दाङ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य उत्तरी छिमेकी राष्ट्र चीन जाने भएका छन् । आगामी कात्तिक २६ गतेदेखि २८ गतेसम्म चीनको सिचुआन प्रान्तमा समन्वय र विकासका विषयमा छलफल गर्न अन्तराष्ट्रिय सम्मेलन हुँदैछ ।
सोही सम्मेलनमा भाग लिन मुख्यमन्त्री आचार्य चीन जान लागेको प्रदेश सरकारका प्रवक्तासमेत रहेका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले बताए । उनका अनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री आचार्यको चीन भ्रमण प्रस्ताव स्वीकृत गरेको छ ।
मुख्यमन्त्री आचार्यसहित प्रदेशका ७ सदस्यीय टोली चीन जानेछ । टोलीमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थलगायत रहने उनले जानकारी दिए ।
अहिले मुख्यमन्त्री आचार्यसहितको भ्रमणले लुम्बिनी सरकार र चीनको सिचुआन प्रान्तबीच पारिस्परिक सहयोग र सद्भाव अभिवृद्धि गर्ने विश्वास लिइएको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता पन्थीले दाबी गरे ।
२०७६ सालमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्तबीच भगिनी सम्बन्ध कायम भएको थियो । तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलले भगिनी सम्बन्ध कायम गरी कृषि, उद्योग, पर्यटनलगायतका क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्तबीच सहयोग आदानप्रदान गर्ने समझदारी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्