बस दुर्घटनामा एकै परिवारका चारसहित पाँचको मृत्यु



बैतडीको पुर्चौडी नगरपालिका–३ बस्ने ४५ वर्षीय जैमती बोहरा, दुई दिनका शिशु, २२ वर्षीय सहदेव बोहरा र २१ वर्षीया कमला बोहराको दुर्घटनास्थलमै मृत्यु भएको हो । जैमती सहदेवका सासु, कमला श्रीमती र दुई दिनका शिशु उनका छोरा रहेका छन् ।

कैलाली ।

डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा भएको बस दुर्घटनामा एकै परिवारका चार जनासहित पाँच जनाको ज्यान गएको छ । कन्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीका लागि छुटेको पवनदूत यातायातको ना८ख १०७८ नम्बरको बस मंगलबार राति दुर्घटनामा परेको थियो ।

पुर्चौडी नगरपालिका–३ बस्ने ४५ वर्षीय जैमती बोहरा, दुई दिनका शिशु, २२ वर्षीय सहदेव बोहरा र २१ वर्षीया कमला बोहराको दुर्घटनास्थलमै मृत्यु भएको हो । जैमती सहदेवका सासु, कमला श्रीमती र शिशु छोरा रहेका छन् ।

पुर्चाैडी नगरपालिका–३ का वडाध्यक्ष खगेन्द्र बोहराका अनुसार सहदेवका बुबा र आमाको यसअघि नै मृत्यु भइसकेको छ । ‘सहदेवका दुई दाइ छन्, तर उनीहरू पनि भारतमा मजदुरीका लागि गएका छन्,’ तोलीगाउँ नै घर भएका उनले भने, ‘एक जनालाई बोलाएका छौँ । हामी पोस्टमार्टमपछि चारै जनाको शव लगेर पुर्चाैडी लाग्छौँ ।’

वडाध्यक्ष बोहराका अनुसार सहदेव पनि भारतमै रोजगारी गर्दै आएका थिए । गर्भवती श्रीमतीको स्याहार गर्न र दसैँ मनाउनका लागि मात्रै उनी केही समय अगाडि घर पुगेका थिए ।

यस्तै पुर्चौंडी नगरपालिका–१० का ६० वर्षीया महिला गोवणी महराको शव भने दुर्घटनास्थलबाट पछिमात्रै निकालिएको थियो । उनको शव बसको छतमुनि च्यापिएका अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक वीरेन्द्र बोहरासहित १२ जनालाई थप उपचारका लागि धनगढी पठाइएको उनले बताए । दुर्घटनामा अन्य ११ जना पनि घाइते छन् ।

बस सडकबाट झन्डै तीन सय मिटर खसेर पोखरा–बेलापुर सडकमा खसेको थियो । दुर्घटनाका कारण भने खुल्न सकेको छैन । दुर्घटनाग्रस्त बस क्षतविक्षत भएको छ ।

प्रकाशित मिति : २०८१ कात्तिक १ गते बिहीबार