खजुरा ।
बाँकेको खजुरा गाउँपालिकाले विभिन्न कार्यक्रम गरेर २४औँ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाएको छ । ‘विश्वव्यापी रूपमा स्याहार तथा सहयोग पद्धतीको सवलीकरण’ भन्ने नाराका साथ मंगलबार गाउँपालिकाले अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाएको हो ।
दिवसका अवसरमा खजुरा गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा र नागरिक आरोग्य सेवा केन्द्र (आयुर्वेद शाखा)ले विभिन्न कार्यक्रम आयोजना गरेका थिए ।
कार्यक्रमहरू वडा नम्बर ३ मा रहेको आयुर्वेद शाखाको योग तथा तालिम हलमा सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जानकारी दिए । उनका अनुसार दिवसका अवसरमा बिरामीहरूको स्वास्थ्य परीक्षण, निःशूल्क औषधि वितरण र सुगर परीक्षण गरिएको थियो ।
कार्यक्रमबाट ४२ जना महिला र २५ जना पुरुषको स्वास्थ्य परीक्षण गरिएको सामाजिक विका शाखा संयोजक कृष्णाकुमारी पोख्रेलले जानकारी दिइन् । उनका अनुसार ६७ जनाको सुगर समेत परीक्षण गरिएको थियो । कुल गरेर १ सय ३४ जनाले आयुर्वेद स्वास्थ्य सेवा लिएको खजुरा गाउँपालिकाले जनाएको छ ।
सो अवसरमा बोल्दै गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले पालिकाले जेष्ठ नागरिकहरूलाई घरघरमै पुगेर निःशूल्क स्वास्थ्य सेवा उपलब्ध गराइरहेको बताइन् ।
‘जेष्ठ नागरिकहरूप्रति गाउँपालिका एकदमै संवेदनशिल रहेको छ’ उनले भनिन्, ‘उहाँहरूलाई घरमै पुगेर सेवा दिने तयारी गरिरहेका छौँ । यसप्रति गाउँपालिका एकदमै गम्भीर छौँ ।’
हाल घरमै पुगेर दिइदैँ आएको स्वास्थ्य सेवालाई अझै प्रभावकारी बनाउने गाउँपालिका उपाध्यक्ष मल्लले बताइन् । सामाजिक सुरक्षा भत्ता वितरणमा समेत सहजीकरणको काम गाउँपालिकाले गरिरहेको उनले जानकारी दिइन् ।
दिवसको अवसरमा भएको कार्यक्रममा उपाध्यक्ष मल्ल, प्रमुख प्रशासकीय अधिकृत राना, वडाध्यक्ष पूर्णबहादुर भण्डारी, बाँके आयुर्वेद स्वास्थ्य केन्द्र नेपालगन्जका प्रमुख डा. आलोककुमार पान्डे, गाउँपालिकाका लेखा अधिकृत प्रदिप सुनार लगायतका कर्मचारी, जनप्रतिनिधि, स्थानीयहरूको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्