको थियो । मैले तल डरलाग्दो तरिकाले बगिरहेको गाड हेर्दै सिढीमा खुट्टा राखेर अघि बढ्न खोज्दा खुट्टा थरथर काप्न थाले । तथापि जसरी पनि सिढीको बाटो हिड्नु थियो । त्यो बाटो नहिड्नुको अर्थ एकदिनको बाटो पुनः ब्याक भएर अर्को बाटो समात्नुु पथ्र्यो । डरले थरथर कापिरहेका मेरा खुट्टा देखेर मेरो सहयोगी साथीले त्यसरी काँपेर सिढी पार गर्न सकिदैँन । अलि हिक्मत र साहसका साथ अघि बढ्नु प¥यो भने । पछि उनले भने झै साहस बटुलेर अघि बढे ।

खुट्टा काप्न छोड्यो र एकप्रकारको आत्मविश्वासले काम ग¥यो । सिढी पार गर्न सकियो । जीवनका उकाली र घुम्तीहरूमा भेटिने नरसिंह गाड र कुकाठले बनेका कमजोर सिढीहरू पार गरेर अघि बढ्नका लागि विश्वास र आत्मविश्वासले अमृतफलको काम गरेको अनुभूति भयो । सारमा भन्नुपर्दा अविश्वास निश्चित सीमासम्म उपयोगी हुन्छ । विशेषगरी बाह्मासे बदमासहरूको हकमा अविश्वास गर्नु पनि पर्ने हुन्छ ।

पटकपटक राम्रो भनि प्रमाणित भइसकेको कुराप्रति भने पटकपटक अविश्वास प्रकट गर्नु भने राम्रो हुँदैन । नम्बरी सुनलाई कसी लाउनु पर्दैन भने झैँ कतिपय राम्रा कुरामा त अन्धविश्वासका साथ अघि बढ्नु पनि राम्रो हुन्छ र आवश्यक पनि । सबैभन्दा ठूलो कुरा विश्वास हो । यो संसार विश्वासमै अल्झिएको छ । सिकाइ अविश्वासबाट सुरु हुने भए तापनि कामको गुणस्तर विश्वास र आत्मविश्वासमा निर्भर गर्दछ । त्यसैले परिवेश अनुसार अविश्वास, विश्वास, अन्धविश्वास र आत्मविश्वास मान्छेका लागि आवश्यक त पर्छन् नै ।

कुनलाई कतिबेला प्रयोग गर्ने भन्ने बारेमा गम्भीर हुनु भने आवश्यक छ । कुनैमा विश्वास नगर्नु पर्नेमा अतिविश्वास वा अन्धविश्वास गर्नसम्म पुगियो भने कतै विश्वास गर्नुपर्ने ठाउँमा नाँनाभाति निउँ खोजेर अविश्वासमात्रै गरियो । त्यसैले म त भन्छु, अहिलेको हाम्रो परिवेशमा जेमा पनि अविश्वास र नकारात्मकता अलि धेरै भयो । राम्रो कामप्रति अविश्वास भन्दा पनि विश्वास र अन्धविश्वास आवश्यक छ जस्तो लाग्छ । यसले राम्रो कामका लागि व्यक्तिमा आत्मविश्वासको विकास गर्दछ । आत्मविश्वास सफलताको जननी हो ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस १८ गते बिहीबार