बाल सुधार गृहबाट भागे १२ जना बाल बिज्याइँकर्ता



नौबस्ता बाल सुधार गृहबाट करिब १५ दिनपछि फेरि १२ जना बाल बिज्याइँकर्ता बुधबार भागेका छन् । भागेका १२ जनामध्ये प्रहरीले रातिसम्म ९ जनालाई नियन्त्रणमा लिइसकेको छ । गत कात्तिक २६ गते भागेका तीनजना भने अझैसम्म भेटिएका छैनन् ।

बाँके ।

जिल्लाको बैजनाथ गाउँपालिका–३ स्थित नौबस्तामा रहेको नौबस्ता बाल सुधार गृहबाट फेरि १२ जना बाल बिज्याइँकर्ता भागेका छन् । बुधबार दिउँसो ४ः५० मा बाल सुधार गृहबाट १२ जना बालबिज्याइँकर्ता भागेका हुन् ।

नौबस्तास्थित सुविधासम्पन्न बाल सुधार गृहमा हाल रहेका १ सय १६ जना बाल बिज्याइँकर्तामध्ये १२ जना भागेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीले जानकारी दिए ।

एसपी कार्कीले मिसन टुडेलाई दिएको जानकारी अनुसार एउटा ब्लकबाट अर्को ब्लकमा सार्ने क्रममा बाल बिज्याइँकर्ताहरू भागेका हुन् । भागेका १२ जना बाल बिज्याइँकर्ताहरूमध्ये ९ जनालाई बाल सुधार गृह आसपासको क्षेत्रबाट केहीबेरमा नै नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

बाल बिज्याइँकर्ता भागेपछि ठूलो सङ्ख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो । बाल सुधार गृह आसपासका प्रहरी युनिटहरूका साथै इलाका प्रहरी कार्यालय कोहलपुर जिल्ला प्रहरी कार्यालय बाँकेबाट समेत सुरक्षाकर्मीहरू परिचालन गरिएको थियो ।

भागेकामध्ये ९ जना विभिन्न स्थानबाट भाग्दै गरेको अवस्थामा फेला परेका एसपी कार्कीले बुधबार राति मिसन टुडेलाई जानकारी दिए ।
‘भागेकामध्ये ९ जना नियन्त्रणमा आइसकेको अवस्था छ । फरार अन्य तीन जना बाल बिज्याइँकर्ताको खोजीका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ’ उनले भने, ‘खोजी कार्य जारी रहेको छ ।’

यसअघि कात्तिक २६ गते पनि यही बालसुधार गृहबाट तीन जना बालबिज्याइँकर्ता भागेका थिए । उनीहरू अझै पक्राउ पर्न सकेका छैनन् ।
‘नौबस्ता बालसुधार गृहमा रहेका बालबिज्याइँकर्तालाई छुट्टाछुट्टै ब्लकमा राखिएको हुन्छ । दिउँसो अर्को ब्लकमा सार्दा एउटाले प्रहरीलाई हातपात गरेको रहेछ । त्यही मौका छोपेर अरू पनि भागेछन्,’ एसपी कार्कीले मिसन टुडेसँग भने ।

बालसुधार गृहमा एक ब्लकमा प्रहरी ड्युटीमा हुन्छन् । ड्युटीवालाले हतियार बोक्नसमेत पाउँदैनन् । बुधबार पनि अर्को ब्लकमा सार्न खोज्दा एउटाले प्रहरीमाथि प्रहार गरेको र त्यही मौकामा अरू पनि भागेको उनले जानकारी दिए । हुलमा भागेकाले केहीबेर तनावको स्थिति सिर्जना भएको थियो । पछि ब्यापक प्रहरी परिचालन गरेर उनीहरूलाई भेटाउन सफल भएको एसपी कार्कीले बताए । भाग्नेहरूमा १६ देखि १८ वर्ष उमेर समूहका रहेका छन् ।

नौबस्ता बाल सुधार गृहको क्षमता अहिले २ सय ६४ जनाको रहेको छ । सरकारले बालसुधार गृह सुरक्षाका लागि सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३० जना सशस्त्र प्रहरी र नेपाल प्रहरीका २५ जना सुरक्षाकर्मी खटाएको छ ।

प्रकाशित मिति : २०८१ मंसिर १३ गते बिहीबार