भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतको जजिरा, दुबईको राष्ट्रिय ध्वजाबाहक फ्लाई दुबई र थाइल्यान्ड मुख्यालय रहेको थाइ एयर एसियाले उडान गर्ने तयारी गरेका छन् ।
बुटवल ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने तयारी गरेका छन् ।
लामो समयसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको विमानस्थलमा अब अन्तर्राष्ट्रिय एयरलाइन्सले व्यावसायिक उडान सञ्चालन गर्ने तयारी गरेका हुन् । कुवेतको जजिरा, दुबईको राष्ट्रिय ध्वजाबाहक फ्लाई दुबई र थाइल्यान्ड मुख्यालय रहेको थाइ एयर एसियाले गौतमबुद्ध विमानस्थलमा उडान गर्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए ।
उनका अनुसार यी तीन वटै एयरलाइन्सले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति लिइसकेका छन् । सोहीअनुरूप उडान तालिका बनाएको विमानस्थलले जनाएको छ ।
फ्लाई दुबईले आगामी कात्तिक २४ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्नेछ । कम्पनीको यो विमानस्थलमा पहिलो उडान हो । हप्ताको सातै दिन फ्लाई दुबईले दुबई–भैरहवा र भैरहवा–काठमाडौँ–दुबई उडान गर्न लागेको हो ।
महाप्रबन्धक तिवारीका अनुसार फ्लाई दुबईको विमान दुबईबाट दिउँसो १ः४५ बजे भैरहवा आएर ३ः३० मिनेटमा काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुबई जाने उडान तालिका प्राधिकरणबाट अनुमति पाएको छ ।
यस्तै, जजिरा एयरले कात्तिक १२ गतेदेखि पुनः उडान सञ्चालन गर्दैछ । यसअघि १० महिना उडान गरेर उडान स्थगित गरेको एयरलाइन्सले पुनः सोही विमानस्थलमा उडान सुरु गर्न लागेको बताइएको छ । जजिराले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान भर्नेछ ।
जजिराको विमान बिहान ७ बजेर ३० मिनेटमा भैरहवा आएर ८ बजेर ३० मिनेटमा कुवेत उड्ने तालिका प्राधिकरणबाट अनुमति पाएको विमानस्थलले जनाएको छ ।
दुई वर्षअघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै जजिराले भैरहवामा उडान थालेको थियो । प्राविधिक कारण देखाउँदै उसले भैरहवा उडान स्थगित गरेको थियो ।
त्यसैगरी थाई एयर एसियाले पनि छिट्टै गौतमबुद्ध विमानस्थलमा उडान गर्ने योजना बनाएको छ । उक्त एयरलाइन्सको प्राविधिक टोलीले केहीदिनअघि गौतमबुद्ध विमानस्थलको भ्रमण गरेको थियो ।
प्राविधिक टोलीलाई विमानस्थलको तर्फबाट विमानस्थलको लक्ष्य, उडान सञ्चालनका लागि आधारहरू जस्तै बजार विश्लेषण, अन्य अपरेशनसँग सम्बन्धित अन्य फाइदाहरूको विस्तृत जानकारी गराइएको महाप्रबन्धक तिवारीले जानकारी दिए । यद्यपि, यो एयरलाइन्सले कहिलेबाट उडान सुरु गर्ने भन्ने टुंगो लागेको छैन ।
यही असोज १६ गते नेपालमा सिधा हवाई उडान सुरु गरेको थाई एयर एसियाले गौतमबुद्ध विमानस्थलमा पनि उडान सञ्चालन गर्न लागेको छ । एयरलाइन्सले करिब ६० वटा विमानमार्फत एसियाका महत्वपूर्ण गन्तव्यमा उडान सेवा सञ्चालन गरिरहेको छ ।
नेपाल र थाइल्यान्डबीच पर्यटनलगायत विभिन्न हिसावले जोडिएको छ । वार्षिक ४० हजारभन्दा बढी थाइल्यान्डका पर्यटकले नेपाल भ्रमण गर्ने गरेका छन् । नेपालबाट पनि उल्लेख्य सख्ङ्यामा पर्यटक थाइल्याण्ड पुग्ने गरेका छन् ।
दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्णक्षमतामा सञ्चालन गर्ने सरकारको कार्ययोजना अनुरूप गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न लागिएको महाप्रबन्धक तिवारीले जानकारी दिए ।
‘सरकारको कार्ययोजना अनुरूप आफू विमानस्थलको जिम्मेवारीमा आएपछि विशेष पहलकदमीमा अन्तर्राष्ट्रिय उडान सञ्चालनको वातावरण बनाउन लागिएको छ,’ उनले भने । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने अध्यागमन, भन्सार, सुरक्षालगायतका व्यवस्थापकीय काम दुरुस्त अवस्थामा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्