बाँसगढीमा युवा रोजगार केन्द्रित कार्यक्रम हुँदै



बाँसगढी ।

स्थानीय रोजगार रणनीति निर्माणका लागि बाँसगढी नगरपालिकाले आज एक कार्यक्रमको आयोजना गर्दै छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यमा बाँसगढी नगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा सो कार्यक्रमको आयोजना हुन लागेको हो ।

स्थानीय युवाहरूलाई रोजगारीमा कसरी जोड्न सकिन्छ भन्ने विषयमा सो कार्यक्रमको आयोजना गर्न लागिएको बाँसगढी नगरपालिका रोजगार सेवा केन्द्रका संयोजक सुवास पराजुलीले जानकारी दिए । स्थानीय कृषि, पर्यटन, उद्योग, व्यवसायलगायतका १५ वटा विषयमा सो अवसरमा छलफल हुने उनले बताए ।

सो अवसरमा विभिन्न विषयका विज्ञहरूको समेत प्रस्तुति रहने पराजुलीले बताए । लुम्बिनी प्राविधिक विश्वविद्यालयका रजिष्ट्रार तथा आईटी विज्ञ रेगबहादुर भण्डारी, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान काठमाडौँका कार्यकारी निर्देशक उमेशकुमार गुप्ता र प्रधानमन्त्री आधुनिक कृषि परियोजनाका कृषि विज्ञ वीरेन्द्र पराजुलीले विषय विज्ञका रूपमा कार्यक्रममा मन्तव्य व्यक्त गर्नेछन् ।

आयोजनका तर्फबाट स्थानीय युवा रोजगारसम्बन्धी कार्यपत्र प्रस्तुत गरिनेछ । ‘म बनाउँछु मेरो पालिका, नागरिकको श्रम र पसिना राष्ट्र निर्माणको गहना’ भन्ने मूल नाराका साथ कार्यक्रमको आयोजना गर्न लागिएको संयोजक पराजुलीले जानकारी दिए । कार्यक्रममा करिब ३ सयभन्दा बढी स्थानीय युवाहरूको सहभागिता रहने उनले दाबी गरे ।

प्रकाशित मिति : २०८१ कात्तिक ७ गते बुधबार