मधुर पौडेल । बाँसगढी ।
बाँसगढी प्रिमियर लिग टी–२० क्रिकेट प्रतियोगिता–२०८१ को दोस्रो संस्करणअन्तर्गतको पाँचौँ दिन आइतबार दुई खेल सम्पन्न भएका छन् । जसमा बाँसगढी राइनोज र ककौरा सुपर किङ्स विजयी भएका छन् । बाँसगढी राइनोज र बाँसगढी रोयल टाइगर्सबीच भएको पहिलो खेलमा रोयल टाइगर्सले टस जितेर व्याटिङ रोजेको थियो ।
पहिलो ब्याटिङमा उत्रिएको रोयल टाइगर्सले १६.४ ओभरमा १० बिकेट गुमाउँदै ८५ रन जोडेको थियो । पहिलो इनिङमा रोयल टाइगर्सका समिर आचार्यले ३३ रन जोडे भने बाँसगढी राइनोजको बलिङतर्फ कप्तान सिद्धान्तराज शाहीले ४ ओभरमा १ मेडन राख्दै ३ रन खर्चिएर ३ विकेट लिएका थिए ।
८६ रनको लक्ष्य पछ्याएको बाँसगढी राइनोजले १८.३ ओभरमा ५ बिकेट गुमाएर लक्ष्य भेट्टाउँदै ५ विकेटले बाँसगढी रोयल टाइगर्सलाई हराएको थियो । दोस्रो इनिङमा राइनोजका हेमन्त आचार्यले २२ तथा केशव बिष्टले १४ रन जोडेका थिए भने बलिङतर्फ रोयल टाइगर्सका ट्रेभिस जोसीले ३ विकेट लिएका थिए ।
पहिलो म्याचमा किफायती बलिङ गरेका राइनोजका कप्तान सिद्धान्तराज शाही माधव एन्ड मनीष म्यान अफ दी म्याच घोषित भए ।
आइतबारै भएको ककौरा सुपर किङ्स र एचबीएबीचको दोस्रो खेलमा ककौेराले टस जितेर ब्याटिङ रोजेको थियो । ककौराले २० ओभरमा १० विकेट गुमाउँदै १०४ रन जोड्न सफल भएको थियो । जसमा ककौराका दिपेश भुषालले २१ रन, अजय सहानीले १४ रनको योगदान दिए । बलिङतर्फ एचबीएका सोलुप चौधरीले ४ ओभरमा १३ रन खर्चिएर ५ विकेट लिन सफल भएका थिए ।
जबाफी ब्याटिङमा उत्रिएको एचबीएले १०.१ ओभर १० विकेट गुमाएर ६४ रन मात्रै जोड्न सकेको थियो । फलतः ककौेरा सुपर किङ्स ४० रनले विजयी भयो । ब्याटिङतर्फ एचबीएका सुनील भण्डारीले २३ रन जोडे भने बलिङतर्फ ककौराका अजय सहानी, सौगात खत्री र सुदीप रानाले समान ३–३ विकेट लिए । दोस्रो म्याचमा ह्याट्रिक लिएका अजय सहानीले माधव एन्ड मनीष म्यान अफ दी म्याच अवार्ड पाए ।
प्रतियोगिताको छैटौँ दिन आज पनि दुई वटा खेल हुँदै छन् । पहिलो खेल बाँसगढी रोयल टाइगर्स र एचबीएबीच हुनेछ भने दोस्रो खेल बाँसगढी राइनोज र ककौरा सुपर किङ्सबीच हुने आयोजक बाँसगढी क्रिकेट क्लबका सागर अधिकारीले जानकारी दिए ।
बडादसैं, शुभ दीपावली तथा छठ पर्वका अवसरमा जिल्ला क्रिकेट संघ बर्दियाको समन्वय तथा बाँसगढी नगरपालिकाको सहयोगमा बाँसगढी क्रिकेट क्लबको आयोजनामा सो प्रतियोगिता सञ्चालन भइरहेको छ । प्रतियोगिताका विजेताले १ लाख ५० रूपैयाँ नगद तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस्