जीतबहादुर शाह ।
सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतलगायतका कर्मचारी साथीहरूसँग डडेल्धुराको सदरमुकाम जाने अवसर जु¥यो । मैले सुदूरपश्चिमको पहाडमा त्यति सघन बस्ती र त्यति राम्रो बजार होला भन्ने सोचेको पनि रहेनछु । अघिल्लो महिना कालीकोटको रास्कोट पुग्दा पनि त्यस्तै अनुभूति भएको थियो ।
दीपावलीले पनि मिचेर ल्याएकाले होला, सीवाईसीका साथीहरूको कार्यक्रम पनि बेहदसँग प्याक रहेछ । कात्तिक १३ गते बेलुका ६ बजेसम्म डडेल्धुराको सदरमुकाममा भएको सीवाईसी नेपालको टिमले भोलिपल्ट १४ गते बिहान ८ बजे कर्णाली प्रदेशको वीरेन्द्रनगरमा त्यस्तै कार्यक्रम भ्याउन जानुपर्ने ।
जसरी पनि जानुपर्ने भएपछि उक्त टिम र उक्त टिममा जोडिएको यो पङ्क्तिकारको बेलुका ६ बजे डडेल्धुराबाट यात्रा सुरु भयो । संयोग पनि त्यस्तै परेछ । ठीक ६ घण्टाको यात्रापछि हामी ठीक रातिको १२ बजे अर्थात मोबाइलमा जिरोजिरो दशमलव जिरोजिरो हुँदा हामी कर्णालीको चिसापानीको पुलमाथि गुड्दै थियौँ ।
बिहान ३.३० तिर सुर्खेतको वीरेन्द्रनगर पुगियो । कोठामा गएर निदाउने प्रयत्न गरियो । तथापि त्यति मीठो निद्रा लागेन । एक घण्टा पनि राम्रोसँग नसुतेर उठियो । उज्यालो हँुदै र घाम चर्किंदै गएपछि भने शरीरमा नराम्रोसँग बेचैनी बढ्न थाल्यो । टाउको दुःखेजस्तो भयो, हिँड्दा रिङ्टा लागेजस्तो पनि भयो । जिउ भारी भयो । तन र मनमा कता कता औडाहा र चिडचिडाहटपन दौडिएजस्तो अनुभूत भइरह्यो ।
बाल्यावस्था र युवाअवस्थामा कामविशेषले कहिलेकाहीँ अनिँदो पनि बसिएकै हो । केही दशकयता भने छर्लङ्ग बिहान हुने गरी ननिदाएको अवस्था सम्झनामा छैन । त्यस्तै, अनिँदोमा सीवाईसीको कार्यक्रममा खुसी र स्वव्यवस्थापनको बारेमा प्रशिक्षक हुने सङ्जोग जु¥यो । मलाई त साँच्चि यो कक्षामा अगाडि गएर उभिनसमेत लज्जाबोध भयो । मदिरा सेवन गर्नेले मदिराको बेफाइदाको विषयमा क्लास लिन अघि सरेजस्तो आभास भयो आफैँलाई । जसले निद्राको व्यवस्थापन गर्न सकेको छैन, उसले अनिँदो शरीर अगाडि प्रदर्शन गरेर स्वव्यवस्थापन र खुसीको बारेमा बक्नु पर्दा रामोराम हुनसम्म मुस्किल भयो । तथापि कर्तव्य पूरा गर्नु थियो, मुटुमाथि ढुङ्गा राखेर पनि त्यो काम गरेँ ।
उल्लिखित दृष्टान्तबाट कसैले पनि त्यति महत्त्व नदिएको झैँ लाग्ने निद्राको महत्त्वको बारेमा घोत्लिन मन लाग्यो । साँच्चि मानिसलाई बढी होइन लगातार तीन रातसम्म सुत्न दिइएन भने के हुन्छ होला भन्ने कुरालाई गहिरोसँग मन्थन गर्न मन लाग्यो । अध्ययन र मन्थन गर्दै जाँदा कुनै बेला चीनमा विभिन्न अपराधमा जेल र हिरासतसम्म पुग्नेहरूलाई खाना दिने तर सुत्न नदिने गरी सजाय दिइने गरेको कुरा पनि जानकारीमा आयो ।
अनलाइन पत्रिकाहरू हेर्दै जाँदा बीबीसी विश्वसेवाका लेखक इभा ओन्टिभेरोसले प्राध्यापक वाकरले लेखेको ‘हामी किन सुत्छौँ ?’ भन्ने किताबबाट साभार गरी लेखेको आलेखलाई समेत सरसर्ती अध्ययन गर्ने अवसर पाएँ । यसका साथै वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्यायको अनलाइन पत्रिकामा भेटिएको लेख पनि पढ्ने अवसर मिल्यो ।
रेकी ऊर्जाका विज्ञ समीर पोख्रेलले रेकी ऊर्जाकै कुरा गर्ने सन्दर्भमा निद्राको आवश्यकता र महत्त्वका बारेमा समेत प्रसङ्ग मिलाएर धेरै कुराहरू गर्नुभएको थियो, उहाँको भनाइको सारभूत तथ्य यस्तो थियो– ‘मानिसलाई निद्रा लाग्न योगदान गर्ने हार्मोन भनेको मेलोटोनिन हार्मोन हो । यो हार्मोन बालबालिकामा धेरै हुन्छ र त्यसैले बालबालिकाहरू धेरै सुत्छन् । उमेर बढ्ने क्रममा शरीरमा यो हर्मोन क्रमशः घट्दै जान्छ । फलस्वरूप उमेर बढ्दै जाने क्रममा निद्रा पनि प्राकृतिक हिसाबले घट्दै जान्छ ।
हामी जतिबेला गहिरो निद्रामा पुग्छौँ त्यतिबेला हाम्रो अवचेतन मस्तिष्क सक्रिय हुन्छ । जब हाम्रो अवचेतन मस्तिष्क सक्रिय हुन्छ, हाम्रो कनेक्सन ब्रह्माण्डीय ऊर्जा अर्थात प्राकृतिक ऊर्जासँग हुने गर्दछ । आध्यात्मिक चिन्तनको हिसाबले परमात्मासँग सम्बन्ध हुने गर्दछ । यसरी निदाउने गरेको मानिस बिहान उठ्दा हल्का, फूर्तिलो र ऊर्जावान महसुस गर्दछ । किनभने प्रकृतिबाट ऊर्जा मिल्छ जसरी रेकी गर्दा मानिसको सहस्रा चक्र (मध्य मस्तिष्क) बाट हत्केला हुँदै शरीरका विभिन्न अङ्ग र चक्रहरूमा ऊर्जा प्राप्त हुन्छ ।
यसरी गहिरो निद्रा अर्थात डेल्टा स्टेजमा देखिने सपनाहरू पनि धेरै हदसम्म सत्यको नजिक हुने गर्दछन् । अवचेतन मस्तिष्क अर्थात सुपर कन्सस माइन्ड सक्रिय हुने मानिसहरू मानवबाट देवत्वमा परिणत हुने गर्दछन् जसरी गौतम बुद्ध, ओशो रजनीसलगायतका मानिसहरू परिणत भए ।’
गहिरो निद्राको यति धेरै महत्त्व छ तथापि हामी निद्रालाई त्यति ख्याल गर्दैनौँ । जीवनका आधारभूत कुराहरूको हिसाब गर्दासमेत निद्रा प्राथमिकतामा परेको देखिँदैन । त्यसमा पनि अझै हामी मानिसहरू निद्रा बढाउने भन्दा निद्रा घटाउने आनीबानीमा लिप्त भइरहेका देखिन्छौँ । मानवजाति एउटा मात्रै त्यस्तो प्रजाति हो जसले जानी–जानी आफ्नो सुत्ने समय घटाएर अन्य उद्देश्य पूरा गर्नतिर उद्यत हुन्छ ।
विकसित तथा औद्योगिकरण भएका मुलुकहरूमा निद्रा नलाग्ने समस्याले जनस्वास्थ्यमा ठूलो समस्याको रूप लिँदै छ । सत्य साइबाबाको अभ्यूदय शिक्षासम्बन्धी पुस्तकमा विश्वका मानिसहरूले सपनाको सहर भन्दै आएको अमेरिकाको न्युयोर्कमा बस्ने ३० प्रतिशत मानिस स्लिपिङ ट्याब्लेट खाएर सुत्ने गर्दछन् भनी लेखिएको छ । विदेशतिर निद्रा लाग्ने औषधिहरूको धेरै प्रयोग हुने गरेको छ ।
अमेरिकामा काम गर्ने डाक्टरहरूलाई बिरामीहरूले नै निद्रा लाग्ने फलानो औषधिको प्रेसक्रिप्सन लेखिदिन भनी अनुरोध गर्दछन् । हिजोआज नेपालमा पनि बिनाप्रेसक्रिप्सन निद्रा लाग्ने औषधी बेच्न नपाइने भएपछि बिरामीहरूले पे्रसक्रिप्सन खोज्ने क्रम बढ्दो छ । तथापि निद्रा लाग्ने औषधिका साइड इफेक्टहरू भने बग्रेल्ती छन् ।
सामान्यतया मानिसहरू ६ घण्टादेखि ८ घण्टासम्म सुत्नु आवश्यक छ । कम उमेरकाहरू ८ घण्टा र बढी उमेरकाहरू ६ घण्टा । बिना कुनै औषधीको प्रयोग मानिसहरू प्राकृतिक हिसाबले नै यो भन्दा बढी सुत्यो भने खासै फरक पर्दैन तर माथि तोकिएभन्दा कम सुत्यो भने उसलाई विभिन्न समस्याहरू देखा पर्न सक्छन् । मेरा एक जना सन्तानलाई कुनै दबाब दिन्न भन्ने मित्रले आफ्नो प्लस टुमा अध्ययन गर्ने सन्तानलाई टेलिफोनमा भनिरहेका थिए– ‘बेलुका ११ बजे सुतिहाल्नु । बिहान बरु ३ बजे उठेर पढ्दा हुन्छ ।’
मलाई लाग्यो, कम्तिमा ७ घण्टा सुत्नुपर्ने उमेरको सन्तानलाई ४ घण्टा बढी नसुत्ने गरी दिएको सल्लाह नै सबैभन्दा ठूलो दबाब हो । दैनिक ५ घण्टाभन्दा कम सुत्नेहरूमा मधुमेह, उच्च रक्तचाप, हृदयाघात, चिन्ता रोग, डिप्रेसन र मोटोपन जस्ता समस्याहरू हुन्छन् भन्ने शोधकर्ताहरूको निष्कर्ष छ । दैनिक ४ घण्टाभन्दा कम सुत्नेहरूमा विभिन्न किसिमका क्यान्सरहरूको खतरा बढ्ने समस्या हुन्छ, जस्तै ठूलो आन्द्रा, प्रोस्टेट र ब्रेस्ट क्यान्सर आदि । रातिको बदला दिउँसो सुत्ने र दिउँसोको बदला राति काम गर्नेहरूलाई पनि स्वास्थ्यसम्बन्धी समस्याहरू देखिएका कुरा अनुसन्धानहरूबाट पत्ता लागेका छन् ।
माथिका दृष्टान्तहरूबाट स्पष्ट हुन्छ कि शारीरिक र मानसिक निरोगिताका लागि सुत्नु आवश्यक छ, त्यो पनि गहिरो निद्रा भए त झन् सुनमा सुगन्ध । तथापि सुत्न चाहेर पनि निद्रा लागेन भने गर्ने के ? अनुसन्धानहरूबाट धेरै कुराहरू पत्ता लागेका छन् । प्रो. वाकरका अनुसार पहिलो कुरा, निश्चित रुटिन बनाएर निदाउनुपर्छ । रुटिनलाई हामीले तलमाथि बनायौँ भने निद्रा नलाग्ने सम्भावना बढ्छ । दोस्रो कुरा, अँध्यारो बढाउनुपर्दछ । निस्पट्ट अँध्यारो भयो भने सुत्नलाई सहयोग गर्ने मेलाटोनिन् हर्मोन बढ्छ, यसको विपरित निलो प्रकाश फाल्ने डिजिटल डिभाइसहरूको प्रयोग सुत्नु पूर्व कम्तिमा आधा घण्टा अघि नै बन्द गर्नुपर्छ ।
तेस्रो कुरा, सुत्ने समयमा कोठाको साथै तन र मनको समेत तापक्रम घटाउनु पर्दछ । चौथो कुरा, चिया र त्यसमा पनि कफिको प्रयोग कम गर्नुपर्छ । पाँचौं कुरा, मदिराको बारेमा विचार गर्नुहोस् । यसले गहिरो एवम् प्राकृतिक निद्रालाई बाधा पु¥याउँछ । मदिरा सेवन गरेर लाग्ने निद्राले पनि राम्रो गर्दैन, त्यो पनि एक प्रकारको निद्राको औषधि प्रयोग गरेर लाग्ने निद्राजस्तै हो । छैटौँ कुरा, बिछ्यौनालाई अन्य कामहरू जस्तै– खाना खाने, अध्ययन गर्ने, गफ गर्ने थलो नबनाएर मात्र सुत्ने थलो बनाइयो भने ओछ्यानमा जाने बित्तिकै प्राकृतिक रूपले निद्रा आउने बानीको विकास हुन्छ ।
प्राकृतिक चिकित्सा एवम् पूर्वीय दर्शनका आधारमा भन्नु पर्दा निद्राको समयमा मन सकारात्मक सोचले ओतप्रोत हुनुपर्दछ । कुनै कुराको सम्झना आयो भने पनि त्यस्ता सम्झनामा आउने कुराहरूले चिन्ता र पीडा होइन कि खुसी ल्याएर आउनुपर्दछ । यस्तो अवस्थाका दुःख दिएका मान्छे र दुःख पाएका घटनाहरू भन्दा पनि खुसी दिएका मान्छे र खुसी प्राप्त भएका घटनाहरू सम्झनामा आउनुपर्छ ।
कहिलेकाहीँ यति गर्दा पनि निद्रालाई आमन्त्रण गर्न सकिएन भने सुत्ने समयमा शरीर हल्का थाक्ने गरी प्राणायाम र व्यायाम गर्नुपर्दछ । आँखा चिम्लिएर लामो श्वास लिने र फ्याँक्ने गर्नुपर्दछ । काम, क्रोध, लोभ, मोह, हिंसा र अहंकारजस्ता कुराहरूबाट मन र मस्तिष्कलाई अलग गर्न सक्नुपर्दछ । गीत र सङ्गीत सुन्न मन पर्ने मानिसहरूले गीत र सङ्गीतको मीठो र सुमधुर धुन सुन्दै निद्रालाई आमन्त्रण गर्दा पनि निद्रा आउने गर्दछ ।
सारमा भन्नु पर्दा, निद्रा जीवनका लागि एउटा महत्त्वपूर्ण पाटो हो । हामीले भन्ने गर्दा जीवनका लागि आवश्यक पर्ने कुराहरूमा गास, बास, कपासजस्ता कुराहरू दृष्टिमा देखिए पनि निद्रा झन् महत्त्पूर्ण पक्ष हो । वायुजस्तै हो निद्रा पनि । हामीले जसलाई पाउँदासम्म त्यति ख्याल गर्दैनौँ तर अभाव भयो भने एकछिन पनि शान्तिपूर्वक बाँच्न सक्दैनौँ । त्यसैले पनि निद्रालाई निरोगिता र आरोग्यताका लागि अभिन्न अङ्गको रूपमा स्वीकार गर्नुपर्छ ।
निद्राका निम्ति माथि उल्लेख गरिएझैँ प्राध्यापक वाकर र पूर्वीय दर्शन दुवैले उजागर गरेका कुराहरू अन्तरघुलन गरेर प्रयोग गर्न सक्न्नुपर्दछ । अन्यथा अनिद्राले अहिले नहोला तर यसले दीर्घकालीन रूपमा शारीरिक र मानसिक रूपमा गम्भीर असरहरू पु¥याउने गर्दछ । यसरी निद्राको महत्त्व र उपादेयतालाई गम्भीर रूपले आत्मसात् गर्न सकिएन भने बीबीसी विश्वसेवाका लेखक इभा ओन्टिभेरोसले भनेझैँ निद्रा जति थोरै सुतिन्छ, उति छिट्टै मरिन्छ भन्ने कुरालाई स्वीकार गर्नुबाहेक जीवनमा अर्को विकल्प देखिँदैन ।









प्रतिक्रिया दिनुहोस्