पैसा तिरेपछि सुविधा थपिने तारे होटलहरू भन्दा आत्मीयताको हिसाबले कुशेको गण्डकी होटल र त्यो होटलकी साहुनीको मनले मोहनी लगायो । नढाँटी भन्दा यस्तो लाग्दै छ, कुशेको त्यही ठाउँमा भविष्यमा कसैले सस्तो र सुविधासम्पन्न तारे होटल खोलिहाले पनि पूर्वाधारको हिसाबले फुच्चे देखिने विशाल हृदयकी साहुनीको त्यही गण्डकी होटल नै मेरो रोजाइमा पर्ने कुरामा कुनै सन्देह छैन ।
जीतबहादुर शाह
जुम्लाको एउटा जनसभामा सन्तनेता भनेर चिनिने तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मौसम र महिलाको भर हुँदैन भनेपछि सन्तनेता विवादमा परेको सुनाउँथे जुम्लाका साथीहरूले । भन्नुमा कारण त होला तर महिलाका बारेमा सन्तनेताको भनाइप्रति मेरो पनि विश्वास छैन । मौसमको बारेमा भने कहिलेकाहीँ उनको भनाइ साँच्चि हो कि जस्तो पनि लाग्छ । यसपटक त झन् त्यस्तै भयो । चिसो मौसम, छोटा दिन । बेलुका साढे ७ बजे पुगियो, कुशेको, भार्ममा । कुशे गाउँपालिकाको सदरमुकाम भएर पनि कामविशेषले गएका पाहुना र सेवाग्राहीहरूलाई खाना बस्नका लागि खासै होटलहरू छैनन्, बाहेक गण्डकी होटल ।
पूर्वाधार र सुविधाको हिसाबले यो होटल सामान्य छ । त्यही होटलमा खाना खाएर निदाउने बेलासम्म आकाशमा टिल्पिलाइरहेका थिए ताराहरू । कुशेलगायतका हिमालहरू खै के कारणले हो कालानीला देखिन्थे रिसाएजस्तै गरी । बिहान उठ्दा भने परिवेश बदलिएको थियो । चिसो बढेको थियो । हिजो राति देखिएका ती कालानीला हिमालहरू हिउँपर्ने किसिमको हुस्सुले थिचिएका थिए । हामी दिउँसो पालिकाको हलमा छलफलमा तात्तिँदै गर्दा बाहिर मौसम त चिसिएर झरी सुरु भइसकेछ ।
कार्यक्रम सकिएपछि बसिरहेकै त्यही गण्डकी होटलमा आएर सिरकभित्र कुक्रुक्क परी आफ्नै श्वासप्रश्वास प्रक्रियातिर एकाग्र हँुदै थन्किरहेको थिए कोठाको एउटा कुनामा । केही बेरपछि होटलकी साहुनी मकलमा अलिअलि बलिरहेको र पुत्ताइरहेको आगो ल्याएर कोठामा प्रवेश गरिन् । ‘सर, आज चिसो छ, यसले चिसो भगाउन सहयोग गर्ला’ भन्दै होटलकी साहुनी कोठाबाट बाहिरिइन् ।
निस्किएर मकलको आगोतिर लागेँ । पुत्ताइरहेको आगो बल्न थाल्यो र तातोपना कोठाभरि फैलिन थाल्यो । एकैछिनमा मलाई खोज्दै कृष्ण गिरी (स्रोत व्यक्ति, कुशे) आउनुभयो । दुबै मिलेर मकलमा बलिरहेको आगोमा झुम्मिएर बस्यौँ । आगो ताप्दै गर्दा मनमा के–के भावनाहरूको उहापोह बढ्न थाल्यो । सामाजिक बनावटले समेत आफन्त भनेर घोषणा गरेकाहरू निजत्वतर्फ ढल्किरहेको आजको सामाजिक परिवेशमा पनि साहुनीले त्यो व्यवहार देखाएकोमा धेरै बेर घोत्लिएँ ।
साना–साना कुराहरूमा पनि ख्याल गर्ने मान्छेहरू नजाने यादगार हुँदारहेछन् । यस्ता यादगार सन्दर्भहरूको शिलान्यासका लागि आफन्त नै हुनुपर्ने पनि रहेनछ । कतिपय अवस्था गुज्रिँदै गर्दा आफ्नै भनेका मान्छेहरूलाई पनि खासै चासो हँुदैन, न त सरोकार नै । तथापि आफैँ साहुनी र आफैँ कारिन्दा भएर जतिबेला पनि काममा भ्याइनभ्याइ गरेर खटिरहेकी देखिने यी साहुनीले कसरी भ्याइन् होला मलाई चिसो भएको उनी आफैँले आत्मानुभूति गर्न । के साँच्चै मैले पीडाबोध गरेको चिसोले उनलाई पनि दुख्यो होला त !
होटल सानो भए पनि होटलका मालिक÷मालिक्नीको मन विशाल भएपछि यस्ता सुविधाहरू दिन सक्दोरहेछ होटलले । पैसा तिरेपछि सुविधा थपिने तारे होटलहरू भन्दा आत्मीयताको हिसाबले कुशेको गण्डकी होटल र त्यो होटलकी साहुनीको मनले मोहनी लगायो । नढाँटी भन्दा यस्तो लाग्दै छ, कुशेको त्यही ठाउँमा भविष्यमा कसैले सस्तो र सुविधासम्पन्न तारे होटल खोलिहाले पनि पूर्वाधारको हिसाबले फुच्चे देखिने विशाल हृदयकी साहुनीको त्यही गण्डकी होटल नै मेरो रोजाइमा पर्ने कुरामा कुनै सन्देह छैन ।
भोलिपल्ट बिहानको खाना खाएर गण्डकी होटलबाट बिदा भएर लक्ष्मीप्राप्ति माध्यमिक विद्यालय, खुर्पातिर लाग्ने कुरा भयो । हिँडेर जाँदा बेलुका मात्र पुगिने । विद्यालयमा दिउँसो व्यवस्थापन समितिको बैठक बोलाएकाले बैठकमा उपस्थित हुने गरी जानुपर्ने बाध्यता थियो । यसको सबै जोहो स्रोतव्यक्ति कृष्ण गिरीले गर्नुभयो । मलाई बाइकमा पछाडिपट्टि राखेर लहरेखोलासम्म पु¥याउने जिम्मेवारी भार्मकै प्रहरी चौकीका इञ्चार्ज असई दुर्गा शर्माले लिनुभयो । बाटो ओरालो भन्दा पनि भिरालो भन्न मिल्ने किसिमको थियो । त्यसमा पनि हिजोको झरीले चिप्लो बनाएको थियो । असई दुर्गा सरले विस्तारै चलाउनुभयो बाइक । अप्ठ्यारोमा मलाई झर्न भन्नुहुन्थ्यो । म झर्थें । बाटोभरि भलाकुसारी गर्दै गयौँ । जाजरकोटकै शिवालयको हुनुहँुदो रहेछ । प्रहरीको पालिका तहको इञ्चार्ज भएर पनि बाइक राइडर भएर सहयोग गर्नुभयो । प्रहरी चौकीमा कार्यरत यत्ति सहयोगी प्रहरी इञ्चार्जहरू सम्भवतः मैले मेरो जीवनमा पहिलोपटक देख्दै थिएँ ।
लहरेखोलामा पुगेपछि मलाई आफ्नो विद्यालयसम्म जाने काममा सहयोग गर्नका लागि विद्यालयबाट प्र.अ. दिनेश सरले त्यहीका प्राविधिक धारका शिक्षक राकेश शाहलाई पठाउनुभएको रहेछ । असई दुर्गा शर्माको मोबाइल नम्बर सेभ गर्दै उहाँसँग बिदा भएर राकेश सरको बाइकको पछाडि चढेँ । बाइक उकालो लाग्यो । उकालो लागेन मात्रै कच्ची र ढुङ्गैढुङ्गा बिछ्याइएको बाटोमा पनि कुद्न थाल्यो । घर बर्दियाको ताराताल भएका राकेशले त्यसरी कुदाउँदा पनि उनी पूरा होसियार भएर कुदाउनुभएको थियो ।
आफू कतै फुत्किन्छु भन्ने आशङ्का मभित्र थियो । ढलान गर्नका लागि ढुङ्गैढुङ्गा बिछ्याइएको बाटोमा पनि उहाँको पल्सर बाइक कतै पनि नरोकिएर एउटै गतिमा लक्ष्मीप्राप्ती माध्यमिक विद्यालय खुर्पामा पुगियो । विद्यालयमा गएर उहाँका सहकर्मीहरूको साथमा उहाँको तारिफ गर्दैगर्दा उल्टै उहाँका सहकर्मीहरूले भन्दै थिए– ‘राकेश हाम्रो विद्यालयको मात्र नभई यो पालिकाकाकै नम्बर वन बाइकराइडर हो ।’
विद्यालयमा पुगेपछि प्रधानाध्यापक दिनेश सिंहले शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको बीचमा परिचयात्मक कार्यक्रम राख्नुभयो । कतिपयले आफ्नै मान्छे धेरै वर्षपछिको अन्तरालमा भेटिएकोझैँ गरी अन्तरमनबाट खुसी व्यक्त गर्नुभयो । यसरी खुसी देखिनेमध्ये विव्यस अध्यक्ष लक्ष्मण सिंह पनि हुनुहुन्थ्यो ।
पछिल्लो पुस्ताकाहरू भने नाम सुने पनि भेट भने पहिलोपटक भयो भन्दै हँसिलो अनुहारमा हुनुहुन्थ्यो । लगत्तै हामी शैक्षिक गुणस्तर परीक्षण केन्द्रले तोकेबमोजिमका विद्यालयका लगानी, प्रक्रिया र उपलब्धिसँग सम्बन्धित तथ्याङ्क र जानकारी टिपोट गर्नतिर लाग्यौँ । हरेक दिन बेलुका अबेरसम्म प्रधानाध्यापक र मेरोबीच कामको यो क्रम निरन्तर चलिरह्यो । काममा जिम्मेवारीपूर्वक प्रस्तुत हुने प्रधानाध्यापक दिनेश सिंह र विव्यस अध्यक्ष लक्ष्मण सिंह म बस्दासम्म पूरै समय मसँग खटेर मलाई सहयोग गर्नुभयो ।
खुर्पामा पछि फेरि कार्यक्रमको प्रवोधिकरण गर्न आउने गरी यसपटक पूरापुर दुई दिन बसियो । बस्ने क्रममा शिक्षकहरूकै आवासलाई प्रयोग गरियो । मैले उहाँहरूका बासस्थानलाई आवास भनेपछि उहाँहरूले कटेरा भन्नुहुन्छ । वास्तवमै कटेरा भन्नलायक नै थिए ती बासस्थानहरू । जाजरकोट भूकम्पपछि बसाइका लागि सुरक्षितस्थल कतै नभएपछि विद्यालयकै काठ र कर्कटपाता प्रयोग गरेर बाँकी जडान आफ्नै लगानीमा बाहिरबाट आएका त्यस विद्यालयका २३ जना स्टाफहरूबाट मिलेर बनाइएको रहेछ । एउटा कटेरामा दुईटा बेड छन् अनि यौटा भान्सा ।
शौचालय सबैको साझा रहेको छ । मलाई पनि साथीहरू मिलेर त्यही कटेरामा बसाउनुभयो । शिक्षक प्रेम हमाल भान्सामा खटिनुभयो भने शिक्षक प्रकाश थापा अन्य काममा । खुर्पाको बसाइ सुन्दर, उपलब्धिमूलक, आरामदायी र प्रेमिल बनाउने सवालमा प्रअलगायत शिक्षकहरू प्रेम हमाल, प्रकाश थापा, नवीन खड्का, राजन देवकोटा, भुवनेश्वर शर्मा, शिव उपाध्याय, राकेश शाह आदिको योगदान उल्लेख्य रह्यो । मैले भनेँ पनि – ‘साम्यवादको नाममा कम्युनिस्ट नेताहरूले व्यक्तिगत सम्पत्ति थुपार्नतिर लागे । साझा कटेराहरूमा संयुक्त बसाइको व्यवस्था गरेर उनीहरूको बिडो तपाईंहरूले थामिदिनुभएको रहेछ ।’
त्यसपछि राकेश सरकै बाइकमा म थर्पु माध्यमिक विद्यालय, ढिमे पुगेँ । त्यहाँका प्रअ दीर्घजंग सिंहलगायत सम्पूर्ण स्टाफहरू र विव्यस एवम् शिक्षक अभिभावक संघका पदाधिकारीहरू मेरो पर्खाइमा हुनुहुन्थ्यो । सबैले परिचयलाई पुरानो चिनजानसँग गाँस्दै नवीकरण ग¥यौँ । अनि लागियो तथ्याङ्क सङ्कलनतिर । प्रअ जिम्मेवारीपूर्वक आफैँ लाग्नुभयो यस कार्यमा । बेलुकाको बसाइ अशोक मल्ल सरको घरमा भयो । अशोक मल्ल र उहाँको म्याडमले त्यो घरमा दुई दिन बस्दासम्म मलाई अबर्णनीय किसिमबाट ख्याल गर्नुभयो ।
सिस्नो र मकैको रोटीको कुरा मात्रै के गरेको थिएँ, खुब मीठो बनाएर खुवाउनुभयो । नजाने बाल्यकालमा खाइयो होला गाउँमा बस्दा, चिनी र पानी नमिसाएको भैँसीको दूधको स्वाद कस्तो हुन्छ भन्ने कुरा अशोक सरकै भान्सामा चाख्न पाइयो । प्रअ दीर्घ सरले पनि म बसुन्जेल सँगै त्यही खायौँ । यस्तो लाग्यो, घरमा निकोमीठो भएसम्म बाँडीचुडी खाने चलन अहिलेसम्म गाउँघरमा जिउँदै रहेछ । सहरतिर भने लुकिछिपी खाने चलन मौलाइसकेको छ । मलाई यस्तो पनि बोध भयो, गाउँहरूमा मदिरामा पानी मिसाएर पिउने चलन बढे पनि दूधमा पानी नमिसाउने परम्परागत चलन जिउँदै रहेछ ।
विद्यालयमा गएर कक्षाहरू पनि अवलोकन गरेँ । विद्यार्थीहरूसँग पनि भलाकुसारी गरेँ । प्रार्थनाको बेलामा पिटी प्रदर्शनका साथै विद्यार्थीहरूबाटै केही प्रश्नहरू सोध्ने र विद्यार्थीहरूबाटै जवाफ दिने पद्धतिलाई पनि नियालेँ, जुन मलाई उपयुक्त पनि लाग्यो । चिसो मौसमका कारण मैले त्यहाँ जाँदा मेरो जिउमा सबैभन्दा भित्र गञ्जी थियो, त्यसपछि थर्माकोट थियो, त्यसपछि उलन सर्ट थियो, त्यसपछि स्वीटर थियो र त्यसपछि बाहिर जाकेट थियो । तैपनि मलाई जाडो अनुभूत भइरहेको थियो । तर ती अधिकांश विद्यार्थीहरू एकसरो ड्रेस लगाएर कक्षामा बसिरहेका थिए । कतिपय त जाडोले थरथर काँपिरहेका पनि देख्न सकिन्थ्यो ।
यस्तो अवस्थामा पनि उनीहरू इमान्दार थिए । कक्षामा अनावश्यक कुरा बोल्दैनथे र गर्दैनथे । शिक्षकहरूले भनेका कुराप्रति गम्भीर थिए । सहरतिर शिक्षक कक्षाभित्र प्रवेश गरेर बाहिर ननिस्किँदासम्म अनावश्यक रूपमा शिक्षकलाई नटेरेर विद्यार्थीहरूले हल्ला गरिरहने तथाकथित नमुना विद्यालयहरू पनि छन् । कक्षाकोठाहरूमा यसप्रकारका दृश्यहरू यी आँखाहरूले देख्नु पर्दा आँखाले देख्ने मात्र काम गरेनन्, ती आँखाहरूले आफूलाई आँसुले भिजाउने काम पनि गरे ।
दीर्घ सरसँग लटरम्म फलेका सुन्तलाबारीतिर गयौँ । टिपेर जति खाए पनि हुन्छ भन्ने कुरा भयो । मलाई भने किसानले पसिना बगाएर फलाएको सुन्तला सित्तैमा खानु हुँदैन भन्ने लाग्यो । तथापि मलाई लागेर के हुन्थ्यो र ! सुन्तलाबारीका मालिकले नै आफँैले टिपेर दिएपछि खायौँ । मलाई भने कतिपय कुराहरू खानुमा भन्दा हेर्नुमा आनन्द आउँछ भनेझैँ अनुभूत भइरहेको थियो । पहँेलै देखिने सुन्तलाबारी खुबसँग नियाल्ने काम भयो । पूर्व, पश्चिम, उत्तर, दक्षिण सबैतिरबाट । अनि फोटो पनि लिने काम भयो त्यसरी नै । तीनै तहका सरकार कसैको पनि यसप्रकारको सुन्तला खेतीमा सहयोग र अनुदान नदिएको कुरा पनि बोध भयो । ढिमेबाटै गाडी चढेर नेपालगन्जतिर लागेँ ।
गाडीले मान्छेभन्दा पनि सुन्तलाका भारीहरू बोक्दो रहेछ । त्यो पनि कोसेली स्वरूप । सुर्खेत, नेपालगन्जतिर बस्ने आफन्तहरूका लागि सुन्तला पठाइँदो रहेछ यहाँबाट । परिचय भएको कारणले हो वा दिलदार भएर हो गाडीमा सुन्तला ढुवानीको भाडा लाग्दो रहेनछ । सुर्खेत र नेपालगन्जतिर ल्याएर पनि गाडीले सबैलाई हातहातमा थमाइदिँदो रहेछ । पैसा छाप्ने बजारतिर बसाइ सरेर होला, मलाई अनौठो लाग्यो, मानिसहरू बीचको यो हार्दिकता र सामिप्यता देखेर ।
प्रतिक्रिया दिनुहोस्