कोहलपुरका विष्णु पादुका बाह्रखरी कथा प्रतियोगितामा प्रथम



कोहलपुर ।

साहित्यकार विष्णु पादुका ‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता–२०८१ मा प्रथम भएका छन् । उनको ‘माग्युद् खोला’ शीर्षकको कथाले प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै एक लाख रुपैयाँ पुरस्कार जितेको छ । बाह्रखरी मिडियाले आयोजना गरेको प्रतियोगिताको छैटौँ संस्करण ‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता—२०८१’ मा प्राप्त ९३७ वटा कथामध्ये पादुकाको कथाले प्रथम स्थान हासिल गरेको आयोजकले जनाएको छ ।

कथाकार पादुका बाँकेको कोहलपुर–४ किरणनालाका स्थायी बासिन्दा हुन् । नेपाली साहित्यका बहुबिधामा कलम चलाउँदै आएका पादुका कथाकारका अलावा निबन्ध र कविताका पनि अब्बल स्रष्टा हुन् । साहित्यकार पादुका डोल्पाको दुर्गम बस्तीमा लामो समयदेखि शिक्षण पेसामा आबद्ध छन् । लामो समयदेखि निरन्तर लेखन कार्यका संलग्न पादुकाका ‘बिन्दुको वृत्त’ कविता संग्रह र ‘साइनो’ साइनो संग्रह प्रकाशित छन् । उनको साइनो संग्रह नेपालमै पहिलो भएको बुझिएको छ ।

आफ्नो कथा पुरस्कृत भएकोमा खुसी व्यक्त गर्दै साहित्यकार पादुकाले लेखनका लागि आफूमा आत्मबल बढेको प्रतिक्रिया दिए । ‘हिजोसम्म साथीभाइको सानो सर्कलबाट सामान्य प्रतिक्रिया पाइन्थ्यो । त्यसले आफ्नो लेखन कस्तो छ भन्ने कुराको खासै मूल्यांकन हुँदैनथ्यो,’ उनले भने, ‘तर यो पुरस्कारपछि लेखनमा थिम र शैलीलाई धेरैले मन पराउँदा रहेछन् भन्ने लागेको छ ।’

पादुकाको कथा बाह्रखरी कथा प्रतियोगितामा प्रथम भएकोमा कोहलपुरकै अर्का स्रष्टा सागर गैरेले खुसी व्यक्त गरे । ‘यो त हामी समग्र कोहलपुरबासीकै लागि गौरवको कुरा हो,’ विजेता कथाकार पादुकालाई बधाई दिँदै गैरेले भने, ‘यसले नेपाली साहित्यमा कोहलपुर क्षेत्रको उपस्थिति कमजोर छैन भन्ने स्पष्ट भएको छ ।’

बाह्रखरी कथा प्रतियोगितामा गत वर्ष पनि कोहलपुरमै कार्यक्षेत्र बनाई सिर्जनाकर्ममा रमिरहेका दाङका नवीन अभिलाषी प्रथम भएका थिए । उनीसँगै कोहलपुरकै काशीलाल अधिकारी प्रतियोगितामा पच्चीसौँ स्थानमा पर्न सफल भएका थिए । त्यस्तै, कथा प्रतियोगिताको पहिलो संस्करणमा कोहलपुरकै केशव सिग्देल उत्कृष्ट तथा सुमित्रा न्यौपाने तृतीय हुन सफल भएका थिए ।

कोहलपुर क्षेत्रकै अर्का साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य महानन्द ढकालले पनि खुसी व्यक्त गर्दै साहित्य लेखनमा कोहलपुर क्षेत्रका स्रष्टाहरुले सचेत रुपमा कलम चलाइरहेका छन् भन्ने स्पष्ट भएको बताए । ‘यसबाट कोहलपुर क्षेत्रमा नेपाली साहित्यको आख्यान विधामा स्तरीय लेखन भइरहेको छ भन्ने स्पष्ट हुन्छ,’ ढकालले भने, ‘यहाँका स्रष्टाहरू गम्भीर रूपमा साहित्य लेखनमा क्रियाशील छन् ।’ उनले सबै स्रष्टालाई बधाई दिँदै आगामी दिनमा साहित्य लेखनमा थप जिम्मेवार भएर लाग्न आग्रह गरे ।

डिशहोम बाह्रखरी कथा लेखन प्रतियोगितामा कथाकार प्रमेय भण्डारीको कथा ‘कृत्रिम सपना’ द्वितीय र कथाकार विवेक धिमालको कथा ‘मैले देखेको विद्यालय’ले तृतीय पुरस्कार प्राप्त गरेका छन् ।

आइतबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा छैटौँ संस्करणको कथा प्रतियोगिताका विजेता घोषणासँगै प्रतिस्पर्धामा नेपालसहित विश्वका विभिन्न मुलुकबाट प्राप्त ९३७ कथाहरूमध्येबाट उत्कृष्ट २५ कथाको सँगालो ‘बाह्रखरी उत्कृष्ट कथा–२०८१’ पुस्तकको विमोचन गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बाह्रखरी उत्कृष्ट कथा–२०८१ कथाकृतिको लोकार्पणका साथै प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने कथाकारसहित उत्कृष्ट सबै २५ कथाकारहरूलाई पुरस्कृत गर्दै ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए ।

बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८१ मा उत्कृष्ट २५ कथामा क्रमशः प्रथम, द्वितीय र तृतीय, विष्णु पादुका, प्रमेय भण्डारी र विवेक धिमालका अलावा अनिता पन्थी, अप्सना चौलागाईं, चेतनाथ आचार्य, जीतबहादुर कटुवाल, तोयम्, दीक्षित केसी, दुर्गा ढेंगा, देवेन्द्र खापुङ, धु्रव अधिकारी, भागवत खनाल, भूमिका थारू, मधुर भट्टराई, महेन्द्र महक, मिरमा, रमेशजंग थापा, राधिका कल्पित, ललिता दोषी, विमला तिवारी, सपना अधिकारी, सुदीप चापागाईं, हर्कबहादुर लामगादे ‘रोहित’ र डा. हिमलाल श्रेष्ठका कथा छानिएका छन् ।

कार्यक्रममा डिश मिडिया लिमिटेडका निर्देशक हेमराज ढकाल, बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधान, प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य, विशेष सम्पादक हरिबहादुर थापा, विचार सम्पादक तथा आन्तरिक निर्णायक समूहका संयोजक गोविन्द अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

कथा लेखन प्रतियोगिताको छैटौँ संस्करणमा उत्कृष्ट २५ कथाको सँगालो फाइनप्रिन्टले बजारमा ल्याएको छ । यस कृतिको सम्पादन आख्यानकार नयनराज पाण्डेले गरेका छन् । बाह्रखरी मिडियाले कथा चयनका लागि आन्तरिक र बाह्य गरी दुई मूल्यांकन समिति गठन गरेको थियो । बाह्य निर्णायकहरूमा प्रा.डा. ज्ञानू पाण्डे संयोजक रहेकी थिइन् भने साहित्यकारहरू डा. गीता त्रिपाठी र धीरेन्द्र प्रेमर्षि सदस्य थिए ।

प्रतियोगितामा अग्रजदेखि समकालीन तथा युवापुस्ता कथाकारसमेतको सहभागिता रहने गरेको छ । यस वर्ष पनि विगतमा झैँ नेपालसहित भारतका मुम्बई, असम, दार्जिलिङ, मणिपुर, गुवाहाटी तथा चीन, यूएई, अमेरिका, अस्ट्रेलिया, दक्षिण कोरिया, बेलायत, जापान, क्यानडा, कतार, स्पेन, फिनल्यान्डलगायत देशमा बसोबास गर्ने नेपाली भाषी कथाकारहरूले सहभागिता जनाएको आयोजक बाह्रखरी मिडियाले जनाएको छ ।

प्रकाशित मिति : २०८१ मंसिर १७ गते सोमबार