कालिज पालनमा रमाउँदै स्वास्थ्यकर्मी



बागलुङ ।

ढोरपाटन नगरपालिका–२ सलामकोटका चूडामणि कँडेलले ६ वर्षदेखि कालिजपालन गरिरहेका छन् । पेसाले स्वास्थ्यकर्मी कँडेल बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत छन् । उनी कार्यालयबाहेकका समय कालिज फार्ममा खटिन्छन् ।

कँडेलले काभ्रेपलाञ्चोकबाट तीन पोथी र एउटा भाले कालिज लिएर कालिजपालन सुरु गरेका थिए । २४ हजार रुपैयाँमा चार कालिज ल्याएर सुरु गरेको व्यवसायमा कँडेलले हालसम्म २५ लाख रुपैयाँभन्दा बढी लगानी गरिसकेका छन् ।

कालिज व्यवसाय फस्टाउँदै गएपछि हाल चल्लासमेत उत्पादन गरिरहेका छन् । रहरले सुरु गरेको कालिजपालनले व्यावसायिक रूप लिएपछि उनी दंग छन् । कँडेलले ६ वर्षअगाडि ‘सानो स्वर्ग’ नामको फार्म दर्ता गरेर कालिजपालन थालेका थिए ।

सुरुमा चल्ला व्यवस्थापनमा समस्या भए पनि हाल ह्याचरीमार्फत चल्ला उत्पादन गरिरहेको उनी बताउँछन् । चल्ला उत्पादन बढ्दै जाँदा बजार पाउन भने मुस्किल पर्न थालेको उनले सुनाए ।

एउटा कालिज बिक्रीका लागि तयार हुन करिब सात महिना लाग्छ । उत्पादन अनुसार बजार पाउन सकेमा अझै धेरै आम्दानी लिन सकिने उनको भनाइ छ ।

‘केही वर्ष अघि एउटा कालिज फार्म हेर्ने अवसर मिल्यो, त्यसपछि काभ्रेबाट चारवटा कालिज ल्याएर पाल्न थालेँ, त्यतिबेला मैले व्यवसाय गरुँला भन्ने सोचेको थिइनँ,’ उनले भने, ‘पछि ती चल्ला हुर्केर दुई सय अण्डा दिए, त्यसपछि व्यवसाय गर्नुपर्छ कि भन्ने सोच आयो । रहरैरहरमा थालेको कालिजपालन अहिले व्यवसायमा रुपान्तरण भयो ।’

कोभिड–१९ को महामारीका बेला एकैपटक पाँचसय वटा कालिज मरेपछि लाखौँको नोक्सानी व्यहोर्नुप¥यो । फार्म रित्तो भएपछि पुनः चल्ला ल्याउनुपरेको उनले बताए । कँडेलले उत्पादन गरेको कालिज बुर्तिबाङ, बागलुङसहित काठमाडौँसम्म पुग्ने गरेका छन् ।

भाले कालिजलाई २ हजार ५ सय रुपैयाँ र पोथी कालिजलाई १ हजार ५ सय रुपैयाँमा बिक्री गर्दै आएको उनी बताउँछन् । दसैँमा ३ सय वटा कालिज बिक्री भयो । हाल फार्ममा ७ सय कालिज छन् । वार्षिक १२ लाखको कालिज बिक्री हुने उनले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक २१ गते बुधबार