कोहलपुर उ.बा. संघ निर्वाचन : सहमति नबन्दा नमुना मतपत्र वितरणमा ढिलाइ



कोहलपुर ।

कोहलपुर उद्योग वाणिज्य संघको आगामी कात्तिक ३ गते हुने निर्वाचनको नमुना मतपत्रमा उम्मेदवारहरूबीच सहमति नहुँदा निर्वाचन समितिले नमुना मतपत्र प्रदान गर्न सकेको छैन । निर्वाचन कार्यतालिका अनुसार आइतबार उम्मेदवारहरूलाई नमुना मतपत्र वितरण गनुपर्ने थियो ।

तर, नमुना मतपत्र प्रदान गर्नुअघि लोकतान्त्रिक समावेशी व्यावसायिक समूह र प्रगतिशील व्यावसायिक समूहसँग छलफल गर्दा सहमति हुन नसक्दा नमुना मतपत्र प्रदान गर्न नसकिएको प्रमुख निर्वाचन अधिकृत लोकबहादुर शाहले जानकारी दिए ।

सहमति गर्न दुवै पक्षलाई आज बिहानसम्म समय दिइएको र सहमति नभए निर्वाचन समितिले आफैँ निर्णय गरेर नमुना मतपत्र प्रदान गर्ने उनको भनाइ छ । नमुना मतपत्र मात्रै केही समय अघिपछि भए पनि अन्य निर्वाचन कार्यतालिका यथावत् रहेको उनले बताए ।

कात्तिक १ गते साँझ ५ बजेसम्मलाई प्रचार–प्रसारको अवधि तोकिएको छ । कात्तिक ३ गते बिहान ८ बजेदेखि मध्याह्न ४ बजेसम्म मतदानको समय तोकिए पनि मतदानको समय छलफलबाट हेरफेर गर्न सकिने निर्वाचन समितिले जनाएको छ । मतदान र मतगणना कोहलपुर उद्योग बाणिज्य संघकै कार्यालयमा हुनेछ ।

प्रगतिशील व्यावसायिक समूहले अञ्जना धितालको नेतृत्वमा समूह र लोकतान्त्रिक व्यावसायिक समूहले प्रदीप भट्टराईको नेतृत्वमा उम्मेदवारी दिएका छन् ।

धितालको समूहबाट वरिष्ठ उपाध्यक्षमा भूपेन्द्र काफ्ले, उद्योगतर्फको उपाध्यक्षमा अर्जुन सुवेदी, वस्तुगत उपाध्यक्षमा रूपक भुजेल, महासचिवमा दीपक अर्याल, उपमहासचिवमा गोपालप्रसाद अधिकारी, कोषाध्यक्षमा गंगा बगाले र सहकोषाध्यक्षमा टंकप्रसाद खनाल छन् ।

त्यसैगरी, सदस्यका लागि ढकबहादुर थारू, कृष्णबहादुर रानाभाट, रविप्रसाद कर्माचार्य, मोतीप्रसाद सुवेदी, भानुराज उपाध्याय, परिर्वतन विश्वकर्मा, राजीव शर्मा, अंकित सिग्देल र एकबहादुर खड्काले उम्मेदवारी दिएका छन् । यो समूहबाट एसोसिएटतर्फ दिपेश खनाल तथा महिला सदस्यमा अस्मिता केसी र प्रतिभा खड्का उम्मेदवार रहेका छन् ।

यस्तै, लोकतान्त्रिक व्यावसायिक समूहबाट भट्टराईको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा चण्डीप्रसाद गैरे, उद्योगतर्फको उपाध्यक्षमा हरिशरण केसी, वस्तुगत उपाध्यक्षमा राकेश विष्ट, महासचिवमा दीपकबहादुर भण्डारी, उपमहासचिवमा राजनकुमार पौडेल, कोषाध्यक्षमा भूमिराज कँडेल र सहकोषाध्यक्षमा देवीलाल सुनार रहेका छन् ।

त्यस्तै, सो समूहबाट सदस्यमा अमृतप्रसाद पौडेल, नोखराज रावत, श्रीधर घिमिरे, किरणप्रसाद श्रेष्ठ, झुपबहादुर भण्डारी, किरण विक, गौरव श्रेष्ठ, गिरिधारी शर्मा, अशोक गौडेल र मानबहादुर क्षेत्री उम्मेदवार रहेका छन् । एसोसिएटतर्फ राजेन्द्रप्रसाद रिजाल तथा महिला सदस्यमा शीतल योगी अधिकारी र ममता थापा उम्मेदवार रहेका छन् ।

प्रकाशित मिति : २०८१ असोज २१ गते सोमबार