जिते पनि हौसिन्न



भूपेन्द्रप्रसाद काफ्ले
वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार
प्रगतिशील व्यावसायिक प्यानल

१. चुनावमा आम मतदाताबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?

ठीकै छ । रामै्र प्रतिक्रियाहरू पाइरहेको छु । सबै मतदाताले सकारात्मक नै प्रतिक्रिया दिइरहनुभएको छ ।

२. वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी दिइरहँदा यहाँका व्यापारीमाझ तपाईंका प्रतिबद्धता के छन् ?

संघमा योभन्दा अघिका अध्यक्षहरूले संघका लागि राम्रै काम गर्नुभएको छ । काम गर्ने क्रममा कतिपय कमजोरीहरू पनि भए होलान् ।
त्यस्ता कमजोरीहरूलाई सुधार गर्दै आगामी दिनमा संघलाई चुस्त गतिमा अगाडि बढाउन र यहाँका व्यापारीका साझा समस्या समाधानका लागि नै म पनि क्रियाशील हुनेछु ।

३. चुनावमा आफ्नै जित हुन्छ भन्ने कुरामा कत्तिको आशावादी हुनुहुन्छ ?

चुनावी मैदानमा उत्रिसकेपछि या जित हुन्छ या हार । यी दुवैका लागि म तयार भएरै चुनावमा होमिएको हो । जिते पनि म हौसिने र हारे पनि निराश भइहाल्दिनँ । यदि म हारेँ भने पनि संघमा मेरो तर्फबाट खेल्नुपर्ने भूमिकाका लागि म पछि हट्दिनँ ।

म जित्छु भनेरै चुनावमा होमिएको हुँ । मतदाताहरूले पनि राम्रै रेस्पोन्स गर्नुभएको छ । त्यसैले मलगायत मेरो टिमको जित हुन्छ भन्ने कुरामा म आशावादी छु ।

४. यहाँका व्यापारीले भोग्नुपरेका मूल समस्या के हुन् भन्ने लाग्छ तपाईंलाई ?

पछिल्लो समय यहाँका व्यापारीहरूले धेरै किसिमका समस्या झेल्नुपरेको छ । सटर भाडादेखि लिएर खुला सिमानाका कारण यहाँको व्यापार घट्दो क्रममा छ ।

व्यापारमा निरन्तर ह्रास भइरहँदा चर्को बैंकको ब्याज व्यापारीले भुक्तान गरिरहनुपरेको छ । व्यापारीहरू सटर बन्द गरेर हिँड्नुपर्ने अवस्था आएको छ । यिनै समस्या समाधानका लागि हामी हातेमालो गरेर अगाडि बढ्छौँ ।

५. तपाईंले चुनाव जितेमा तपाईंको प्राथमिकताको काम के हुनेछ ?

हामीले प्रगतिशील व्यावसायिक समूहबाट उम्मेदवारी दिएका छौँ । हामीले सामुहिक रूपमै व्यापारीहरूका बीचमा प्रतिबद्धता पनि जनाएका छौँ । यदि मलगायत हाम्रो टिमले जितेमा तिनै प्रतिबद्धताहरूलाई कार्यान्वयन गर्नेतिर नै हाम्रो जोड रहनेछ ।

६. व्यापार व्यवसायमा चरम गिरावट आइरहेका बेला हुन लागेको संघको चुनावमा आम व्यापारीको उत्साह कत्तिको पाउनुभएको छ ?

म पनि एउटा व्यापारी नै हुँ । व्यापारीहरूको संगठनमा चुनाव लड्दै गर्दा हिजोको जस्तो उत्साह त छैन । यो पीडा त हामी सबैको साझा पीडा हो । कोभिडपछिको हाम्रो टर्नओभर हेर्ने हो भने हामी धेरै पछाडि गइसकेका छौँ ।

यस्तो अवस्थामा उत्साहपूर्ण सहभागिता हुने अपेक्षा कसरी गर्न सकिन्छ र । तर यस विषयमा हामी चुप लागेर बस्ने अवस्था पनि हुँदैन । माथिल्ला निकायहरूसँग सहकार्य गरेर यो अवस्थाबाट कसरी पार पाउन सकिन्छ भनेर लाग्नुपर्छ । हाम्रो प्रयास पनि त्यही हुनेछ ।

प्रकाशित मिति : २०८१ कात्तिक १ गते बिहीबार