कथाकार पादुकालाई कोहलपुरमा भव्य स्वागत



कोहलपुर ।

बाह्रखरी मिडियाद्वारा आयोजित डिसहोम कथा प्रतियोगिता–२०८१ को छैटौँ संस्करणका विजेता कथाकार विष्णु पादुकालाई कोहलपुरमा भव्य स्वागत तथा सम्मान गरिएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले साहित्यकार पादुकालाई मंगलबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

कोहलपुरका स्रष्टा पादुकालाई देश विदेशका ९३७ जना प्रतियोगीलाई पछि पार्दै विजेता बन्न सफल भएकोमा कार्यक्रमका सहभागीहरूले बधाई ज्ञापन गरेका थिए । साहित्यका माध्यमले कोहलपुरको नाम राख्न सफल भएकोमा उनीहरूले कथाकार पादुकालाई बधाई दिँदै सम्मान प्रकट गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष पुष्करनाथ रिजालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको भूमिकामा रहेका नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य महानन्द ढकालले कथा साहित्यका माध्यमले कोहलपुरलाई चिनाउन थप योगदान दिएकोमा कथाकार पादुकालाई बधाई तथा धन्यवाद व्यक्त गरेका थिए ।

कोहलपुर क्षेत्रका ५० भन्दा बढी स्रष्टाको उपस्थिति रहेको सो कार्यक्रममा प्राज्ञ हरि तिमिल्सिना, साहित्यकारहरू सागर गैरे, सुमित्रा न्यौपानेलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव केशव निमेषले गरेका थिए ।

प्रकाशित मिति : २०८१ मंसिर १९ गते बुधबार