देशभरिका मनोचिकित्सक नेपालगन्जमा



नेपालगन्ज ।

देशभरका करिब १ सय ५० भन्दा बढी मानसिक रोगका चिकित्सकहरू नेपालगन्जमा भेला भएका छन् । नेपाल मनोचिकित्सक संघको १०औँ राष्ट्रिय सम्मेलनका लागि उनीहरू नेपालगन्जमा भेला भएका हुन् ।

बिहीबारबाट सुरु भएको दुईदिने सम्मेलनमा मानसिक रोग र लागूऔषधका बारेमा छलफल गरिनेछ । जसमा नेपाल तथा भारतका विज्ञ चिकित्सकहरूले करिब ९३ ओटा कार्यपत्रहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको नेपाल मनोचिकित्सक संघका अध्यक्ष एवम् पाटन अस्पतालका निर्देशक प्रा.डा. रवि शाक्यले जानकारी दिए ।

ती कार्यपत्रले लागूऔषधलाई मानसिक रोगको रूपमा वैज्ञानिक ढंगले उपचार गर्नुपर्ने विषयमा पछिल्ला खोज तथा अध्ययन र उपचार पद्धतिका विषयमा घनीभूत सिकाइ आदानप्रदान हुने शाक्यले बताए । उनका अनुसार भारतका लामो अनुभव भएका मनोचिकित्सकहरूले पनि कार्यपत्र प्रस्तुत गरेका छन् ।

सम्मेलनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि रहेका नेपाल सरकार स्वस्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले पनि लागूऔषधको विषयलाई गृह मन्त्रालयले हेर्ने गरेको र यसलाई अपराधको दृष्टिले मात्रै हेर्ने गरिएकोमा अब यसलाई स्वास्थ्यको दृष्टिले पनि नीति निर्माण गर्नु आवश्यक रहेको बताए । उनले सम्मेलनले अहिलेको महत्वपूर्ण मुद्दामा विज्ञहरूलाई एक ठाउँमा जुटाएर निकालिने निचोडले महत्वपूर्ण अर्थ राख्ने बताए ।

नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. अनिल कार्कीले लागूऔषधले स्वास्थ क्षेत्रमा ठूलो चुनौती थपेकाले यसको उपचारमा सम्मेनमार्फत प्रभावकारी उपायहरूको पहिचान हुने विश्वास व्यक्त गरे ।

मनोचिकित्सक संघका अध्यक्ष डा. शाक्यले अब लागुऔषधलाई अपराधको दृष्टिकोणले हेरेर यसको उपचार संभव नहुने विभिन्न अध्ययनहरूले देखाएको बताए । सम्मेलनमा विभिन्न सत्रहरूबाट आउने निचोडले राज्यको नीतिनिर्माणका लागि सुझावको रूपमा काम गर्ने उनले दाबी गरे ।

प्रकाशित मिति : २०८१ मंसिर १४ गते शुक्रबार