ठूला तस्करलाई संरक्षण गरिरहेको सशस्त्र प्रहरीले आइतबार नेपालगन्जमा भने सीमावर्ती बजार रूपैडिहाबाट करिब १ हजार ७ सय रूपैयाँजतिको मात्रै चकलेट, सर्फ, अगरबत्तीलगायतको सामान ल्याइरहेका एक नागरिकलाई कुटपिट गरेर घाइते बनाएको छ । ठूला तस्करलाई संरक्षण गरेर सशस्त्र प्रहरीले बन्दुकको बलमा सामान्य नागरिकमाथि बर्बरता देखाइरहेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
सीमावर्ती भारतीय बजार रूपैडिहाबाट घरायसी उपभोगका लागि किनमेल गरेर फर्किने नेपालीलाई बन्दुकको बलमा सशस्त्र प्रहरीले आंतक मच्चाउन थालेको छ । सोही क्रममा आइतबार नेपालगन्जको चौलिका चोकमा सशस्त्र प्रहरीले एक जना व्यक्तिलाई बेहोस हुनेगरी कुटपिट गरेको थियो ।
सीमावर्ती बजार रूपैडिहाबाट ल्याइँदै गरेका घरायसी उपभोग्य र केही कस्मेटिक सामान सशस्त्र प्रहरीले चौलिका चोकमा बरामद गर्नेक्रममा सशस्त्र प्रहरीको ३० नम्बर गणबाट खटिएका प्रहरीले ती व्यक्तिमाथि कुटपिट गरेका थिए । कुटपिटमा पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–१७ परसपुरका ४५ वर्षीय नन्कु साहु रहेका छन् । उनको संवेदनशील अंग र दायाँ कोखामा सशस्त्र प्रहरीले बुटले प्रहार गरेपछि उनी बेहोस भएर सडकमै ढलेका थिए । त्यसपछि सशस्त्र प्रहरीको टोलीले उनलाई भेरी अस्पतालको इमरजेन्सीमा पु¥याएर भर्ना गरेको थियो ।
भेरी अस्पतालको २५ नम्बर इमरजेन्सी बेडमा भर्ना गरिएको अवस्थामा भेटिएका साहुले आइतबार बेलुकी मिसन टुडेसँग आफूले भन्सार शुल्क तिरेर सामान लिएर आउने भन्दै फिर्ता माग्दा प्रहरीले कुटपिट गरेको बताए ।
आइतबार अपराह्न साहुका किशोर उमेरका छोराले आफ्नो घुम्ती पसलमा बेच्नका लागि भारतीय सीमावर्ती बजार रूपैडिहाबाट करिब १ हजार ७ सय रूपैयाँको सामान लिएर फर्किरहेका बेला सशस्त्रले उक्त सामान बरामद गरेको बताए । ‘विद्यालय बिदाको दिन पसलका लागि सामान ल्याइहाल् भनेर साइकलमा छोरालाई रूपैडिहा पठाएको थिएँ । छोराले पुलिसले सामान समात्यो भनेर फोन ग¥यो । म तत्काल त्यहाँ पुगेर सामान माग्न खोज्दा प्रहरीले बुटले हान्यो,’ साहुले भने ।
उनले नाकामा रहेको भन्सार यात्रु शाखाबाट छुट दिएर पठाइएको सामान प्रहरीले चौलिकामा समातेर दुःख दिएको गुनासो गरे । ‘म रातिको समयमा नेपालगन्जमा बदाम बेच्छु । दिउँसो, सानो पसल छ त्यसैमा सामान बेचेर गुजारा चलाएको छु,’ साहुले भने ।
सशस्त्र प्रहरी ३० नम्बर गण बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) विमल डाँगीले भने सशस्त्र प्रहरीले कुटपिट नगरेको दाबी गरे । उनले ती व्यक्तिले गाडीमा राखिसकेको सामान झम्टिन खोज्दा सामान्य धकेलाधकेल भएको बताए । ‘त्यहाँ भारतबाट क्यारिङ गर्नेहरूको भीड हुन्छ । समान समात्यो भने असहयोग गर्ने गर्छन् । त्यस्तैमा ती व्यक्तिले पनि जबर्जस्ती गरेको भन्ने कुरा आएको छ,’ एसपी डाँगीले मिसन टुडेसँग भने ।
ती व्यक्ति बेहोस हुनुमा प्रहरीको कुटाइ नभई उनको ब्लडप्रेसरसम्बन्धी समस्या भएको एसपी डाँगीले दाबी गरे । अस्पतालको फारममा पनि साहुको रक्तचाप १८०/१२० रहेको उल्लेख गरिएको छ । तर, साहु आफूलाई यसअघि ब्लडप्रेसरसम्बन्धी कुनै समस्या नरहेको बताउँछन् । ‘प्रहरीको बुटले प्रहार भएपछि नै म बेहोस भएर ढलेको हुँ । त्यसपछि मलाई अस्पताल पु¥याएका रहेछन् ।’ प्रहरीले कुटपिट गरेको देखेपछि त्यहाँ रहेका सर्वसाधारणले विरोध जनाएका थिए ।
भेरी अस्पतालको इमरजेन्सीमा भर्ना गरिएका उनको चिकित्सकले चोट लागेको भनिएको ठाउँको भिडियो एक्स रे गर्न लगाएका छन् । ‘आइतबार उनको भिडियो एक्स रे नभएपछि र डाक्टर साबले पनि राति अस्पतालमै राख्न सुझाव दिएपछि आइतबार राति अस्पतालमै राख्ने व्यवस्था मिलाएका छौँ,’ एसपी डाँगीले मिसन टुडेसँग भने ।
एसपी डाँगीले साहुका छोराबाट बरामद गरिएको सामानको विवरण भने दिन सकेनन् । उनले त्यससम्बन्धी मुद्दा पनि अघि नबढाइएको उनले बताए । ‘महँगो कस्मेटिक सामान पनि थियो । तर यो लफडा भएपछि त्यसको मुचुल्का बनाउनतिर समय दिन पाइएको छैन । मुद्दा पनि चलाइएको छैन,’ उनले भने । तर, साहु भने करिब १ हजार ७ सय रूपैयाँ जतिको मात्रै चकलेट, सर्फ, अगरबत्तीलगायतको सामान रहेको बताउँछन् ।
साहुकी श्रीमतीले पनि सामानको भन्सार गर्न दिन माग गर्दा प्रहरीले कुटपिट गरेको बताइन् । साहुका छिमेकी मुन्ना बेहनाले प्रहरीले अमानवीय तरिकाले कुटपिट गरेको बताए । अस्पतालमा साहुको कुरुवा बसेका उनले भने, ‘म घटनास्थलमा त थिइनँ । तर कुरा सुन्दा न त्यो खतरनाक अवैध सामान थियो, न धेरै मूल्यको सामान थियो । गरिबले पसलमा बेच्नका लागि ल्याएको सामानका लागि पनि प्रहरीले यसरी कुट्न हुने थिएन ।’
नेपालगन्जको जमुनाहा नाकामा भन्सार कार्यान्वयनका लागि खटिएको सशस्त्र प्रहरी र नागरिकबीच वादविवादका घटनाहरू प्रायः भइरहेका हुन्छन् । नाकामा रहेको यात्रु शाखामा खटिएका कर्मचारीले भन्सार नगरेका सामान पनि लैजान छुट दिने तर बीच बाटोमा आइसकेपछि प्रहरीले समातेर भन्सार नतिरेको अवैद्य सामान भन्दै बरामद गर्दा यस्तो समस्या दोहोरिइरहेको हुन्छ । यस्तोमा सशस्त्र प्रहरीले समय–समयमा संयम गुमाएर नागरिकहरूमाथि अवाञ्छित व्यवहार गरिरहेको छ ।
यसबाहेक सशस्त्र प्रहरीले पटक–पटक भारतबाट किनमेल गरी आउनेहरूलाई कुटपिट गरेका गुनासाहरू सार्वजनिक भइरहेका हुन्छन् । अधिवक्ता विश्वजित तिवारी कुनै पनि बहानामा नागरिकलाई कुटपिट गर्नु मानवअधिकार हनन हुने बताउँछन् । उनले भने, ‘मैले यस घटनाका विषयमा जानकारी त पाएको छैन । तर, यदि कुटपिट भएको रहेछ भने त्यो मानवअधिकार र हाम्रो संविधानले व्यवस्था गरेको सम्मानपूर्वक बाँच्न पाउने हकविरुद्धको काम हो । यस विषयमा सत्यतथ्य बाहिर आउनुपर्छ ।’
नाकामा भन्सार तिर्ने व्यवस्था चुस्त नबनाउने र बीच बाटोमा समातेर दुःख दिने प्रवृत्तिले नेपालगन्जको जमुनाहा नाकामा घुस तथा अवाञ्छित क्रियाकलापमा पनि प्रहरी संलग्न हुने गरेको आरोप लाग्दै आएको छ । प्रहरीले मुख्य नाकाबाट ल्याइएका सामानलाई सुरु चेकपोस्टबाट अगाडि लैजान छुट दिने र त्यसभन्दा पछि रहेका चेकपोस्टमा समातेर बरामद गर्ने गरेको छ ।









प्रतिक्रिया दिनुहोस्