कोहलपुर (बाँके) ।
नेकपा एमाले बाँकेको निलम्बनमा परेका लुम्बिनी प्रदेश सभा सदस्य दुर्गाबहादुर चौधरीले आफूमाथि गरिएको कारबाही विधानविपरीत रहेको बताएका छन् ।
बिहीबार कोहलपुरमा पत्रकार सम्मेलनको आयोजना गर्दै पूर्वमन्त्रीसमेत रहेका सांसद चौधरीले जनताद्वारा निर्वाचित सांसदलाई जिल्ला पार्टीले कारबाही गर्ने अधिकार नभएको बताएका हुन् । उनले भने, ‘मलाई पार्टीले निलम्बन गरेको भन्ने सामाजिक सञ्जाल र मिडियामार्फत जानकारी पाएँ । मलाई अहिलेसम्म औपचारिक पत्र प्राप्त भएको छैन ।’
उक्त अवसरमा नेकपा एमाले बाँकेले कात्तिक ५ गते आफूलाई स्पष्टीकरण सोधेको र पार्टीले सोधेको प्रश्नको उत्तर आफूले दिएको सांसद चौधरीको भनाइ छ । तर, मंसिर ११ गते सार्वजनिक भएको नेकपा एमाले बाँकेद्वारा जारी निलम्बन पत्रमा सांसद चौधरीलाई पार्टीलाई हानि नोक्सानी पु¥याउने मनसायका साथ पार्टी अध्यक्ष र महासचिवसमेतलाई मानहानि हुनेगरी पार्टीको मूल्य–मान्यताविपरीत सार्वजनिक रूपमा गालीगलौज गरेको आरोप लगाइएको छ ।
निलम्बन पत्रमा भनिएको छ, ‘सामाजिक सञ्जालमा, पार्टीका नेता, कार्यकर्तालाई खुइल्याउने, पार्टीकाबिरुद्ध समाचार लेख्ने जस्ता गतिविधि निरन्तर गरेका कारण विधानको धारण ८ को (३) र (४) स्पष्टीकरण सोधिएको थियो ।’ तर, चौधरीले स्पष्टीकरणमा आफ्नो कमजोरीको महसुसीकरण गर्नुको साटो उल्टै पार्टी नेता, कार्यकर्ता र समग्र पार्टीविरुद्ध लिखित जवाफ दिएको भन्दै पार्टी विधानको ८१ (७) अनुसार निलम्बन गरिएको जनाइएको छ ।
आफूमाथि कारबाही गर्ने अधिकार जिल्ला कमिटीलाई नभएको उनले दाबी गरेका छन् । सम्बन्धित व्यक्तिलाई जानकारीसमेत नगराई पार्टीका माथिल्ला कमिटीबाट अनुमोदन नभएको निलम्बन औचित्यहीन भएको उनको भनाइ छ । नेकपा एमाले बाँकेले बोधार्थमा केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र बाँकेका पालिका कमिटीलाई जानकारी गराएको उल्लेख गरिए पनि आधिकारिक जानकारी नगराएको चौधरीले दाबी गरेका छन् ।
‘पार्टीले भ्याट छलीमा दोषी देखिएका व्यवसायीबाट दान लिएपछि गलत भयो भनेको थिएँ । आमचासोको विषयमा आफ्नो धारणा राखिरहेको हुन्छु । कसैलाई व्यक्तिगत रूपमा मनोमानी गरेको छैन । अनायास निलम्बनको पत्रमा सार्वजनिक हुँदा अचम्भित भएको छु,’ चौधरीले भने ।
माओवादी पृष्ठभूमि भएका र तत्कालीन नेकपा विभाजित हुँदा नेकपा एमालेमा समाहित भएका चौधरीले नेकपा एमालेमा आफ्नो डिएनए नमिलेको टिप्पणी गरे । आफूलाई पार्टीभित्र सधैँ माओवादीको ट्याग लागिरहने गरेको भन्दै राजनीतिको नाममा पार्टीमा धन्दा चलाइरहेको समूहले व्यक्तिगत स्वार्थका कारण निलम्बन गरेको चौधरीको भनाइ थियो ।
जनताले भारी मत दिएर निर्वाचित जनप्रतिनिधिलाई कथित पार्टी नेतृत्वले पार्टी हितविपरीत काम गरेको आरोप लगाए पनि आफूले पार्टी र जनताको हितविपरीत कुनै पनि काम नगरेको उनले स्पष्ट पारे । पहिलेदेखि नै भित्रभित्रै आफूलाई धेरै प्रहार भएको, संघीय माननीय नै आफूविरुद्ध लागेको, जबर्जस्ती विरोध गर्न लगाइएको उनले बताएका थिए ।
आफूमाथिको निलम्बन नै औचित्यहीन र विधानविपरीत रहेको बताएका सांसद चौधरीले सबै कुरा आफूमातहतका कमिटीमा राख्ने, आवश्यक परे कानुनी उपचार जाने तयारी रहेको बताउँदै माथिल्ला कमिटीले कस्तो कदम चाल्छ भन्ने प्रतिक्षामा आफू रहेको बताए । पार्टीले कारबाही ग¥यो ?
अब पुनः माओवादीमै फर्किनुहुन्छ कि अन्य पार्टीतिर जानुहुन्छ त ? भन्ने प्रश्नमा उनले कारबाही नै आधिकारिक नभएकाले अहिले पनि नेकपा एमालेको सदस्य, कार्यकर्ता नै रहेको र कुनै पनि पार्टी प्रवेश नगर्ने जानकारी दिए । २०७९ को प्रदेशसभा निर्वाचनमा चौधरी बाँके क्षेत्र नम्बर १(२) बाट निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्