पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले समय दिएको छ । कास्की जिल्ला अदालतले आइतबार उनलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्कीलाई समय दिएको हो ।
आइतबार जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेमाथि अनुसन्धान गर्न थप १३ दिनको अनुमति दिएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले बताए ।
लामिछाने सहकारी ठगी प्रकरणमा कात्तिक २ गते काठमाडौँस्थित पार्टी कार्यालयबाटै पक्राउ परेका थिए । यसअघि कात्तिक २ गते पक्राउ परेका उनलाई कात्तिक ४ गते पहिलो पटक ६ दिन, कात्तिक ८ गते ७ दिन र कात्तिक २० गते कात्तिक १५ गतेबाट लागू हुनेगरी १० दिन म्याद थप गरेको थियो ।
लामिछानेमाथि प्रहरीले सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गरिरहेको छ । पूर्वगृहमन्त्रीसमेत रहेका गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक तथा सञ्चालक रविसँगै गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी, नेचर हर्बस्का सञ्चालक रामबहादुर खनाल र जीबी राईसँग मिलेर रकम हिनामिना गरेको आरोपमा पक्राउ लिला पछाईंलाई १३ दिनको म्याद थप भएको छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा र जीबी राईसँग मिलेर अपचलन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । पोखराको सूर्यदर्शन सहकारीबाट करिब डेढ अर्ब अपचलन भएको छ ।
जसमा गोर्खा मिडियामा ५ करोड रुपैयाँ गएको भन्दै रविसहित छविलाल, जीबी राई, कुमार रम्तेललाई कारबाही गर्न संसदीय छानबिन विशेष समितिले सिफारिस गरेको थियो । रवि, छविमाथि अहिले अनुसन्धान भइरहेको छ भने कुरा पुर्पक्षका लागि कास्की कारागारमै छन् । जीबी भने अहिलेसम्म फरार छन् ।
प्रतिक्रिया दिनुहोस्