पशु वधशाला सञ्चालनमा बुटवल उपमहानगर दृढ



बुटवल ।

व्यवसायीहरूले विरोध गरे पनि आधुनिक पशु वधशाला सञ्चालन गर्ने निर्णयबाट पछाडि नहट्ने बुटवल उपमहानगरपालिकाले स्पष्ट पारेको छ । आधुनिक वधशालामा जान व्यवसायी नमानेको बताउँदै उपमहानगरले व्यवसायीका समस्या समाधान गर्न तयार रहेको जनाएको छ । तर लामो प्रयासपछि सञ्चालनमा आएको आधुनिक वधशाला सञ्चालन गर्ने निर्णयबाट कुनै पनि हालतमा पछि नहट्ने उपमहानगरपालिकाले अडान लिएको छ ।

वधशाला सञ्चालनको विवाद अन्त्य गरी पूर्ण क्षमतामा सञ्चालन गर्न व्यवसायीलाई तीन दिनभित्र समस्याबारे जानकारी गराउन पत्राचार गरिएको आइतबार पत्रकार सम्मेलन गरेर बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जानकारी दिए ।

व्यवसायीलाई पटक–पटक समय दिँदा पनि नआएपछि प्रक्रियागत रूपमा नयाँ कम्पनीमार्फत टेन्डर गरिएको उनले बताए । ‘उपमहानगरपालिका वधशालालाई दिगो रूपमा सञ्चालन गर्न प्रतिबद्ध छ,’ उनले भने, ‘टेन्डरमार्फत एउटा कम्पनी छनोट भइसक्यो । अब यो प्रक्रियालाई पाँच वर्ष रोक्न सक्दैनौँ, तर व्यवसायीलाई सहयोग गर्न र समस्या समाधान गर्न तयार छौँ ।’

प्रमुख प्रशासकीय अधिकृत खनालले आधुनिक वधशालामा जाँदा व्यवसायीलाई परेका मर्काहरू समाधान गर्न तयार रहेको बताए । ‘कानुनी सर्वोच्चता सबैले मान्नुपर्छ । वधशाला फूलफेजमा सञ्चालन गर्न प्रदेश र संघीय सरकारको निर्देशन छ,’ उनले भने,
‘वधशालामा जाँदा व्यवसायीलाई परेका मर्का समाधान गर्न तत्पर छौँ, नगरबासीलाई स्वस्थकर मासु खुवाउनेबाहेक अन्य कुनै मनसाय छैन ।’

लुम्बिनी प्रदेश सरकार, हेफर इन्टरनेसनल र बुटवल उपमहानगरको २४ करोडको लगानीमा वधशाला बनेको हो । टेन्डरमार्फत वधशाला मुक्तिनाथ लाइभ स्टक बैंक लिमिटेडले सञ्चालन गरिरहेको छ । मुक्तिनाथले वार्षिक ४७ लाख ३० हजार उपमहानगरलाई बुझाउने गरी टेन्डर पारेको थियो । वधशालामा गएर खसीबोका वध नगर्ने व्यवसायीलाई उपमहानगरले निरन्तर अनुगमन गरी जरिवाना गरिरहेको छ ।

उपमहानगरपालिकाका सूचना अधिकारी तुलसा अर्यालले अहिले पनि समस्याको निकास निकाल्न पालिका तयार रहेको बताइन् । उपमहानगरपालिका अनुगमन महाशाखा प्रमुख ठगिश्वर पोखरेलले अब व्यवसायीहरूले अटेरी गर्न नहुने बताए । अहिले वधशालामा एउटा खसी÷बोका वध गरेको १ हजार रुपैयाँ शुल्क तय गरिए पनि वधशालाले ७०० रुपैयाँ काटिदिएको छ ।

सुरुमा आफूहरूलाई सञ्चालन गर्न दिने भनेर वर्षौं झुलाई अन्तिममा टेन्डरको नाममा धोका दिएको आरोप लगाउँदै मासु व्यवसायी उपमहानगरसँग असन्तुष्ट रहेका छन् ।

बुटवल उपमहानगरपालिका–१० रामनगरमा २ बिघा ३ कट्ठा क्षेत्रफलमा वधशाला बनेको छ । वधशालामा खसी बोकाको चरन, होल्डिङ सेन्टर, पशु स्वास्थ्य जाँच तथा उपचार कक्ष, वधशालामा खटिनेहरूका लागि प्राथमिक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैँचा निर्माण गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक १२ गते सोमबार