पूर्वराजा शाहले गरे भुवरभवानी मन्दिरको दर्शन



नेपालगन्ज ।

पूर्वराजा ज्ञानेन्द्र शाहले बाँकेको राप्ती सोनारी गाउँपालिका–३ स्थित भुवरभवानी मन्दिरको दर्शन गरेका छन् । पत्नी कोमल शाह र परिवारका अन्य सदस्यसहित मन्दिरमा पुगेका शाहले सोमबार बिहान साढे ११ बजे भुवरभवानी मन्दिरमा पूजा अर्चना र दर्शन गरेका हुन् ।

पूर्वराजा शाहसँगै उनकी छोरी प्रेरणा सिंह, पूर्व शाहज्यादी पूजा शाहीलगायत राप्ती सोनारी पुगेका थिए । मन्दिरमा दर्शन गर्ने क्रममा मन्दिर परिसरमा राप्रपाका स्थानीय नेता तथा कार्यकर्ताहरूले ‘राजा आउ देश बचाउ’ भन्दै नारा लगाएका थिए ।

त्यसक्रममा राप्ती सोनारीका पूर्वप्रधानपञ्च सालिकराम डाँगी, तुलसीराम थारू, भुवरभवानी मन्दिर व्यवस्थापनका अध्यक्ष टीकाराम थारूलगायतले पुष्प गुच्छाले स्वागत गरेका थिए ।

मन्दिरका पुजारी बलराम रेग्मीले मन्दिरमा पूर्वराजा पुग्दा खुसीले आँसु झरेको प्रतिक्रिया दिए । करिब आधा घन्टासम्म मन्दिरमा पूजा अर्चना गरेका पूर्वराजा शाहलाई भेट्न सयौँ सङ्ख्यामा स्थानीयहरू भुवरभवानी मन्दिर पुगेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ पुस २ गते मंगलबार