सेवाग्राहीलाई पालिका ल्याउन लैजान निःशुल्क अटो सेवा दिँदै ठाकुरबाबा नगरपालिका



बर्दियाको ठाकुरबााबा नगरपालिकाले आफ्ना नगरबासीलाई सुविधा दिन निःशुल्क अटोरिक्साको व्यवस्था गरेको छ । त्यसका लागि नगरपालिकाले एउटा अटोरिक्सा र त्यसका चालकको समेत व्यवस्था गरेको छ । सो अटोले कार्यालय सञ्चालनमा आएका दिन हरेक दिन बिहान ९ः४० बजेदेखि भुरिगाउँ बजारको मेनचोकसँगै रहेको प्रहरी बिट नजिकबाट नगरपालिकासम्म सेवा सुचारु गर्नेछ ।

बर्दिया ।

बर्दियाको ठाकुरबाबा नगरपालिकाले निःशुल्क अटोरिक्सा सेवा सुरु गरेको छ । नगरबासीहरूलाई सहुलियत दिने उद्देश्यले नगरपालिकाले निःशुल्क अटो रिक्सा सेवा सञ्चालन गरेको हो । नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम निःशुल्क सेवा प्रवाह गर्ने नीति लिएको थियो ।

नगरपालिकामा सेवा लिन आउने र सेवा लिएर फर्कने नागरिकहरूलाई भुरिगाउँ बजारसम्म निःशुल्क सेवा दिनेगरी सेवा सञ्चालन गरिएको नगर प्रमुख तिलकराम लम्सालले बताए । उनका अनुसार भुरिगाउँ बजारदेखि ठाकुरबाबा नगरपालिकाको कार्यालयसम्म निःशुल्क विद्युतीय अटो सेवा सुचारु गरिएको हो । उक्त अटोले हरेक दिन बिहान ९ः४० बजेदेखि भुरिगाउँ बजारको मेनचोकसँगै रहेको प्रहरी बिट नजिकबाट सेवा सुचारु गर्नेछ ।

‘त्यहाँबाट पहिलोपटक सेवाग्राहीलाई लिएर नगरपालिका कार्यालय जानेछ । हरेक ३० मिनेटको फरकमा सेवाग्राहीलाई निरन्तर सेवा प्रवाह गर्नेछ,’ नगर प्रमुख खनालले भने । अहिले पनि नागरिकले नगरपालिकाबाट सेवा लिएर फर्किने बेला अटो रिक्सा कुर्नुपर्ने अवस्था छ । स्थानीय सरकारलाई नागरिक मैत्री बनाउने अभियान अनुसार सेवा सुरु भएको उनले बताए । नगरपालिकाले आफ्नै अटो रिक्सा सञ्चालनमा आएपछि अबदेखि कुनै पनि नागरिकले पैदल हिँड्नु नपर्ने नगर प्रमुख लम्सालको भनाइ छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद ढकालले नगरबासीलाई लक्षित गरेर सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गरेर सेवा सुरु गरिएको बताए । उनका अनुसार त्यसका लागि नगरपालिकाले विद्युतीय अटो रिक्सा खरिद गरेको छ । नागरिकलाई निःशुल्क सेवा दिने उद्देश्यले सञ्चालन गरिएको अटो नगरपालिकाले २ लाख ६५ हजार मूल्यमा खरिद गरेको हो ।

‘यहीँ पुस ८ गतेदेखि सेवा सुरु भइसकेको छ । त्यसको रुट भुरीगाउँदेखि नगरपालिकासम्म मात्रै छ । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा अन्यलाई प्राथमिकता दिइएको छ । समग्रमा नगरबासीले यसबाट लाभ लिनेछन्,’ प्रमुख प्रशासकीय अधिकृत ढकालले मिसन टुडेलाई भने । निःशुल्क अटो रिक्सा सेवा सञ्चालन गरेसँगै नगरपालिकाले एक जनालाई प्रत्यक्ष रोजगारीसमेत प्रदान गरेको छ । रिक्सा चलाउनका लागि एक जना चालकलाई ज्यालादारीमा नियुक्त गरिएको छ । उनलाई बिदाको दिनबाहेक अन्य दिन ड्युटी गरेको आधारमा पारिश्रमिक नगरपालिकाले उपलब्ध गराउने ढकालको भनाइ छ ।

नगरपालिकाले अटो रिक्साको चालक नियुक्त गरेका निपेश थारूले नगरबासीको सेवा गर्न पाउँदा आफूलाई खुसी लागेको बताए । उनका अनुसार नगरपालिकाले नागरिकको सेवाका लागि अवसर दिएको छ । नगरपालिकाले दिएको अवसरलाई राम्रोसँग निभाउने उनले बताए । उनी स्वयम् जीविकोपार्जनका लागि तीन वर्षदेखि अटो रिक्सा चलाउँदै आएका थिए । उनको घरमा पाँच जनाको परिवार छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस १५ गते सोमबार