युवालाई सन्देश दिन मेरो उम्मेदवारी



अर्जुन सुबेदी
उद्योगतर्फका उपाध्यक्षका उम्मेदवार
प्रगतिशील व्यावसायिक प्यानल

१. तपाईंको संघमा उम्मेदवारी खास केका लागि ? चुनावमा जितेँ भने के गर्र्छु भन्ने छ ?

म सानै उमेरदेखि व्यवसायमा रुचि राखेर यसमा हात हालेको मान्छे हुँ । म २०६४ सालदेखि निरन्तर व्यवसायमा छु । अहिले नेपालबाट दिनप्रतिदिन युवाहरू विदेश जाने लहर चलिरहेको छ ।

यो सन्दर्भमा म स्वदेशमै केही गरौँ र गर्न सकिन्छ भन्ने धारणा राख्ने मान्छे भएकाले युवाहरूलाई यहीँ केही गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न पनि मैले उम्मेदवारी दिएको हुँ ।

२. चुनावमा आफ्नो जित कत्तिको सुनिश्चित देख्नुभएको छ ? जित्छु भन्ने आधार के छ ?

मेरो आधार भनेकै म एक जना युवा व्यवसायी हुँ । मैले यही ठाउँमा व्यवसाय गर्न लागेको पनि लामो समय भयो । अर्को कुरा व्यवसायका क्रममा साथीभाइहरू कसैसँग पनि अहिलेसम्म नराम्रो भएको छैन । सबै साथीभाइले माया नै गर्नुहुन्छ । मेरो जितका मुख्य आधार नै यिनै हुन् । र म आफ्नो जितप्रति ढुक्क छु ।

३. तपाईंले चुनाव जितेर आएपछि आम व्यापारीहरूका लागि के के गर्छु भन्ने छ ?

भन्दाखेरि अलि तीतो जस्तो लाग्छ तर सत्य के हो भने कोहलपुर उद्योग बाणिज्य संघसँग आफ्नै बजेट केही पनि हुँदैन । बाणिज्य संघले आफैँले गर्न सक्ने केही छैन । यसले त व्यापारीहरूका समस्यालाई एकत्रित गरेर सम्बन्धित निकायसम्म पु¥याइदिने मात्र हो ।

व्यापारी एक्लैले आफ्नो समस्या राख्दा त्यो सुनुवाइ नहुन सक्छ तर त्यही समस्यालाई कलेक्टिभ्ली लैजाने हो भने सुनुवाइ हुन्छ । त्यसैले व्यापारीहरूका साझा समस्याहरूलाई जोडतोडका साथ अगाडि बढाउनमा नै हाम्रो जोड रहन्छ ।

४. तपाईं आफैँ पनि एउटा व्यवसायी, तपाईंले देखेका यो क्षेत्रका व्यवसायीहरूका मूल समस्या के हुन् ?

यहाँका हामी व्यवसायीहरूले अनेकौँ समस्याको सामना गर्नुपरिरहेको छ । यहाँका व्यवसायीलाई स्थानीय सरकारले सिस्टमेटिक रूपमा बस्ने वातावरण बनाइदिनुपर्छ भन्ने लाग्छ ।

यहाँको मूल समस्या भनेको त नजिकैको खुला सिमाना नै हो जसका कारण यहाँको व्यापार व्यवसाय दिनप्रतिदिन गिर्दो अवस्थामा छ । अब स्थानीय व्यापारीहरूले पनि स्थानीय बजारबाटै सामान खरिदबिक्रीमा जोड दिनुपर्छ ।

हुन त सीमापारि गएर किनमेल गर्दा पनि सजिलो छैन । दुई रुपैयाँ सस्तो पाइयो भन्दैमा त्यहाँ हुने अपमान, असुरक्षा, जान आउन लाग्ने भाडा र झन्झट, सामानको गुणस्तरीयता आदि समस्या त्यहाँ पनि छन् । यो कुरा हामीले उपभोक्तालाई बुझाउन पनि जरुरी छ ।

५. चुनावका सिलसिलामा हिँडिरहँदा आम व्यापारी तथा मतदाताहरूमा चुनावको उत्साह कत्तिको पाउनुभएको छ ?

एउटा मानेमा अहिलेको चुनावमा व्यापारीहरूमा उत्साह देखिएको छ त्यो हो कोहलपुर उद्योग बाणिज्य संघमा महिला नेतृत्व आउँदै हुनुहुन्छ । उहाँलगायत उहाँको टिमलाई सहयोग गर्नुपर्छ भन्ने धेरै साथीहरूको मत छ ।

अब केही हुन्छ कि भन्ने कुरामा आशावादी र उत्साहित हुनुहुन्छ । अर्कोतर्फ व्यापार व्यवसायको अवस्था देखेर प्रायः व्यापारीहरू निराश नै हुनुहुन्छ ।

प्रकाशित मिति : २०८१ कात्तिक १ गते बिहीबार