कोहलपुर ।
कोहलपुर उद्योग वाणिज्य संघको आगामी कात्तिक ३ गते हुने निर्वाचनका लागि आज मनोनयपत्र वितरण तथा उम्मेदवारहरूको मनोनयन दर्ता हुँदै छ । निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको मनोनयपत्र बिहान ८ बजेदेखि १० बजेसम्म वितरण गरिने निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले जानकारी दिए ।
उनका अनुसार त्यसलगत्तै ११ देखि ३ बजेसम्म मनोनयन दर्ता हुने र मनोनयन दर्ता भएका उम्मेदवारहरूको प्रथम नामावली प्रकाशन गरिनेछ । मनोनयन दर्ताका लागि दुवै समूहलाई सहमति गरेर छुट्टाछुट्टै समय दिइने उनले बताए ।
यदि सहमति नभए पाँच जना निर्वाचन समितिको सल्लाहअनुसार अघि बढ्ने उनको भनाइ छ । मनोनयन दर्ताका लागि सबै तयारी पूरा भएको उनले मिसन टुडेलाई जानकारी दिए । अहिलेसम्म दुई समूह लोकतान्त्रिक समावेशी व्यावसायिक समूह र प्रगतिशील व्यावसायिक समूहको मात्र चर्चा छ । आज हुने मनोनयन दर्तामा स्वतन्त्र उम्मेदवारी पर्ने सम्भावना कम रहेको बताइन्छ ।
त्यस्तै, १८ गते शुक्रबार बिहान ११ देखि अपरान्ह्र १ बजेसम्म उम्मेदवारीउपर दाबीविरोध र २ बजेदेखि ५ बजेसम्म दाबी विरोधउपर छानबिन हुनेछ । सोही दिन नै उम्मेदवारहरूको दोस्रो नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन तालिका अनुसार १९ गते शनिबार बिहान १० बजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय रहेको छ । सोही दिन ५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ । २० गते आइतबार उम्मेदवारलाई नमुना मतपत्र वितरणको काम हुनेछ । कात्तिक १ गते साँझ ५ बजेसम्मलाई प्रचारप्रसारको अवधि तोकिएको छ ।
कात्तिक ३ गते बिहान ८ बजेदेखि मध्याह्न ४ बजेसम्म मतदानको समय तोकिए पनि मतदानको समय छलफलबाट हेरफेर गर्न सकिने निर्वाचन समितिले जनाएको छ । मतदान र मतगणना कोहलपुर उद्योग वाणिज्य संघकै कार्यालयमा हुनेछ ।









प्रतिक्रिया दिनुहोस्