बाँसगढी प्रिमियर लिग–२०८१ : फाइनलमा भिड्दै ककौरा सुपर र बाँसगढी राइनोज



मधुर पौडेल । बाँसगढी ।

बाँसगढी प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता–२०८१ को दोस्रो संस्करणअन्तर्गतको आठौँ दिन बिहीबार भएको इलिमिनेटर खेल जित्दै बाँसगढी राइनोज फाइनलमा पुगेको छ । बाँसगढी राइनोज र एचबीएबीच भएको इलिमिनेटर खेलमा राइनोजले टस जितेर फिल्डिङ रोजेको थियो ।

पहिलो ब्याटिङमा उत्रिएको एचबीएले २० ओभरमा ९ बिकेट गुमाउँदै ११० रन जोडेको थियो । पहिलो इनिङमा एचबीएका सोलुप चौधरीले ५० रन तथा उज्ज्वल श्रेष्ठले ११ रन जोडे भने बाँसगढी राइनोजको बलिङतर्फ रेशम चापागाईंले ४ तथा सौजन सुवेदीले २ विकेट लिएका थिए ।

१११ रनको लक्ष्य पछ्याएको बाँसगढी राइनोजले १५.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टाउँदै ७ विकेटले जित हासिल ग¥यो । दोस्रो इनिङमा बाँसगढी राइनोजका केशव विष्टले ४७ रन तथा रोहन केसीले २४ रनको पारी खेले । बलिङतर्फ एचबीएका सुनील भण्डारी, युवराज वली तथा आकाश खत्रीले समान १–१ विकेट लिएका थिए ।

इलिमिनेटर खेलमा उत्कृष्ट बलिङ गरेका रेशम चापागाईं माधव एन्ड मनीष म्यान अफ दी म्याच घोषित भए । फाइनल खेल ३० गते शुक्रबार बिहान ११ बजे ककौरा सुपर किङ्स र बाँसगढी राइनोजबीच हुने आयोजक बाँसगढी क्रिकेट क्लबका सागर अधिकारीले जानकारी दिए ।

जिल्ला क्रिकेट संघ बर्दियाको समन्वय तथा बाँसगढी नगरपालिकाको सहयोगमा बाँसगढी क्रिकेट क्लबको आयोजनामा सो प्रतियोगिता सञ्चालन भइरहेको छ । प्रतियोगिताका विजेताले १ लाख ५० रूपैयाँ नगद तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २०८१ कात्तिक ३० गते शुक्रबार