इलाका प्रशासन कोहलपुरले उठायो ७८ लाख राजस्व



कोहलपुर ।

इलाका प्रशासन कार्यालय कोहलपुरले आव २०८१/०८२ को पछिल्लो चार महिनामा ७८ लाख १५ हजार रुपैयाँ राजस्व उठाउन सफल भएको छ । चालू आवको कात्तिक मसान्तसम्मको प्रगति विवरण सार्वजनिक गर्दै इलाका प्रशासन कार्यालय कोहलपुरले कात्तिक महिनामा मात्र २४ लाख ९५ हजार राजस्व उठेको जनाएको छ ।

चालू आवको असोज मसान्तसम्म तीन महिनामा ५३ लाख २० हजार रुपैयाँ राजस्व उठाएको इलाका प्रशासन कोहलपुरले कात्तिक महिनामा मात्र करिब त्यसको आधा २४ लाख ९५ हजार रुपैयाँ उठाउन सफल भएको छ ।

दसैँ र तिहारका बेला कार्यालय कम खुल्ने भए पनि सेवा प्रवाह बढी हुने गरेका कारण यो अवधिमा राजस्व पनि बढी उठ्ने गरेको इलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख मनोजकुमार चौधरीले जानकारी दिए ।

‘अघिपछि सामान्यतया दैनिक १५/२० वटा नागरिकता र पासपोर्ट इस्यु हुन्छन्,’ प्रमुख चौधरीले भने, ‘तर यो अवधिमा दैनिक ४०/५० वटा नागरिकता र त्यति नै सङ्ख्यामा पासपोर्ट इस्यु हुने गरेका छन् ।’ चाडबाडका बेला जिल्ला फर्केका मानिसहरूका कारण यो समयमा कार्यालयमा चाप बढी हुने गरेको उनले बताए ।

चालू आवको हालसम्ममा इलाका प्रशासन कार्यालय कोहलपुरले १ हजार २ सय ७८ जनालाई वंशजका आधारमा नागरिकता प्रदान गरेको छ । त्यसैगरी, ९ जनालाई वैवाहिक अंगीकृत नागरिकता, ७ जनालाई जन्मका आधारमा वंशज नागरिकता र १ हजार ५ सय ३ जनालाई नागरिकताको प्रतिलिपि प्रदान गरिएको छ । चालू आवको कात्तिक मसान्तसम्म कसैले पनि अंगीकृत नागरिकता नलिएको इलाका प्रशासन कार्यालय कोहलपुरले जनाएको छ ।

यो अवधिमा १ हजार १ सय ९० जनालाई राहदानी, ४ हजार ४ सय ४८ जनालाई राष्ट्रिय परिचयपत्र र ३५ जनालाई नाबालक परिचयपत्र वितरण गरिएको छ । त्यस्तै, ६१ जनाले जातीय सिफारिस प्राप्त गरेको प्रगति विवरणमा उल्लेख छ ।

इलाका प्रशासन कार्यालय कोहलपुरले कोहलपुर नगरपालिकाका साथै बैैजनाथ गाउँपालिका र राप्ती सोनारी गाउँपालिकाका केही वडाबासीलाई समेत प्रशासनिक सेवा प्रवाह गर्दै आएको छ ।

प्रकाशित मिति : २०८१ मंसिर ८ गते शनिबार