सुर्खेत ।
रारा विमानस्थलमा निर्माणाधीन टर्मिनल भवन अन्तिम चरणमा पुगेको छ । खानेपानी तथा सरसफाइ, रङरोगनबाहेक भवन निर्माणका सबै काम सकिएसँगै टर्मिनल भवन अन्तिम चरणमा पुगेको हो । भवन निर्माणको निर्धारित समयावधिमा काम सम्पन्न नभएपछि पटकपटक गरी चारपटक म्याद थप गरिएको थियो ।
विमानस्थलस्थित टर्मिनल बिल्डिङ एन्ड कन्ट्रोल टावरका आयोजना प्रमुख महेश नेपालीले हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको बताए । निर्माण कम्पनीका प्रतिनिधि विवेक श्रेष्ठका अनुसार मौसमले साथ नदिएको अवस्थामा बाहेक करिब ३० दिनभित्र बाँकी काम सम्पन्न गरी भवन हस्तान्तरण गर्नेगरी काम भइरहेको छ । भौगोलिक कठिनाइ, यातायातको असुविधा, विभिन्न समयमा वर्षाले बाटो अवरुद्ध हुनु, दक्ष कामदारको अभावलगायत कारणले निर्माण समय सम्पन्न गर्न नसकिएको उनले बताए ।
सुविधासम्पन्न ट्रमिनल भवन, यात्री सहायता कक्ष र प्रतीक्षालय नहुँदा विमानस्थलबाट बाहिरिने र भित्रिने यात्रीले चर्को घाम लाग्दा, झरी, हिउँ पर्दा तथा जाडोयाममा सास्ती भोग्दै आएका छन् । नागरिक उड्डयन कार्यालयले लामो समयदेखि काठको टहराबाट ‘एयर ट्राफिक कन्ट्रोल’को कार्य गर्दै आएको छ ।
१६ असोज २०७६ मा नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत एरोड्रम इन्जिनियरिङ विभाग र ओम बुद्ध इन्टरनेसनल प्रालिबीच ट्रमिनल भवन निर्माणका लागि सम्झौता भई सोही वर्षको कात्तिक १ गतेदेखि काम थालिएको थियो । विभिन्न बहाना बनाउँदै पहिलो सम्झौता अवधिको तीन वर्षमा काम सम्पन्न नभएपछि हालसम्म चारपटक म्याद गरिएको आयोजना प्रमुख नेपालीले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्