घटे भारतीय र चिनियाँ पर्यटक



सन् २०२४ को १० महिनामा ९ लाख ४० हजार ७ सय ३२ विदेशी पर्यटक नेपाल आउँदा भारतीय र चिनियाँ पर्यटकको सङ्ख्या घटेको छ । यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.४ प्रतिशतले बढी हो । अमेरिकी पर्यटक बढ्दा मनसुनका कारण भारतीय र चिनियाँ पर्यटक घटेको अनुमान गरिएको छ ।

काठमाडौँ ।

सन् २०२४ को १० महिनामा ९ लाख ४० हजार ७ सय ३२ विदेशी पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार अक्टोबरमा कुल १ लाख २४ हजार ३ सय ९३ विदेशी पर्यटक आएका छन् ।

यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.४ प्रतिशतले बढी हो । सन् २०२३ को अक्टोबरमा १ लाख १७ हजार ३ सय ६ पर्यटक आएका थिए । कोभिड–१९ (कोरोना महामारी) पूर्व अर्थात सन् २०१९ को तुलनामा ९२ दशमलव ९६ प्रतिशतले पर्यटकको सङ्ख्यामा पुनरुत्थान भएको बोर्डले जनाएको छ ।

सन् २०१९ को अक्टोबरमा १ लाख ३४ हजार ९६ विदेशी पर्यटक आएका थिए । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार समग्रमा विदेशी पर्यटक आगमन सन्तोषजनक छ । ‘समग्रमा पर्यटक आगमन सकारात्मक देखिन्छ । अक्टोबरमा आशातीत पर्यटक आउन सकेनन्, किनकि महिनाको सुरुआतमै अविरल वर्षाले विपद्जन्य घटना भयो ।

अबको दुई महिनामा पर्यटक बढ्ने अनुमान गर्न सकिन्छ,’ उनले भने । बोर्डको विश्लेषणमा अगष्ट, सेप्टेम्बार र अक्टोबरमा भारतबाट आउने पर्यटक घटेका छन् । पछिल्ला दुई महिनामा चीनबाट आउने पर्यटक पनि घटे । अक्टोबरमा भारतबाट १६ हजार ३ सय १३ पर्यटक आएका छन् । गत सेप्टेम्बरमा भारतबाट २२ हजार ९ सय ८४ पर्यटक आएका थिए । यो करिब १३ प्रतिशत गिरावट हो ।

अगस्टमा २५ हजार ८ सय ३२ भारतीय पर्यटक आएका थिए । अक्टोबरमा चीनबाट आएका ७ हजार ७ सय ५० पर्यटकले नेपाल भ्रमण गरेका छन् । सेप्टेम्बरमा ८ हजार ४२ र अगस्टमा चीनबाट ६ हजार ६ सय १४ चिनियाँ पर्यटक आएका थिए । मनसुनका कारण भारतीय र चिनियाँ पर्यटक घटेको अनुमान गरिएको छ ।

अक्टोबरमा अमेरिकाबाट आउने पर्यटकको सङ्ख्या अघिल्लो महिनाको तुलनामा १२ दशमलव ८८ प्रतिशतले बढेर कुल १६ हजार २३ पुगेको छ । सेप्टेम्बरमा १० हजार ८४ अमेरिकी पर्यटक भित्रिएका थिए । बेलायतबाट ८ हजार १९ पर्यटक नेपाल भित्रिएका छन् । अष्ट्रेलियाबाट ६ हजार ९ सय २९, जर्मनीबाट ६ हजार १८ र फ्रान्सबाट ५ हजार ४ सय ८५ पर्यटक आएका छन् ।

बंगलादेशबाट ४ हजार ४ सय ७६, श्रीलंकाबाट ३ हजार १ सय १२ र इटालीबाट २ हजार ६ सय ३५ पर्यटक आएका छन् । मार्चमा सबैभन्दा बढी १ लाख २८ हजार १ सय ६७ पर्यटक आएका छन् भने सबैभन्दा कम जुलाईमा ६४ हजार ५ सय ९९ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
अक्टोबरमा १ लाख २४ हजार ३ सय ९३ अप्रिलमा १ लाख ११ हजार ३ हजार ७६ पर्यटक आएका थिए ।

सेप्टेम्बरमा ९६ हजार ३ सय पाँच, जनवरीमा ७९ हजार १ सय, फेब्रुअरीमा ९७ हजार ४ सय २६, मेमा ९० हजार २ सय ११, जुनमा ७६ हजार ७ सय ३६ र अगस्टमा ७२ हजार ७ सय १९ पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक २२ गते बिहीबार