बाँके ।
बर्दिया मधुवनका एक युवा युक्रेनी सेनाको कब्जामा परेको खुलेको छ । रुसी सेनामा भर्ती भएका मधुवन नगरपालिका– ९ का ४८ वर्षीय कृष्णबहादुर घिमिरे क्षेत्री २३ दिनदेखि युक्रेनी सेनाले युद्ध बन्दी बनाएर राखेको खुलेको हो ।
घरपरिवारको सम्पर्कभन्दा बाहिर रहेका घिमिरेको भिडिओ सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि युक्रेनी सेनाले बन्धक बनाएको तथ्य खुलेको छ ।
युक्रेनी सेनाको बन्धक रहेका घिमिरेले हिन्दीमा रुसी सेनाका उच्च अधिकारीले अत्यधिक पीडा दिने गरेको उल्लेख गर्दै रसियन सेनामा कोही पनि भर्ती नहुन आग्रह गरेका छन् । युक्रेनी सेनाले रेकर्ड गराएको उक्त भिडिओमा आर्थिक प्रलोभनमा परी भारत र नेपालका धेरै युवा रुसी सेनामा भर्ती भएको भन्दै ज्यानको जोखिम राखेर भर्ती हुन नआउन घिमिरेले आग्रह गरेका छन् ।
रुसी सेनामा कार्यरत नेपालीले युक्रेनी सेनाको कब्जामा रहेका घिमिरेको उक्त भिडिओ घर परिवारलाई उपलब्ध गराएपछि परिवार तनावमा परेको छ । पारिवारिक स्रोतका अनुसार युक्रेनी सेनाले रुसी सनाका कमान्डरलाई समेत बन्धक बनाएको भिडिओ पठाएका छन् ।
दुबईमा सेक्युरिटी गार्डमा घिमिरेले दुई वर्ष काम गरेका थिए । रुसी सेनामा आकर्षक तलब रहेको भन्दै उनी एक वर्षदेखि घिमिरे रुसी सेनामा गएका थिए । युक्रेनी सेनासँग भिडन्तमा जानुअघि र फर्केर सेल्टरमा पुगेपछि घरपरिवारसँग कुरा गर्दै आएका उनी पछिल्लो २३ दिनयता सम्पर्कमा नरहेको पत्नी जानुका क्षेत्रीले बताइन् ।
‘लडाइँमा जाँदा १५ दिन, धेरैमा २० दिन सम्पर्कमा आउनु हुन्थेन,’ उनले भनिन्, ‘यो बेला २३ दिन सम्पर्कमा नआएको भयो । सम्पर्कमा नआएपछि केही भयो कि भन्ने शंका थियो । अहिले उता कब्जामा रहेको भिडिओ आयो ।’
युद्धबन्दी रहेको भिडिओ प्राप्त भएपछि परिवार उद्धारको पहल गरिदिन प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासमक्ष पुगेका छन् । ‘कमाएर खुवाउने उहाँलाई आज समस्या प¥यो । उद्धारका लागि पहल गरिदिन सिडिओकहाँ निवेदन, भिडिओ र ठेगाना उपलब्ध गराएका छौँ,’ घिमिरेकी पत्नी जानुकाले भनिन् ।
यता उद्धारका लागि विद्युतीय माध्यमबाट कन्सुलर विभाग र परराष्ट्र मन्त्रालयमा विवरण पठाइसकेको प्रजिअ शर्माले जानकारी दिइन् । ‘परराष्ट्रमा रहेको सम्बन्धित विभागमा सम्पर्क भइसकेको छ । विभागमा उपलब्ध नामहरूमध्ये घिमिरेको नाम आएको छैन । भर्खरै कब्जा गरेको भएकाले नाम नआएको हुनसक्छ,’ उनले भनिन् ।









प्रतिक्रिया दिनुहोस्