गुण्डा नाइके लरेन्सको नाममा धम्की दिने चिकित्सक पक्राउ



काठमाडौँ ।

अन्डरवल्र्ड नेटवर्कको एजेन्ट हुँ भन्दै विभिन्न व्यक्तिलाई ज्यान मार्ने धम्की दिएर रकम असुल्न खोजेको आरोपमा एक चिकित्सक पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले मंगलबार भोजपुरको भोजपुर नगरपालिका १ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका सानो गाँउ बस्ने डा. आशिष दाहाललाई पक्राउ गरेको हो ।

अपराध अनुसन्धान कार्यालयका अनुसार उनले काठमाडौँ उपत्यकाका विभिन्न व्यक्तिहरूलाई अन्डरवल्र्ड नेटवर्कको एजेन्ट हुँ भन्दै ह्वाटसेप मार्फत फोन गरेर धम्कि दिने गरेका थिए । उनले आफूले भने अनुसारको रकम नदिए बिहार लगायत अन्य ठाउँबाट कन्ट्रयाक्ट किलर भाडामा लिएर ज्यान मार्ने धम्कि दिने गरेका थिए ।

उनले ५० हजारदेखि २ लाखसम्म रकम माग गर्ने गरेको सूचना आएपछि टोलीले मंगलबार पक्राउ गरेर आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८१ मंसिर ६ गते बिहीबार