हवाई टिकटका लागि रातभर जाग्राम



चाडबाडको मुखमा नेपालगन्जबाट कर्णालीका जिल्लामा जान हवाई टिकट नपाएर नागरिकहरूले नेपालगन्जमा सास्ती खेपिरहेका छन् । उनीहरू टिकटको आशाले रातभर नेपाल एयरलाइन्ससहित अन्य विमान कम्पनीका टिकट काउन्टर अगाडि जाग्राम बस्ने गरेका छन् । रातभरी काउन्टर अगाडि बस्दासमेत टिकट पाउने पक्का चाँही हुँदैन । अहिले नेपालगन्ज विमानस्थलबाट नेपाल एयरलाइन्स र समिट एयरले मात्रै कर्णालीमा उडान भरिरहेका छन् ।

वीरेन्द्र जैसी । नेपालगन्ज ।

नेपालगन्जमा रहेका हुम्लाका गोर्खबहादुर गुरुङ आफ्नी हजुरआमा बिरामी भएको खबर पाएर भेट्न जानका लागि एक हप्ता अघिदेखि हुम्ला जाने हवाईजहाजको टिकट खोजिरहेका थिए । जति धाए पनि टिकट पाएनन् । यहीबीचमा उनकी हजुरआमा बितेर गइसकिन् । ‘चार दिन भयो हजुरआमा बितेको,’ सोमबार नेपाल एयरलाइन्सको नेपालगन्जस्थित टिकट काउन्टरअघि भेटिएका उनले मिसन टुडेसँग भने, ‘जिउँदै हुँदा भेट्न पाइएन । एकपटक घर पुगेर त आऔँ भनेर टिकट लिन खोजेको खै पालै आउँदैन ।’

चाडबाडको मुखमा नेपालगन्जबाट कर्णालीका जिल्लामा जान हवाई टिकट नपाएर नागरिकहरूले नेपालगन्जमा सास्ती खेपिरहेका छन् । गोर्खजस्तै टिकट कुरिरहेकी एक युवतीले साँझको ८ बजेदेखि नै टिकट काउन्टरअघि पेटीमा बसेर टिकटका लागि पालो कुरिरहेको बताइन् । ‘जो पहिला आयो उसैले टिकट पाउँछ भने । हामी त रातभरी यही बस्यौँ । मच्छरले हैरान गरे,’ उनले भनिन् ।

उनीजस्तै बिहान टिकट काउन्टर खुल्नुअघि नै काउन्टर बाहिर भेटिएका नागरिकहरूले रातीदेखि नै आफूहरू टिकट काउन्टरबाहिर बसेको बताए । हुम्ला जानका लागि एकमात्र विकल्प हवाई मार्ग मात्रै हो । प्रतिकूल मौसमका कारण बुधबारबाट आइतबारसम्म हवाइ उडान ठप्प भएपछि यात्रुहरूको चाप बढ्यो । अहिले सडक मार्ग पनि असुविधायुक्त भएका छन् । तर, यहीबेला निजी हवाई कम्पनीहरू सिता र तारा एयरले आफ्ना जहाजहरू नेपालगन्जबाट उडाइरहेका छैनन् ।

अहिले नेपाल एयरलाइन्स र समिटले मात्रै नेपालगन्जबाट कर्णालीमा उडान गरिरहेका नेपालगन्ज विमानस्थल कार्यालयले जनाएको छ । अर्काेतिर उडान गरिरहेका कम्पनीहरूले पनि पहिला आउनेहरूलाई पालो नदिएर लाइनमा बसेकाहरूका आधारमा पालो दिँदा मानिसहरू रातीदेखि नै टिकट काउन्टर रुङ्न थालेका हुन् ।

नेपाल एयरलाइन्सका ड्युटी अफिसर लोकेन्द्र रिजालले पहिला आएकैहरूका आधारमा लिस्ट बनाएरै टिकट दिने गरेको दाबी गरे । तर, टिकट कुरिरहेकाहरू त्यसो नभैरहेको बताउँछन् ।

हवाई टिकट पाउन अप्ठ्यारो हुनुमा बुधबारदेखि हवाइ उडान रोकिएर आइतबारबाट मात्रै सुचारु हुनु पनि एक मुख्य कारण रहेको रिजालले बताए । तर, नागरिकहरू निजी हवाई कम्पनीहरूले नेपालगन्जबाट नियमित उडान नगराइदिनु कारण रहेको बताउँछन् । हर्कबहादुरले भने, ‘हवाइ उडानको सङ्ख्या नबढाएर समस्याको समाधान हुँदैन । सबै कम्पनीहरूले एक–एक वटा उडान गरिदिनुपर्याे । अनि यात्रु नभएका अन्य विमानस्थलका उडानलाई यात्रु भएकातिर सार्नुपर्याे ।’

नेपालगन्ज विमानस्थल कार्यालयका सूचना अधिकारी धिरेन्द्र रिजालका अनुसार आइतबारबाट कर्णालीमा हवाई उडान पुनः सुचारु भएयता सोमबारसम्म कर्णालीका पाँचवटा विमानस्थलमा जम्मा नौ वटा उडानहरू भएका छन् । ती उडानमध्ये ६ वटा उडान नेपाल एयरलाइन्सको विमानले गरेको हो भने बाँकी तीनवटा समिटले ।

नेपाल एयरलाइन्सले आइतबार बाजुरा, रारा र जुम्ला तथा सोमबार सिमीकोट, रारा र जुम्लामा उडान गरेको रिजालले जानकारी दिए । समिटले आइतबार डोल्पामा उडान गरेकोमा सोमबार डोल्पा र सिमीकोटमा उडान गरेको छ । नेपालगन्जबाट उडानको जिम्मा लिएका तारा र सिताले अहिले नेपालगन्जबाट उडान गरिरहेका छैनन् । उनीहरू पूर्वतिरका रुटमा व्यस्त छन् । ‘कहिले कहाँ उडान गर्ने भन्ने सेड्युल उनीहरू माथिबाटै लिएर आउँछन् । कहिले यता आउँछन् भन्न सकिन्न,’ सूचना अधिकारी रिजालले भने ।

प्रकाशित मिति : २०८१ असोज १५ गते मंगलबार