राप्ती सोनारी र मधुवनमा वातावरणीय न्यायका क्षेत्रमा अभियान सुरु



बाँके ।

नेपालगन्जस्थित समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन)ले वातावरणीय न्यायका क्षेत्रमा अभियान सुरु गरेको छ ।

वन्यजन्तु र बन क्षेत्रबाट प्रभावित स्थानीयहरूमा सचेतना र क्षतिपूर्ति प्राप्तिमा सहजीकरण गर्ने उद्देश्यले ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सीमान्तकृत समुदायको सबलीकरण’ अभियान सुरु गरेको संस्थाका कार्यकारी निर्देशक तुला अधिकारीले जानकारी दिए ।

उनका अनुसार अभियानले प्रभावित क्षेत्रका समुदायलाई सूसुचित, सजग र संगठित गरेर उनीहरूको आवाजलाई सबल बनाउने र आफ्नो अधिकारको वकालत गर्न सक्रिय बनाउनुका साथै सरोकारवाला सरकारी अधिकारीहरूलाई जवाफदेही र उत्तरदायी बनाउन नागरिक तहबाट संगठित प्रयास गर्नेछ ।

बाँकेको राप्ती सोनारी गाउँपालिकाको एउटा र बर्दियाको मधुवन नगरपालिकाको एउटा गरी दुईवटा वडामा यो अभियान सञ्चालन हुन लागेको हो । विभिन्न सूचकका आधारमा स्थलगत अध्ययनबाट आएको तथ्यबाट दुवै पालिकाका वडा नम्बर २ मा यस्तो अभियान सञ्चालन गरिन लागेको अधिकारीले बताए ।

सीसीएनले अभियानको सुरुमा दुवै पालिकामा सरोकारवालाहरूसँग समन्वय बैठक गरेको छ । राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर २ मा आयोजित समन्वय बैठकमा पालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले वन्यजन्तु प्रभावित समुदायलाई सबल र सरोकारवाला निकायलाई जवाफदेहि बनाउन मद्दत पुग्ने बताएका थिए ।

मधुवन नगरपालिकाको वडा नम्बर २ को कार्यालयमा समन्वय बैठक गरिएको थियो । मधुवन नगरपालिकाका नगर प्रमुख तेजबहादुर भाटले सीसीएनले समुदायका लागि महत्वपूर्ण अभियान सुरु गरेको भन्दै स्थानीय सरकारका तर्फबाट आफ्नो प्रतिवद्धता जनाए । समन्वय बैठकमा प्रहरी, बन, निकुञ्ज, बढघर, विद्यालय, क्लब लगायतका सरोकारवाला अगुवाको सहभागिता रहेको थियो ।

सीसीएनका अनुसार अभियानका क्रममा गोल घर सम्वाद, विद्यालय सम्वाद, शुक्रबार वन्यजन्तु बार, क्लब चौतारी जस्ता कार्यक्रममार्फत् स्थानीय र विद्यार्थीहरूलाई दायित्व र अधिकार तथा कानुनी व्यवस्था र क्षतिपूर्ति लिने उपायका बारेमा सचेतना गरिनेछ ।

युएसएआइडी/द एसिया फाउण्डेशनद्वारा सञ्चालित ‘नागरिक समाज र मिडिया’ परियोजनाको साझेदारीमा अभियानको सुरु भएको अधिकारीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक २४ गते शनिबार