खल्ला झगडियामा राप्तीको बाढीले भत्काएको बाँध पालिकाद्वारा मर्मत



राप्ती सोनारी गाउँपालिका र सिआरएसको सहकार्यमा कटान भइरहेको ८० मिटर बाँधको अस्थायी मर्मत गरिएको छ । नाइलनको जालीमा नाइलनकै बोरामा बालुवा भरेर बाँसको टेको लगाएर मर्मत गरिएको हो ।
नेपालगन्ज ।

सरकारले बजेट नदिएपछि राप्ती सोनारी गाउँपालिकाले एक गैरसरकारी संस्थाको सहयोगमा खल्ला झगडियामा राप्ती नदीले कटान गरेको बाँध अस्थायी मर्मत गरेको छ । स्थानीय सरकारदेखि संघीय सांसद समेतले हारगुहार गर्दा समेत बजेट संघीय सरकारले रकम नदिएपछि पालिकाले कटान रोक्नको लागि अस्थायी मर्मत गरेको हो ।

करिब एक महिनाअघि सत्तारुढ दल नेकपा (एमाले)का सांसद सूर्यप्रसाद ढकाल वडा नम्बर ७ को खल्ला झगडियामा राप्ती नदीले कटान गरिरहेको बाँध यथाशीघ्र मर्मत गराउन सरकारलाई दबाब दिन भन्दै धर्नामा बसेका थिए ।

ढकालको निर्वाचन क्षेत्र बाँके क्षेत्र नम्बर १ मा पर्ने उक्त गाउँसहित नरैनापुर गाउँपालिकाका नागरिकहरू अहिले पनि नदीले बाँध कटान गरेर नदी बस्तीमा पस्ने चिन्तामै छन् ।

जनताको तटबन्ध कार्यालय लमही दाङबाट निर्माण भएको उक्त बाँध २०७९ सालको भदौबाट कटान हुन थालेको थियो । तर, उक्त कटान रोक्न बाँधको स्थायी मर्मतको काम जनताको तटबन्ध कार्यालयले हालसम्म समेत गरेको छैन ।

धेरैतिर प्रयास गर्दासमेत मर्मत हुन नसकेपछि राप्ती सोनारी गाउँपालिकाले एक गैरसरकारी संस्थासँग सहकार्य गरेर उक्त स्थानमा अस्थायी मर्मत गरेको हो ।

वडा नम्बर ७ का अध्यक्ष रामलखन थारूका अनुसार केही दिनअघि मात्रै गाउँपालिका र सिआरएसको सहकार्यमा कटान भइरहेको ८० मिटर बाँधको अस्थायी मर्मत गरिएको छ ।

नाइलनको जालीमा नाइलनकै बोरामा बालुवा भरेर बाँसको टेको लगाएर मर्मत गरिएको उनले जानकारी दिए । मर्मतमा १२ हजार बढी बोरा बालुवा हालिएको वडाध्यक्ष थारूले बताए । बोरा र जालीको व्यवस्था गाउँपालिकाले जनताको तटबन्धलगायतका निकायसँग सहकार्य गरेर व्यवस्था गरेको र बाँस तथा जनशक्तिको खर्चको व्यवस्था सिआरएसले गरेको उनले बताए ।

मर्मतमा करिब १२ लाख रुपैयाँभन्दा बढीको काम भएको अनुमान गरिएको उनको भनाइ छ । ‘अहिले गरेको मर्मत प्राथमिक उपचार मात्रै हो । कटानको जोखिम अझै टरेको छैन,’ वडाध्यक्ष थारूले मिसन टुडेसँग भने । उक्त स्थानमा करिब पाँच सय मिटर स्थायी मर्मत गर्नुपर्ने आवयकता रहेको छ । जसका लागि करिब ६ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको वडाध्यक्ष थारू बताउँछन् ।

खल्ला झगडियाका साथै राप्ती सोनारीकै विश्वम्भरपुरमा पनि बाँध कटान भइरहेकाले तत्काल मर्मतको आवश्यकता रहेको उनले बताए । तर, सत्तारुढ दलका सांसद आएर एकछिन धर्नामा बसेजस्तो गरेर गइसकेपछि कुनै खालको समन्वयमा नआएको उनको दुःखेसो छ । थारूले भने, ‘अहिलेसम्म माथिल्लो सरकारबाट समस्याको गम्भीरता बुझेको जस्तो सुखद खबर आएको छैन ।’ उनले आफूहरूले जनताको तटबन्ध कार्यालयसँग बुझ्दा मर्मतका लागि माग गरेर माथिल्लो निकायमा पठाएको भन्नेबाहेक अरू जवाफ नपाइएको पनि बताए ।

राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेल पनि जनताको तटबन्धले बजेट अभाव देखाएर मर्मतको कामलाई गम्भीरतापूर्वक नलिएको बताउँछन् । सांसद ढकालसँगै आफूहरूले गरेको पहलको पनि कुनै सुनुवाइ नभएको उनको भनाइ छ । उनले भने, ‘हाललाई क्षति रोक्न उक्त बाँधले काम गर्ला भन्ने आशा छ । तर, दीर्घकालीन मर्मत नभैकन ढुक्क हुने अवस्था छैन ।’

प्रकाशित मिति : २०८१ असोज १५ गते मंगलबार