किसानका घरमै पुगेर स्थानीय बीउ संकलन



बाजुरा ।

बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकामा रहेको एक सहकारी संस्थाले कृषि उपज बीउ संकलन अभियान सञ्चालनमा ल्याएको छ । परम्परागत बालीको पकेट क्षेत्र बनाउने गरी सहकारीले किसानले उत्पादन गरेका दलहन बाली खरिद गरेर बजार क्षेत्रमा पु¥याउने गरेको छ ।

२०७६ सालमा स्थापना भएको सामुदायिक बीउ बैंक तथा कृषि सहकारी संस्थाले बीउ बैंक स्थापना गरी रैथाने बाली संकलन गर्दै आएको हो । बीउ बैंक स्थापनाका लागि सहकारीले बचत सुरु गरेको छ ।

सामान्य बचत मात्रैले स्वामिकार्तिकका किसानलाई सहयोग नपुग्ने भएपछि सहकारीले बचतबाट जम्मा भएको १० लाख रुपैयाँ पुँजीले पालिकामा उत्पादन भएका स्याउ किसानकै बारीमा पुगेर खरिद गरी जिल्लाका विभिन्न बजार र नेपालगन्ज, धनगढी, सुर्खेत, काठमाडौँलगायतका सहरमा पु¥याएर बिक्री गर्ने गरेको छ ।

सामुदायिक बीउ बैंक तथा कृषि सहकारीले गाउँपालिकाको कृषि विकास शाखासँग पनि सहकार्य गरेको छ । पालिकासँगको सहकार्यमा जलवायु अनुकूलन कृषि खेती तथा परम्परागत बालीको संरक्षण र संवद्र्धन गरिरहेको छ । उक्त सहकारीको बीउ बैंक तथा संकलन केन्द्र स्थापनाका लागि स्याउ खेती, परम्परागत बाली बजारीकरणमा ढुवानी अनुदान दिइएको छ ।

सहकारीका सदस्यलाई चारवटा कृषि समूहमा विभाजन गरेर किसानलाई कृषि प्राविधिक परामर्श, प्लास्टिक टनेल, थोपा सिँचाइ, आवश्यक बीउ, हजारी, झोल मलका लागि ड्रम, पाइप, स्प्रे, पासा, गुमोज प्लास्टिक गाउँपालिकाले सहयोग गरेको छ ।

बीउ बैंक तथा संकलन केन्द्रका लागि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय र स्वामीकार्तिक खापर गाउँपालिकाले ३० लाख सहयोग गरेको छ । बीउ बैंक तथा संकलन केन्द्र स्थापनाका लागि गाउँपालिकाको सहयोगले थप मद्दत पुगेको सहकारीका व्यवस्थापक मनवीर ल्वारले बताए ।

सहकारीको भवन निर्माण भएपछि एक गैरसरकारी संस्थाले रैथाने बाली प्रशोधन, ग्रेडिङ, प्याकिङ मेसिन, संकलित बीउ राख्ने ट्यांकी पनि सहयोग गरेको छ । बीउ बैंकमा अहिले जुनसुकै बेला कोदो, जौ, उवा, फापर, मार्से, कागुनो, सिमी, चिनो, मकै, धान, जुम्ली मार्सी धानलगायतको बीउ पाइने सहकारीका व्यवस्थापक ल्वारले बताए । गाउँपालिकामा पाँच जनालाई ज्याला दिएर बीउ संकलनकर्ताका रूपमा नियुक्त गरिएको छ ।

संकलनकर्ताले किसानको घरमै गएर परम्परागत बाली खरिद गर्दै उक्त बाली बीउ बैंक तथा संकलन केन्द्रमा पु¥याउने गरेका छन् । बीउ वितरण गरेर बढी भएको बाली जिल्ला बाहिर पनि ढुवानी अनुदानमा सहकारीले बिक्री गर्ने गरेको छ । सहकारीले सञ्चालनमा ल्याएको बीउ बैंकबाट चालु आर्थिक वर्षमा मात्रै दुई ट्रक कोदो, दुई क्विन्टल जौ, चिनो, कागुनो खरिद गरेर बिक्री गरेको जनाएको छ ।

सहकारीले स्वामिकार्तिकमा नपाइएको परम्परागत बालीको बीउ हिमाली, जगन्नाथ, बूढीनन्दा नगरपालिकाबाट खरिद गर्ने गरेको छ । सहकारीले बीउ बैंकको शाखा बूढीनन्दा नगरपालिकामा पनि स्थापना गरेको छ ।

अहिले स्वामिकार्तिक गाउँपालिकाको कृषि नीतिमा सहकारीमार्फत ढुवानी अनुदानको कुरा समेटेर बीउ बैंक र कृषि उपज संकलन केन्द्रको सहजताका लागि कृषि एम्बुलेन्स खरिद गरेको गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बताए ।

एक सय ७० सदस्य रहेको सहकारीमा एक सय स्वामिकार्तिक गाउँपालिकाका र ७० बूढीनन्दा नगरपालिकाका स्थानीय आबद्ध छन् । सहकारीमा ८० प्रतिशत महिला छन् ।

विभिन्न उपलब्धि हासिल गरेर ऋण परिचालन गरिरहेको सहकारीको कोषमा हाल १० लाख रकम रहेको व्यवस्थापक ल्वारले जानकारी दिए । रैथाने बालीको बीउ उपलब्ध गरी खेती गर्न थालेपछि सदस्यहरूले मासिक एक सयदेखि एक हजारसम्म बचत र ऋण परिचालन गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८१ कात्तिक ३ गते शनिबार