कथा
डा.देवेन्द्र आचार्य
म आफैले काखमा राखेर बज्यैलाई रिक्सामा दशबिगाहा अस्पतालको इमरजेन्सी कक्षमा पु¥याएँ । डाक्टरले बज्यैको सबै चेकजाँचको लागि बिल कटाउन भने । तर, अस्पतालको बिल काट्ने बेलापनि दाजुभाइ बीच आमाको बेहोशी ज्यानको लागि हिसाबकिताब भयो । डाक्टरले सबै चेकजाँच गरेपछि बज्यैलाई टाउकोको रगतनलीमा समस्या छ । यहाँ टाउकोको डाक्टर हुनुहुदैन लखनऊ अथवा काठमाडौँ लैजान सल्लाह दिए । त्यति बेला सीटी स्कान सेवा पनि थिएन । अब के गर्ने उपचार नगरौँ सबैको आमा हुन् उपचार गरौँ कसले गर्ने ? दुबै छोरा अस्पतालको मृत्युशैयामा बेहोश परेकी आमाको छेउमा आएर मुखामुख गर्दै डाक्टरसँग कुन्नी के हो सल्लाह गर्दै थिए ।
जुम्लाबाट झरेको तराईको पहाडी बस्ती, सबै मानिसहरु एकआपसमा जोडिएका छन् । तर, पनि पहाडको जुनसुकै जडीबुटी लिनु प¥यो भने सबै जना मुख्खेनी बज्यैको नै भर हुन्थ्यो । मलाई याद छ ती दिनहरु जुन दिन मुख्खेनी बज्यै मेरो घर आएर मलाई ‘बाबु तैले चै सप्पा बुहारी बे गरेछ है । हुन स्वाँइ’ हामो नाती कन मेरी बुहारी जस्ती लुच्ची बुहारी चै न बेगरे है’ भन्दै मुख्खेनी बज्यै आफ्नो टाउकोमा आफै हान्दै मेरो बुबाको अगाडि छोरा बुहारी सराप्दथिइन् । म भने स्कूले बालक थिएँ । लाजले मुसुक्क हास्नु शिवाय कुनै विकल्पनै रहदैन थियो ।
दुईवटा छोरा एउटा अदालतको सरकारी वकिल र अर्को नेता यसरी सरसर्ती हेर्दा त कति सुखी जीवन हुनु पर्ने है ! हेर्दा र यर्थाततामा जीवन बेथित गर्न धेरै नै भिन्न रहेछ । बूढेसकालमा यति सब हुँदा पनि ती मुख्खेनी बज्यै र उनका श्रीमान् पहाडका ४ गा.वि.स का मुखियालाई कहिल्यै पनि सुख भन्ने कुरा भएन ।
कान्छो छोरो नेताले भर्खरै बिहे ग¥यो, उसकी एउटी छोरी पनि भई जेठा छोराको जहान अलि धेरै छन् र त्यसैले ऊ पहिल्यै नै आमाबाबुबाट अलि टाढै आफ्नै तरिकाले बसेको छ । कान्छो छोरा दुई बहिनी र बाबु आमा भने एउटै घरमा बस्ने गर्दथे । जेठी बुहारी अलि मेहिनेती र अब्बल थिई भने कान्छी बुहारी अलि घमन्डी र छुच्ची थिई । त्यसैले होला सायद, बिवाह भएको दुई वर्षमै कान्छो छोराले अंशवण्डाको कुरा अगाडि बढायो र सोही अनुसार घरमा अंशवण्डा पनि भयो । जेठो छोराका जाहान पहिल्यै अलग्गिएकाले बूढा बाबुआमा चाहीँ कान्छो छोरासँग नै बस्ने भए ।
समय सधंै एकनास
नहुँदोरहेछ । मानिसहरु पनि त समयनुसार परिवर्तन हुदाँ रहेछन् बेला बेलामा मुख्खेनी बज्यै मेरो दैलोमा आएर आफू प्रति भएको छोरा बुहारीको व्यवहारलाई झझल्काइरहन्थिइन् । तर, के गर्ने छिमेकीले हकारे, कुटे भने त गुहार्ने ठाँउ छ अड्डा चौकी थियो तर छोराले कुटे कहाँ गुहार्ने । यस्ता यावत सन्दर्भहरु जोडेर अझै भक्कानिन्थिन् बिचारी मुख्खेनी बज्यै । उता, जेठो छोरालाई यी सब कुराहरुसँग कुनै रस नै थिएन ।
हुदाँ–हुदाँ आजभोलि त मुख्खेनी बज्यैका दुई बुढाबूढी त कुखुरा पाल्न भनेर बनाएको खोरमा बसाइसरे छन् ।
त्यो पनि आमाको मुख हेर्ने दिनमा । बज्यै हरेक दिन मेरो घरमा आएर बिलौना पोख्दथिइन् र एक पटक भक्कानिएको मन सम्हाल्न दुबै छोरालाई जन्माउन, हुर्काउन गरेका संघर्षका स्मरणहरु केलाउँद
थिइन् । समय क्रमनुसार बाजे बज्यै भने कुखुराको खोर भएको गोठमै भएपनि आफूलाई जेनतेन बानी पारेर बुढेसकालको साहारा स्वरुप एकअर्कामा रमाएकै थिए । यति हुदाँ पनि गाँउमा परम्परागत औषधीको विधि तबर तरिकादेखि लिएर हरेक कुराहरुको जानकारी र सामाग्री चाहिए गाउँलेहरु ती नै मुख्खेनी बज्यैको मै जान्थे ।
मुख्खेनी बज्यै खरो र अति हतास स्वभावकी थिइन् । हरेक कुराहरुमा सबैलाई चित्त बुझाउँथिइन् । उनी घरमा रहुन्जेल हिउँदमा जुम्लाबाट झर्ने हटारुहरु उनको घरमा कहिल्यै पनि खाली रहदैन थिए । अचानक एक दिन साँझ बज्यै बेहोश हुनुभयो । कुखुरा भएको गोठको छेउमै बनाएको गोबरग्याँसको खाडलमा ढल्नु भएछ । धन्न, मेहिनेती छोराले आजभोलि गाईवस्तु पाल्न छाडेछ होइन, भने त बज्यै खाडलमै डुबेर स्वर्गबास भइसक्नु हुन्थ्यो होला । बेहोस भएको आढा घण्टामै गाँउभर हल्ला भइहाल्यो कि बज्यै त सिरियस हुनुभयो । आमाले मलाई हतार हतार जाँ त भन्दै कर गर्नु भयो र म कुखुरा भएको गोठ तर्फ अगाडि दगुर्दै गएँ । अब, के गर्ने ? कान्छो छोराको भर्खरै अप्रेशन गरेको छ रिक्सा अथवा गाडीमा हिड्ँन मिल्दैन रे ! डाक्टरले भनेको नत्र अप्रेशन बिर्गन्छ ।
जेठो छोरा सरकारी वकिल फोन गरेर बोलाउनु पर्ने । म पुगेको करिब आढा घण्टा पछि जेठो छोरा आइपुग्यो अनि जेठो र कान्छो मोटरसाइकलमा अस्पतालतर्फ कुदे । सबैले भनेपछि म आफैले काखमा राखेर बज्यैलाई रिक्सामा दशबिगाहा अस्पतालको इमरजेन्सी कक्षमा पु¥याएँ । डाक्टरले बज्यैको सबै चेकजाँचको लागि बिल कटाउन भने । तर, अस्पतालको बिल काट्ने बेलापनि दाजुभाइ बीच आमाको बेहोशी ज्यानको लागि हिसाबकिताब भयो । डाक्टरले सबै चेकजाँच गरेपछि बज्यैलाई टाउकोको रगतनलीमा समस्या
छ । यहाँ टाउकोको डाक्टर हुनुहुदैन लखनऊ अथवा काठमाडौँ लैजान सल्लाह दिए । त्यति बेला सीटी स्कान सेवा पनि थिएन । अब के गर्ने उपचार नगरौँ सबैको आमा हुन् उपचार गरौँ कसले गर्ने? दुबै छोरा अस्पतालको मृत्युशैयामा बेहोश परेकी आमाको छेउमा आएर मुखामुख गर्दै डाक्टरसँग कुन्नी के हो सल्लाह गर्दै थिए ।
अब, एकै छिन्मा कान्छो छोरा मेरो छेउमा आयो र भन्न थाल्यो । ‘बाबु डाक्टरले भनेको आमा त बाँच्नु हुन्न अब घर लैजानु प¥यो, बाहिर जीप तयारी अवस्थामा छ आमालाई राम्रोसँग सम्हाल ल !’ म त केहि पनि मेसो पाइन, म विवश थिए र फेरि त्यो मुछिर्त बज्यैको शरीरलाई बोकेर उनको टाउको मेरो काखमा राख्दै जसरी ल्याएथेँ त्यसरी पु¥याउनु बाहेक कुनै विकल्प नै रहेन । घर लगेँ । उता, पहिले नै जेठो छोराले घरमा झाँक्री तयारी अवस्थामा राखेको रहेछ । बज्यैलाई घर के पु¥याथँे, झाँक्रीले आदेश दिइहाले ‘अब, यीनकन् के पनि नखुवाई यिनी कन बाणले हान्याको छ, पानी पनि नखुवाए है !’ झाँक्री आफ्नै तालमा तुल्सीको बिरुवाले बज्यैको शरीरमा हान्दै बर्रबराउँछ ऊ “फु” “फु” गर्दै जोड जोडसँग मन्त्र फुक्छ । यसरी बज्यैको त्यो मुर्छित शरीरलाई यो प्रकृति सामु लडाएर सब आफन्तहरुलाई भेला गराएर एउटा झाँक्रीको भरमा छोराहरुले आफ्नो आमाप्रतिको कर्तव्य निभाइरहेछन् । आज, भोलि, पर्सी भन्दा भन्दै पाँच दिन बितेछ आजसम्म पनि बज्यैले प्राण त्यागेकी छैनन् ।, ‘आज राति कुर्न गएस् है !’ मेरी आमा मलाई बोलाएर भन्दै हुनुहुन्थ्यो । अब त सात दिन पुगेछ आज त दिन पनि राम्रै छ बढ्ढी आज त जान्छिन् होला है भनेर बुबाले पनि आमालाई भन्दै हुनुहुन्थ्यो । नभन्दै त्यस्तै भइदियो बज्यैले सातौँ दिनको दिन प्राण त्याग्नु भएछ र मलामी पनि म नै जानुपर्ने भो !
त्यो दिन ती बज्यैको टाउको मेरो काखमा लडेको पल म आज सम्झन्छु र मेरो चिकित्साशास्त्र अध्ययनका बखत देखिने र पढिने हरेक बेहोशीका बिरामीहरुसँग म बज्यैलाई देख्छु र मनमनै हरेक पल भन्छु शायद, म त्यति बेला त्यो रोगको बारेमा यति बिधि जानेको भए । के थाहा, बज्यै अझै बाँच्नु हुन्थ्यो कि ! के थाहा, मलाई त्यति बेला कि बज्यैलाई इस्चेमिक ब्रेन स्ट्रोक भएको थियोे भन्ने ।
के थाहा त्यति बेला कि टाउकोमा रगतको नली बुजिएमा अथवा फुटेमा त्यस्तो हुन्छ त्यसको उपचार पनि छ र मैले भेट्ने आज अस्पतालका बिरामी जस्तै बज्यै पनि मुस्कुराउन सक्थिन् भन्ने । मनमा अझ बढी भार लादिए जस्तै म यस्तै यस्तै हत्यारा छोराहरुको पहिचानमा सेतो पहिरनमा आफूलाई चाहीँ भगवान बनाउने एउटा भम्रमा छु ।









प्रतिक्रिया दिनुहोस्