‘शैक्षिक सुधारका लागि भ्रातृसंगठन बाधक’



गणेश रावत । कोहलपुर ।

त्रिभुवन विश्वविद्यालयको जबसम्म सुधार हुँदैन तबसम्म नेपालको भविष्य अन्धकार रहने त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालले बताएका छन् । त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय कोहलपुरको भवन उद्घाटन गर्दै उपकुलपति बरालले सो कुरा बताएका हुन् ।

देशका निम्ति विभिन्न क्षेत्रमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्ने एक मात्रै सरकारी शैक्षिक संस्था रहेकाले यसको सुधार गर्नु आवश्यक रहेको उनको भनाइ छ । ‘त्यसैले स्थानीय जनशक्ति उत्पादन गर्न नसक्ने हो भने देशलाई अघि बढाउन सकिँदैन,’ उनले भने, ‘अब शैक्षिक क्षेत्रलाई राजनीति मुक्त क्षेत्र नबनाई हुँदैन ।’

हिजोको समयमा त्रिभुवन विश्वविद्यालयमा राजनीतिक दलहरूका भ्रातृसंगठनको आवश्यकता रहे पनि अब परिस्थिति बदलिइसकेकाले शैक्षिक संस्थाहरूलाई राजनीतिमुक्त बनाउनुपर्ने उनले बताए । नवनिर्मित भवनको उद्घाटन गर्दै विभिन्न क्याम्पस र शिक्षकहरूका धेरै समस्या रहेकाले त्यसको समाधान गर्न अझै समय लाग्ने उनले बताए ।

त्रिभुवन विश्वविद्यालयमा ३८ वर्ष अध्यापन गरेकाले त्यहाँका समस्याहरूबारे आफू जानकार रहेको उनको भनाइ थियो । ‘र, त्यसको समस्या समाधान गर्न पनि म तयार छु,’ उनले भने, ‘तर शैक्षिक सुधार गर्न सबैभन्दा पहिले शिक्षण संस्थामा भ्रातृसंगठन खारेज गर्नु आवश्यक छ ।’ राजनीतिक दलहरूका भ्रातृ संगठनहरूका कारण शैक्षिक सुधारमा समस्या परेको उनले बताए । हरेक कुरामा राजनीतिक भागबन्डा हुने गरेकाले त्रिभुवन विश्वविद्यालय पछि परेको उनले दाबी गरे ।

सर्वप्रथम परीक्षा प्रणालीमा सुधार गरेर शैक्षिक सुधारको सुरुवात गरिने उपकुलपति बरालको भनाइ छ । कोहलपुरमा स्थापना भएको क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय लुम्बिनी, कर्णाली र सुदूरपश्चिमको केन्द्रमा रहेकाले यसलाई तीन वटै प्रदेशमातहतमा रहनेगरी सञ्चालन गर्न कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यले आग्रह गरे ।

विगतका वर्षहरूमा पनि कोहलपुुरमा विभिन्न कार्यालयहरू स्थापना हुने तर, उद्देश्यअनुसार सञ्चालन हुन नसकेको बताउँदै उनले उद्देश्यअनुरूप सञ्चालनका लागि प्रक्रिया अघि बढाइदिन पनि उपकुलपति बराललाई आग्रह गरेका थिए ।

शैक्षिक सुधारका लागि परीक्षा प्रणाली सुधार नगरे आंगिक र निजी क्याम्पसहरू धरासयी हुने नगर प्रमुख आचार्यको भनाइ थियो । त्रिभुवन विश्वविद्यालय क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय कोहलपुरका सह परीक्षा नियन्त्रक सुमन गौतमले कार्यालय केही समय ढिला भए पनि भवन निर्माण गर्न सकिएको भन्दै सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका थिए ।

उनले विश्वविद्यालयलाई राजनीतिकमुक्त गराउने, गुमेको साख फर्काउने र अनुसन्धान केन्द्रित शैक्षिक कार्यक्रम बनाउने कुरामा अहिलेको नेतृत्वबाट आशा गरिएको उनको भनाइ थियो ।

सो अवसरमा कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक ईश्वरीप्रसाद विक, कोहलपुर नगरपालिका–२ वडाध्यक्ष हरि कठायत, विभिन्न क्याम्पसका क्याम्पस प्रमुख, प्राध्यापकलगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २०८१ असोज १८ गते शुक्रबार