नेपालगन्ज ।
सोमबार भेरी अस्पतालको गेटअघि टायर बालियो । चारबाहिनी चोकदेखि अस्पतालको गेटसम्म आवागमन नै ठप्प पारियो । गेटको सामुन्ने बसेर एक मृतकका आफन्तहरूले धर्ना दिए । जसको कारण थियो, मोटरसाइकल दुर्घटनामा परेका एक व्यक्तिको मृत्यु हुनु र अर्का व्यक्ति अस्पतालबाट सम्पर्कविहीन हुनु ।
नेपालगन्जको गणेशपुरमा आइतबार साँझ भे५प ८०२ र भे ३ प ७१७१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा नेपालगन्जका अमन गुप्ताको मृत्यु भएको थियो । प्रहरीका अनुसार अमनलाई नेपालगन्ज मेडिकल कलेजमा पु¥याएपछि डाक्टरहरूले मृत घोषित गरेका थिए । दुर्घटनामा परेर घाइते भएका अर्का चालक नेपालगन्जकै एहसान शेषलाई भने भेरी अस्पतालमा लगियो ।
तर, अस्पतालमा सिटी स्क्यान मेसिन नचलेकोले बाहिर गएर सिटी स्क्यान गरिआउँछु भनेका घाइतेका आफन्तले उनलाई अस्पताल र प्रहरीलाई जानकारी नै नदिई भारतको अस्पताल लगेका प्रहरीको भनाइ छ । यता अमनका आफन्तहरूले प्रहरी र अस्पतालको लापरबाहीले एहसानलाई कानुनी उपचारबाट बचाउन भगाइएको भन्दै भेरी अस्पतालअघिटायर बालेर प्रदर्शन गरे । अस्पतालअघि सवारी साधनआवतजावत नै बन्द गराए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक नविनप्रकाश चापागाईंका अनुसार एहसानका आफन्तले आत्तिएर राम्रो उपचारका लागि भन्दै भारततिर लगेर गएका पाइएको जानकारी दिए ।
उनीहरू अस्पतालबाट रिफर नलगिकनै र प्रहरीलाई जानकारी नगराइकनै भारत गएका पाइएको छ । यस सम्बन्धमा बुझाईको कमीले समस्या आएको प्रहरी निरीक्षक चापागाईंको भनाइ छ । सोमबार अपरान्हमात्रै एहसानका आफन्तहरू सम्पर्कमा आएका र त्यसपछि दुवै पक्षहरू बसेर छलफल गर्नमा सहमत भएका उनले बताए ।
प्रतिक्रिया दिनुहोस्