विगतको नेतृत्वप्रति असन्तुष्टि छ



रूपककुमार भुजेल
बस्तुगततर्फका उपाध्यक्ष पदका उम्मेदवार
प्रगतिशील व्यावसायिक प्यानल

१. बाणिज्य संघमा उपाध्यक्षमा उम्मेदवारी दिइरहँदा यहाँका आम व्यापारी र मतदाताबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?

चुनावका सन्दर्भमा व्यापारीहरूसमक्ष पुगिरहँदा यहाँका आम व्यापारीहरू विगतको संघको नेतृत्वसँग त्यति सन्तुष्ट नभएको मैले पाएको छु । अहिले फरकखालको नेतृत्वको अपेक्षा आम व्यापारीले गरिरहेजस्तो मलाई महसुस भएको छ ।

व्यापार संघका कामहरू यहाँका व्यापारीहरूसँग सरसल्लाह र समन्वय नगरी भएकोमा व्यापारीहरूको गुनासो छ । त्यसैले यहाँका व्यापारीहरूको सल्लाह र सुझावअनुसार अगाडि बढ्ने नेतृत्वको चाहना आम मतदाताको छ ।

२. अब हामी फरक ढंगले अगाडि आएका छौँ भनेर तपाईहरूले कस्ता कुरालाई प्राथमिकता दिनुभएको छ त ?

हामीले यहाँका व्यापारीका साझा समस्या, व्यापारमा ह्रास आउनुका कारण इत्यादिलाई मनन गरेर नै प्रतिबद्धतापत्र सार्वजनिक गरेका छौँ । हामी प्रगतिशील प्यानलका सबै साथीहरू त्यसैबाट निर्देशित छौँ ।

हामी त्यसैलाई आधार मानेर परिवर्तनका पक्षमा अगाडि बढ्नेछौँ । हामी व्यापार संघमा आएर कुर्सीमा मात्र बस्नका लागि जाने होइन । हामी त व्यापारीका घरदैलो, पसलमा पुगेर उनीहरूका समस्या सुन्ने र समाधान गर्ने पहल गर्नेछौँ ।

कोहलपुर उद्योग बाणिज्य संघको इतिहासमै पहिलोपटक संघमा महिलाको नेतृत्वमा बनेको टिमको उम्मेदवारी परेको छ । महिलाहरू आफैँमा काम प्रति इमानदार हुन्छन् नै । त्यसमाथि हामीसँग अहिले विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने युवाहरूको जुझारु टिम छ । व्यावसायिक वा व्यावहारिक जीवनमा हामी कसैप्रति पनि कसैले औँलो ठड्याउन सक्ने अवस्था छैन ।

३. व्यक्तिगत रूपमा तपाईंले जित्ने आधार के छन् त ?

विगत २० वर्षदेखि म व्यापारकै सिलसिलामा हरेक दिन बजारमा डुलिरहेको हुन्छु । अहिलेसम्म कुनै पनि साथीभाइसँग मेरो कुनै तीतो–पिरो भएको छैन । मेरो व्यावसायिक कामकै सिलसिलाामा म दैनिक ५०–६० जना व्यापारी साथीहरूसँग अन्तक्रिया गरिरहेको हुन्छु ।

उहाँहरूका समस्या के छन् भन्ने कुरा मलाई राम्रोसँग थाहा छ । फेरि म आज एकाएक व्यापार क्षेत्रमा आएको व्यक्ति पनि होइन । लामो व्यावसायिक जीवन बिताएर आएकाले यहाँका उद्योगी व्यापारीहरूले मलाई चयन गर्नुहुन्छ भन्नेमा म ढुक्क छु ।

४. यहाँका व्यापारीका मूल समस्या के देख्नुहुन्छ ?

यहाँको मूल समस्या भनेको नै खुला सिमाना हो । खुला सिमानाका कारण यहाँको व्यापारमा ह्रास आइरहेको छ ।

हामीले त्यसलाई रोक्न सकिरहेका छैनांै । अर्कोतिर बाणिज्य संघ जस्ता हाम्रा व्यावसायिक संगठनहरुले विगतमा प्रभावकारी भूमिका खेल्न सकेनन् जसका कारण समस्या घट्नुको साटो बढ्दै गएका छन् ।

प्रकाशित मिति : २०८१ कात्तिक १ गते बिहीबार