बर्दियाको मधुवनमा चितुवाको आक्रमणबाट दुई घाइते



बर्दिया ।

बर्दियाको मधुवन नगरपालिका–८ मा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् । वडा नम्बर ८ स्थित गणेश शिव सामुदायिक उपभोक्ता समितिको स्वामित्वमा रहेको जंगलमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका हुन् ।

डिभिजन वन कार्यालय बर्दियाका कार्यालय प्रमुख विजय सुवेदीका अनुसार घाइते हुनेमा सोही वडाका अन्दाजी ३४ वर्षीया ममता सुनार र सोही वडाका अन्दाजी ४४ वर्षीय मोहम्मद अली रहेका छन् । उनले भने, ‘घटना बिहान बिहीबार ९ बजेतिरको हो । त्यहाँ सामुदायिक वन छ । स्थानीय दाउरा संकलन गर्न गएका रहेछन् । त्यहीबेला दुई जनालाई आक्रमण गरेको रहेछ ।’

दाउरा संकलन खुलाइएकाले ठूलो सङ्ख्या मानिसहरू एकपटक जंगल जाँदा चितुवाले आक्रमण गरेको देखिन्छ । उनले अन्दाजी २ सय ५० जनाभन्दा बढी मानिसहरू एकैपटक जंगल गएको बेला त्यस्तो घटना भएको जानकारी दिए । कार्यालय प्रमुखले चितुवाले पहिला महिलालाई आक्रमण गरेको र उनको ढाडमा सामान्य चोट रहेको बताए ।

उनको बर्दिया अस्पतालमा उपचार भइरहेको सुवेदीले जानकारी दिए । ‘चितुवाको आक्रमणपछि महिला चिच्याएपछि आत्तिएर भाग्ने क्रममा पुरुषलाई भेटेछ । चितुवाले झम्टेका बेला घाइते भएका पुरुषले मुखमा हात छिराउनुभएको रहेछ । त्यही बेला टाउकोमा समेत चिथोरेको देखिएको छ,’ घटनाबारे जानकारी दिँदै उनले भने ।

उनको हात र टाउकोमा अलि बढी चोट छ । थप उपचारका लागि उनलाई नेपालगन्ज ल्याइएको प्रमुख सुवेदीले मिसन टुडेलाई बताए ।
घटनास्थलमा धेरै मानिसहरू भएकाले हँसियालगायतका सामग्रीले चितुवालाई आक्रमण गरेको र अब म¥यो भनेर छोडेर आएको प्रत्यक्षदर्शीको भनाइ उद्धृत गर्दै सुवेदीले भने । तर, पछि चितुवा त्यहाँबाट भागेको र घाइते अवस्थामा रहेको पनि उनले बताए ।

स्थानीयले कुटेर घाइते बनाएकाले चितुवा मरेको हुन सक्ने उनले आशंका व्यक्त गरे । अहिले घाइतेहरूको उपचार भइरहेको र चितुवाको खोजी कार्य जारी रहेको उनको भनाइ छ । थप जोखिम हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै गणेश शिव सामुदायिक उपभोक्ता समितिको वन क्षेत्रमा जान रोक लगाइएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८१ मंसिर १४ गते शुक्रबार