राप्ती सोनारीमा कृषक सञ्जाल गठन



बाँके ।

व्यावसायिक कृषक सञ्जाल नेपालले बाँकेको राप्ती सोनारी गाउँपालिकामा आफ्नो सञ्जाल विस्तार गरेको छ ।

पालिकास्तरीय कृषकहरूको भेलाले कृषक सञ्जाल, राप्ती सोनारी गठन गरेको हो । कृषि उत्पादनबाट नेपाललाई संमृद्धि बनाउन किसानका समस्याहरूको पहिचान गर्न, सरोकारवाला निकायबीच समन्वय र पैरवी गर्दै अगाडि बढ्ने क्रममा कृषक सञ्जाल गठन गरिएको सञ्जालका अध्यक्ष शेषकान्त शर्माले जानकारी दिए ।

सञ्जालका अध्यक्ष शेषकान्त शर्माको अध्यक्षतामा राखिएको किसानसँग अन्तक्र्रिया कार्यक्रममा राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेल प्रमुख अतिथि थिए । कार्यक्रममा बोल्दै पौडेलले पालिकामा कृषिको प्रचुर सम्भावना रहेको र त्यसलाई प्राप्त गर्न सञ्जालसँग सहकार्य गर्न आफू तत्पर रहेको बताए ।

राप्ती सोनारी गाउँपालिकाका आर्थिक विकास संयोजक मीनकुमार चौधरीले आउँदा दिनमा कृषिसम्बन्धी योजना बनाउँदा किसानका समस्यालाई केन्द्रमा राखी बनाउन आफू तयार भएको बताए ।

प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले अब किसानहरू परम्परागत खेतीमा सीमित नभएर व्यावसायिक बन्नुपर्ने धारणा राखे । कृषि विकास शाखा प्रमुख चन्दाकुमारी शाही तथा पशु विकास शाखा प्रमुख जयबहादुर कार्कीले आ–आफ्ना कार्यालयसँग सम्बन्धित कार्यक्रमका बारेमा जानकारी दिए ।

किसान एवम् किसानसँग सम्बन्धित सरोकारवालाहरूको सहभागिता भएको बृहद् भेलाले राजु चौधरीको अध्यक्षतामा एघार सदस्यीय पालिकास्तरीय कृषक सञ्जाल निर्माण गरेको छ ।

सञ्जालको उपाध्यक्षमा भीमकुमारी विष्ट, सचिव वीरेन्द्र कुमार थारू र कोषाध्यक्षमा प्यारी थारू रहेका छन् । त्यस्तै सदस्यहरूमा क्रमशः सुशीलाकुमारी थारू, लालबहादुर बस्नेत, कृष्णबहादुर थारू, खिमबहादुर आले, दयाराम थारू, सर्जुप्रसाद थारू र दयाराम उपाध्याय रहेका छन् ।

नवनिर्वाचित समिति सदस्यहरूलाई सञ्जालका अध्यक्ष शेषकान्त शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

प्रकाशित मिति : २०८१ मंसिर १९ गते बुधबार