अपराध अनुसन्धानका सारथी कुकुर



वीरेन्द्र जैसी । नेपालगन्ज ।

२०७३ साल वैशाख १५ गते सल्यानको छायाँक्षेत्रमा पर्ने रानागाउँमा एकै घरका चार जनाको हत्या भयो । स्थानीय सञ्जय भारतीले रमेश खान ठकुरीकी २३ वर्षीया श्रीमती सीता खान ठकुरी, छोरीहरू तीन वर्षीया पवित्रा खान ठकुरी, एक वर्षीया सविता खान ठकुरी र रमेशकी साली १८ वर्षीया गीता गिरीको हत्या गरेका थिए ।

राती हत्या भई बिहान थाहा भएकोमा घटनास्थल पुगेर प्रहरीले शव संकलन गरी अनुसन्धान प्रक्रिया अगाडि बढायो । हत्याराले आफू जोगिनका लागि रगत लागेका कपडाहरू पानीमा भिजाएका रहेछन् । घरको कोठाबाट ओछ्यान निकालेर घरभन्दा माथिपट्टि रहेको छिमेकीको गहुँबारीमा गएर ओछ्यान लगाई सुतेका रहेछन् ।

भारती कसैले आफूतिर शंका गर्न नसक्ने ठानेर भागेका थिएनन् । सामूहिक हत्याकाण्डको संवेदनशिलतालाई ध्यानमा राखेर प्रहरीले मध्यपश्चिम क्षेत्रीय प्रहरी कुकुर शाखा कोहलपुरबाट भुन्टी नामक कुकुरलाई लिएर गयो । भुन्टीले ट्र्याक गर्दै जाँदा सञ्जयले राति हातले छोएका स्थानदेखि लिएर हिँडेको बाटोसमेत ट्र्याक गरी उनी बारीमा सुतेको ठाउँसम्मै पत्ता लगाइदिएपछि २४ घण्टाभित्रै अपराधी पक्राउ परे ।

पछि २०७३ मंसिर ९ गते सल्यान जिल्ला अदालतले सञ्जयलाई सर्वस्वसहित जन्मकैद र जबर्जस्ती करणीको कसुरमा थप पाँच वर्ष कैद हुने फैसला ग¥यो । भारतीले गाउँमा उक्त घटना हुनुभन्दा पहिलेदेखि नै मादक पदार्थ सेवन गर्ने र अनैतिक क्रियाकलाप गर्दै आएको स्थानीयबासीहरूले अदालतको बयानमा उल्लेख गरेका छन् ।

नेपाल प्रहरीको केनाइन महाशाखा अर्थात कुकुर महाशाखामार्फत तालिमप्राप्त कुकुरहरूले अपराध अनुसन्धानमा सघाएको सल्यानको रानागाउँको उक्त घटना एक उदाहरण मात्रै हो । केनाइन महाशाखाका अनुसार अपराध अनुसन्धानका दुई दर्जनबढी घटनामा कुकुरकै कारण सफलता मिलेको छ । कुकुरले अपराध अनुसन्धानमा सफलता दिएका अधिकांश घटनाहरू हत्याका छन् भने लागूऔषध नियन्त्रण र बम पत्ता लगाउने काममा पनि कुकुरले सहायता दिलाएको छ ।

२०६२ साल पुस ९ गते पोखरा रंगशालाको गेटमा जमिनमुनि गाडिएको अवस्थामा रहेको २० किलो विस्फोटक पदार्थ कुकुरले पत्ता लगाएर सम्भावित ठूलो अपूरणीय क्षतिलाई रोकेको थियो । उक्त विस्फोटक पदार्थ भीआईपीलाई लक्षित गरी राखिएको प्रहरीले अनुमान गरेको थियो ।
नेपाल प्रहरीले अपराध अनुसन्धानमा कुकुरलाई प्रयोग गर्न २०२६ सालबाट सुुरु गरेको हो ।

सुरुमा चारवटा कुकुरहरू ल्याएर अभ्यास सुरु गरिएको थियो । अहिले कुकुरको संख्या बढेर एक सय पुगेको केनाइन महाशाखाका सूचना अधिकारी एसपी रामचन्द्र सत्यालले जानकारी दिए । अहिले देशभर १२ वटा शाखामा कुकुर राखेर तालिम दिने तथा अपराध अनुसन्धानमा प्रयोग गर्ने गरिँदै आएको एसपी सत्यालले बताए ।

प्रहरीले कुकुरलाई मुख्यगरी चारवटा क्षेत्रमा प्रयोग गर्दै आएको छ । अपराध अनुसन्धान र नियन्त्रण, हतियार तथा विस्फोटक पदार्थको पहिचान, लागूऔषध पहिचान र विपत्का बेला मानिसहरूको उद्धार गर्नका लागि कुकुरको प्रयोग गर्ने गरिएको प्रहरीले जनाएको छ । प्रत्येक विषयका लागि फरक फरक तालिम प्राप्त कुकुर हुने गरेका एसपी सत्यालको भनाइ छ ।

कुकुरको घ्राणशक्ति अर्थात सुँघ्ने क्षमता मान्छेको भन्दा ५० गुना धेरै र अद्वितीय हुने भएकाले अपराध अनुसन्धान र सुरक्षा निकायले यसको प्रयोग गर्ने गरेका हुन् । तर, कुकुर र मानिसको सम्बन्ध १५ हजार वर्ष पहिलेदेखि सुरु भएको अध्येता तीर्थबहादुर श्रेष्ठले एक लेखमा उल्लेख गरेका छन् ।

अपराध अनुसन्धानमा कुकुरहरूको सफलता (यदि भौतिक प्रमाण दोषीबाहेक अन्य व्यक्तिहरूले गडबड गरेको छैन भने) बढी हुने गरेको छ । तर, अपराधमा संलग्न नभएको प्रमाणसहित कुकुरलाई सुँघाइएमा, सचेतनाको कमीका कारण पीडितले गलत सूचना दिएमा, सार्वजनिक दबाबका कारण तालिम प्राप्त कुकुरको दुरुपयोग भएमा, कुकुरले सुँघ्ने वस्तु अपराधीबाहेक अन्य व्यक्तिले प्रयोग गर्ने गरेकोमा, कुकुर ह्यान्डलरको असक्षमताका कारण कुकुरले प्रमाणहरू पत्ता लगाउन असक्षम हुन सक्छ ।

त्यसैले अपराधी पत्ता लगाउन कुकुरहरूका लागि अपराध स्थल सुरक्षित राखेर अनुसन्धानलाई प्राथमिकता दिन एसपी सत्यालले अनुरोध गरे । अर्काेतिर, सकेसम्म चाँडो कुकुरको प्रयोग गर्दा अपराधीको गन्ध नहराएको हुने हुनाले कुकुरले प्रभावकारी रूपले काम गर्न सक्ने उनले बताए । पछिल्लो समय नेपाल प्रहरीले कुकुर महाशाखालाई तालिम र क्षमता अभिवृद्धि गर्ने लक्ष्यका साथ काम गरिरहेको सत्यालले जानकारी दिएका छन् ।

तीन प्रदेशमा छन् १७ तालिमप्राप्त कुकुर

लुम्बिनी, कर्णाली र सुदूपश्चिम प्रदेशमा १७ वटा तालिमप्राप्त कुकुर रहेका प्रहरीले जनाएको छ । कुकुर महाशाखाका सूचना अधिकारी एसपी रामचन्द्र सत्यालका अनुसार देशभर १२ वटा शाखामा एक सय कुुकुरहरू रहेकोमा लुम्बिनी, कर्णाली र सुदूपश्चिमका लागि तीनवटा शाखामा १७ वटा कुकुरहरू रहेका छन् ।

कोहलपुरमा रहेको केनाइन शाखामा सात, धनगढीको शाखामा ६ र भैरहवा विमानस्थलमा रहेको शाखामा चारवटा कुकुरहरू रहेका उनले बताए । त्यसमध्ये भैरहवाको शाखा विभानस्थललाई लक्षित गरेर राखिएको उनले बताए । नेपाल प्रहरीसँग भएका कुकुरहरूमा जर्मन सेफर्ड, बेल्जियम सेफर्ड र गोल्डेन रिसिभर्स जातका मुख्य रहेका छन् ।

प्रहरीले यसरी मनाउँछ कुकुर तिहार

नेपाल प्रहरीले कुकुर तिहार विभिन्न कार्यक्रम गरी मनाउने गर्छ । कुकुरलाई टीका र माला लगाइ मीठा परिकार खान दिएर पूजा गर्ने गरिन्छ । कुकुरको पूजा हरेक केनाइन शाखामा गर्ने गरिए पनि केन्द्रमा विशेष समारोह नै आयोजना गरिन्छ । जहाँ कुकुरबाट विभिन्न कला प्रस्तुत गर्ने कार्यक्रम रहेको एसपी सत्यालले बताएका छन् । जसमा उत्कृष्ण कुुकुर र ह्यान्डलर प्रहरीलाई अवार्ड प्रदान गरिन्छ ।

यसका साथै कुकुरको क्षमता प्रदर्शनी, केनाइनका गतिविधको नमुना प्रदर्शनी र कुकुरका कलाहरू मनोरन्जनपूर्ण प्रदर्शनीहरू गर्ने कार्यक्रम रहेको सत्यालले जानकारी दिएका छन् । कला प्रदर्शन तथा प्रतियोगितामा भाग लिई पहिलो, दोस्रो स्थान हासिल गर्ने कुकुरलाई पदक फूलमाला लगाई सम्मान गर्ने कार्यक्रम रहेको उनले बताए ।

आज कुकुर तिहार 

कोहलपुर । आज यमपञ्चकको दास्रो दिन अर्थात कुकुर तिहार । आज कुकुरको पूजाआजा गरी मीठामीठो खाना दिइन्छ । हिन्दू धर्मअनुसार यस दिन मृत्युका देवता यमराजलाई प्रसन्न पार्न कुकुरको पूजा गर्ने गरिन्छ ।

कुकुरलाई यमराजको दूत मानिन्छ । कुकुर तिहारको दिन कुकुरलाई टीका तथा घाँटीमा फूलको माला लगाई मासु, दूध, अण्डा र कुकुरको खानालगायत विभिन्न खाद्य पदार्थहरू खान दिइन्छ । यस दिन कसैले कुकुरप्रति अनादरपूर्ण व्यवहार गरेमा त्यसलाई पाप लाग्ने विश्वास गरिन्छ ।

मानिसले अनेक प्रयोजनका लागि कुकुर पाल्ने गरेका छन् । आज्ञापालक जाति भएकाले यसलाई मानिसले आफ्नो रक्षकको रूपमा लिने गरेका छन् । विभिन्न अपराधीहरू पत्ता लगाउने, अध्ययन–अनुसन्धान गर्ने कार्यमा पनि कुकुरको प्रयोग हुँदै आएको छ ।

प्रकाशित मिति : २०८१ कात्तिक १५ गते बिहीबार