युवा नेतृत्वलाई स्वागत गर्न व्यापारीहरू आतुर हुनुहुन्छ



युवाहरूको उम्मेदवारीले व्यवसायीहरूको उत्साह र चासो बढ्दो रहेको छ । उहाँहरूले नयाँ फ्रेस नेतृत्व खोजिरहनुभएको छ । म पनि उपमहासचिव पदको फ्रेस उम्मेदवार हुँ । त्यसकारण नयाँ युवाहरू अगाडि आइरहँदा अब केही हुन्छ कि भन्ने आशा उहाँहरूमा देखिएको छ ।

राजकुमार पौडेल
उपमहासचिव पदका उम्मेदवार
लोकतान्त्रिक समावेशी व्यवसायी समूह

१. तपाईंको उम्मेदवारी किन र केका लागि ?

अहिलेको समय र अवस्थामा जुनसुकै ठाउँमा युवाहरूको खाँचो छ । कुनै पनि संघसंस्थालाई सही दिशामा अगाडि बढाउन वा दीर्घकालीन विकास गर्न युवाहरूको भूमिका अत्यावश्यक छ ।

त्यसकारण अहिले लोकतान्त्रिक समावेशी व्यवसायी समूहमार्फत हामी सबै युवाहरूको उम्मेदवारी परेको छ । एक जना युवा र व्यवसायलगायत विभिन्न सामाजिक संघसंस्थामा आबद्ध भएका नाताले संघमा मेरो उम्मेदवारी हो ।

२. संघमा जितेमा तपाईंले कस्ता काम गर्ने योजना बनाउनुभएको छ ?

कोहलपुर उद्योग वाणिज्य संघ अहिले पुरानै ढर्राले चलिरहेको छ । भर्खरै भर्खरै टेक्नोलोजीको विकास भइरहेको छ । योभन्दा अघिल्ला कार्यकालमा कागजमा लेखेर बिल काट्नुपर्ने अवस्था थियो । अहिले बिस्तारै सुधार हुँदै गएको छ । वाणिज्य संघ भनेको प्राइभेट सेक्टरको संस्था हो । उद्योग वाणिज्य संघको छुट्टै अस्तित्व छ ।

पछिल्लो समय संघमा पनि बिस्तारै हामी व्यवसायीहरूबीच मनमुटाब देखिन थालेको छ । यसलाई सुधार्नु मेरो उद्देश्य रहेको छ । अर्कोतिर यहाँका व्यापारीहरूले अनेकौँ समस्यासँग जुध्नुपरेको अवस्था छ । ती समस्यालाई आफ्नो तर्फबाट समाधान गर्न पहल गर्ने योजना नै हो ।

३. व्यापारीहरू घरमा पुग्दैगर्दा व्यवसायीहरूको चुनावप्रतिको आकर्षण कत्तिको पाउनु भएको छ ?

एउटा कुरा हामीले के स्वीकार्नुपर्छ भने कोभिडपछिको अवस्थामा यस्ता किसिमका चुनावहरूमा हुनुपर्ने उत्साह व्यापारीमा छैन । त्यो अवस्थामा पनि युवाहरूको उम्मेदवारीले व्यवसायीहरूको उत्साह र चासो बढ्दो रहेको छ ।

उहाँहरूले नयाँ फ्रेस नेतृत्व खोजिरहनुभएको छ । म पनि उपहासचिव पदको फ्रेस उम्मेदवार हुँ । त्यसकारण नयाँ युवाहरू अगाडि आइरहँदा अब केही हुन्छ कि भन्ने आशा उहाँहरूमा देखिएको छ ।

४. आफैँ स्वयम् व्यवसायी भएकाले यहाँका व्यवसायीले भोग्नुपरेका समस्या समाधान गर्न संघले निभाउनुपर्ने भूमिका के देख्नु हुन्छ ?

पक्कै पनि व्यवसायीका समस्या समाधान गर्न संघको महत्वपूर्ण भूमिका हुन्छ । अहिले खुला सिमानाले गर्दा व्यवसायीहरू सुक्दै जाने र व्यापार घढ्दो क्रममा छ । खुला सिमानाले यहाँको व्यापार व्यवसायमा असर गरेको छ ।

यसको निराकरण गर्न चेकपोस्टमा सिसि क्यामेरा जडान गरेर रेखाभित्र चेकजाँच गर्ने हो भने समाधान हुन सक्छ । अर्कोतिर सीमानजिक रहेका बाँके, बर्दियाका सबै उद्योग वाणिज्य संघहरूले आपसमा समन्वय र सहकार्य गरेर नाकाबाट हुने अवैध व्यापारलाई रोक्न पहल गर्नु जरुरी छ । व्यवसायीहरू एक जुट हुने र सरकारले पनि विशेष ध्यान दिने हो भने यो समस्या समाधान गर्न सकिन्छ ।

५. व्यवसायीहरूको घरदैलो पुग्दा कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?

अहिले चाडपर्वको मुखमा चुनाव परेकाले दसैँँअघि र अहिले फरक किसिमको प्रतिक्रिया पाइरहेका छौँ । किन भने दसैँंको बेला व्यवसायीहरूको व्यापार गर्ने सिजन हो । त्यो बेला त्यति समय दिन सक्नुभएन ।

त्यसैले हामीले पनि प्रचारप्रसारलाई बजार केन्द्रित नगरी वडाकेन्द्रित गरेका थियौँ । अहिले हामी बजारकेन्द्रित भएर प्रचारप्रसार गरिरहेका छौँ । उहाँले निकै सकारात्मक प्रतिक्रियाहरू दिइरहनुभएको छ । यसले गर्दा हामी उत्साहित छौँ । उहाँहरू युवाहरूको नयाँ नेतृत्वलाई स्वागत गर्न आतुर हुनुहुन्छ ।

६. निर्वाचनमा विजयी हुनेमा कत्तिको ढुक्क हुनुहुन्छ ?

म त एकदमै विश्वस्त छु । किनभने मैले विगतका दिनहरूमा विभिन्न संस्थाहरूमा रहेर काम गरेको छु । त्यसबाट पनि अनुभव बटुलेको छु । बिनालाभ हुने संस्था जेसिज र कपडा व्यवसायी संघ कोहलपुरको अहिले पनि म बहालवाला अध्यक्ष हुँ । यी संस्थाहरूमा रहेर मैले गरेको कामप्रति सबै जानकारी हुनुहुन्छ ।

कपडा व्यवसायी संघको अध्यक्ष भइरहँदा कोहलपुर उद्योग वाणिज्य संघले गर्न नसकेका काम मैले गरेको छु । संघमा आबद्ध २५० जना व्यवसायीहरूको निःशुल्क होलबडी स्वास्थ्य जाँच गराएको थिएँ ।

कोहलपुर कपडा व्यवसायी संघको इतिहासमै पहिलोपटक बलियो आर्थिक कोष स्थापना भएको छ । आउँदा दिनमा पनि व्यक्तिभन्दा पनि संस्थालाई कसरी अघि बढाउन सकिन्छ भन्ने मेरो सोच छ । विगतमा म खटेको, मैले गरेका कामहरू सबैले देख्नुभएकाले म विजयी हुनेमा ढुक्क छु ।

प्रकाशित मिति : २०८१ कात्तिक १ गते बिहीबार