चाडबाड सकिएसँगै भारत पस्ने नेपालीको लर्को



समीर अली बेहना । नेपालगन्ज ।

नेपाल भारत जोड्ने नेपालगन्ज भन्सार नाकामा यतिबेला निकै मान्छेहरूको चाप बढेको छ । दसैँ तिहार मनाउन स्वदेश फर्केका नेपालीहरू भारततिर फर्किन सुरु गरेका छन् । बिहानदेखि साँझसम्म मान्छेहरूको हुलैहुल नाकाबाट पारि जान्छ । नेपालको उत्तर पश्चिमी जिल्लाहरूबाट नेपाली नागरिक ठूलो सङ्ख्यामा भारतका विभिन्न सहरमा कामको खोजीमा जान्छन् ।

सुर्खेतको चौकुने गाउँपालिका बोडेचौर बस्ने ४४ वर्षीय भरत थापा उत्तर काशीको एउटा होटलमा काम गर्छन् । उनको परिवारमा २ छोरा ३ छोरीसहित ७ जनाको परिवार छ । जेठो छोरासहित ऊनी उत्तर काशीमा काम गर्न हिँडेको बताउँछन् ।

मिसन टुडेसँगको संवादमा भरतले आफ्नो दुखेसो पोख्दै भने, ‘यहाँ काम भए हामीलाई बाहिर जाने कुनै रहर छैन । छोरोलाई दुःख गरी पढाइयो, एउटा जागिर पाउन गाह्रो भएछ । घरमा त्यसै बस्नुभन्दा केही काम गर्नु ठीक हो । त्यसैले यसपटक छोरो सँगै लगियो ।’

यति भन्दै गर्दा उनको मुहारमा चिन्तासहितको मुस्कान थियो । भरतका अनुसार परिवार ठूलो भएपछि एक्लै खर्च जुटाउन गाह्रो भएको छ । भरतकी जेठी छोरी कक्षा ९ मा, माइली छोरी ७ र कान्छी छोरी ५ कक्षामा पढ्दै छन् । कान्छो छोरो अहिले विद्यालय जाँदैन । श्रीमतीले छोराछोरी र खेतबारी हेर्ने गरेको उनले जानकारी दिए ।

त्यस्तै, हीरालाल विश्वकर्मा पनि पर्व मनाएर भारतको मुम्बई सहरमा काम गर्न जान लागेको बताउँछन् । २९ वर्षीय हीरा बारबर्दियाको दुद्यामा बस्छन् । हीरा पहिलो पटक नेपाल बाहिर काम गर्न जान लागेका हुन् । उनको परिवारमा आमाबुबासहित ६ जना सदस्य छन् । हीरालालका २ वर्षका छोरा छन् जुन काम गर्ने उमेरमा छैनन् । हीराले सानो होटल चलाउँदै आएका थिए ।

गाउँघरमा होटलबाट आएको आय अपुग भएपछि बाहिर जाने सोच बनाएको उनको भनाइ छ । हीरालाल भन्दा पहिला उनका छिमेकीहरू मुम्बईमा काम गरिसकेकाले हीरालाई काम खोज्ने झन्झट भएन । हीराका साथी लोकबहादुर बस्नेत भारतको मुम्बई सहरमा पर्ने नासिकको होटलमा काम गर्छन् । उनी पहिलेदेखि काम गर्ने स्थानमा कुकको आवश्यकता भएकाले साथीलाई सँगै लगेको बताउँछन् ।

दसैँ तिहार मनाएर कामको खोजीमा हिँडेका अधिकांश नेपाली नागरिकहरूले नेपालमै काम पाए सजिलो हुने बताउँछन् । रोजगारी नभएपछि भारतमा कामको खोजीमा हिँड्नु बाध्यता भएको उनीहरूले बताए । केही व्यक्तिले आक्रोशसहित देशमा लुटेरा नेताहरू भएकाले कुनै अवसर नपाएको धारणासमेत राखे । भारत पस्ने अधिकांश नेपालीको गुनासो र आक्रोश सरकारसँग छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक २९ गते बिहीबार