कोहलपुर (बाँके) ।
नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति बाँकेले जिल्लाका आठवटै स्थानीय तहमा अधिवेशन गर्दै छ । जिल्लाका एक उपमहानगर, एक नगरसहित ६ वटा गाउँपालिकामा एकैपटक पालिकास्तरीय अधिवेशन गर्न लागेको हो । यही पुस १२ र १३ गते एकैसाथ आयोजना हुने अधिवेशनको व्यापक तयारी भइरहेको छ ।
नयाँ नेतृत्व चयनका लागि आयोजना हुन लागेको पालिकास्तरीय अधिवेशनको प्रचारप्रसार र तयारी तीव्र रूपमा भइरहेको बाँके जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्सले बताए । उनका अनुसार १२ गते उद्घाटन सत्र र १३ गते बन्द सत्र सञ्चालन गरिनेछ । पालिकास्तरीय अधिवेशनबाट पार्टीले नयाँ नेतृत्व पाउनेछ ।
पालिकास्तरीय अधिवेशनको उद्घाटन सत्रमा पार्टीका केन्द्रीयस्तरका नेताहरूको सहभागिता रहने पाण्डेले मिसन टुडेलाई बताए । नेपालगन्ज र कोहलपुरको नगर अधिवेशनमा भाग लिन पार्टी महासचिव देवबहादुर गुरुङ आउने भएका छन् । दुवै पालिकामा लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालसमेत उपस्थित हुने कार्यक्रम रहेको छ ।
यस्तै बैजनाथको वनकटुवामा पूर्व उपसभामुख पूर्णा सुवेदीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । खजुराको खजुरा बजार, डुडुवा गाउँपालिकाको कम्दी, नरैनापुरको गाउँपालिकाको सभाहल, राप्ती सोनारीको बिनौना र जानकी गाउँपालिकाको वडा नम्बर २ मा अधिवेशन हुनेछ । पालिका अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिनेछ ।
जिल्लाको नयाँ नेतृत्व भने आगामी चैत वा वैशाखामा चयन हुने उनले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्