शिवु खनाल । दाङ ।
वर्षाका कारण बाटोहरू ठाउँ–ठाउँमा भत्किएपछि राजपुरको दक्षिण चुरे भेगका दर्जनौँ गाउँका बासिन्दाको दैनिकी कष्टकर बनेको छ । वर्षाले राजपुर गाउँपालिका–१, ६ र ७ नम्बर वडामा पर्ने बस्ती जोड्ने सडक वर्षाले भत्काएपछि भारतसँग सीमा जोडिएका दाङका स्थानीयको दैनिकी कष्टकर बन्दै गएको हो ।
अहिले त्यस क्षेत्रमा एउटा बस्तीबाट अर्को बस्तीसम्म आवत–जावत गर्न पनि मुस्किल हुने गरेको स्थानीयबासीको गुनासो छ । मुस्किलले पैदल हिँड्न सकिने अवस्था भए पनि मोटरसाइकल, जीपलगायत सवारीसाधन भने चल्ने अवस्था नरहेको त्यस क्षेत्रका स्थानीयले बताएका छन् । दैनिक उपभोग्य सामग्री चामल, दाल, नुन, तेललगायतका खाद्यान्न मान्छेले नै बोकेर मुस्किलले ढुवानी गरिरहेको राजपुर गाउँपालिका–६ का वडाध्यक्ष श्यामबहादुर रोकाले जानकारी दिए ।
उनले बर्खा रोकिएपछि मात्र सीमा नाका जोड्ने सबै बाटो मर्मत गरिने बताए । साना खहरे खोलामा बाढी आएर सीमा सडक जोड्ने बाटो बिगारेपछि गएको ३ महिनादेखि सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।
वर्षाले सीमा नाका जोड्ने सडक भत्किएपछि भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता भएको राजपुर गाउँपालिका–१ सुकौली नाका निवासी देवीराम सुनारले बताए । ‘सडक बन्द हुँदा नेपाली भूमि प्रयोग गर्न ८/९ घन्टासम्म पैदल हिँड्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘देउखुरी जान वर्षाले बन्द भएका सडक हुँदै कि त हिँडेर जानुप¥यो होइन भने भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता छ ।’
लमहीदेखि राजपुरको जङ्ग्रहवासम्म टेम्पु, अटोलगायतका अन्य सवारी साधान चले पनि गाउँबाट देउखुरीसम्म आइपुग्न करिब ८/९ घण्टासम्म पैदल हिँड्नुपर्ने बाध्यता रहेको राजपुर गाउँपालिका–१ बरुवा नाका निवासी सुमन अधिकारीले बताए ।
नाका क्षेत्रमा दिनहुँजसो वर्षा भइरहेकाले खोलामा बाढी आउँदा भारतीय बजारसम्म किनमेल गर्नका लागि वनजंगलको सडक हुँदै करिब ८ घण्टासम्म पैदल हिँडेर आउनुपर्ने बाध्यता भएको गुनासो गरे ।
अहिले यस क्षेत्रमा उत्पादन भएको तरकारीलगायत अन्य खाद्यान्यसमेत बजार लगेर बेच्न नपाएको किसानहरू बताउँछन् । उक्त क्षेत्रमा सवारी साधन नचल्दा विरामी पर्दा औषधि उपचारका लागि आउन–जानसमेत कठिनाइ भएको राजपुर गाउँपालिका–७ डगमारा नाका निवासी प्रमोद घर्तीले बताए । उनले सीमा क्षेत्रमा बसोबास गर्ने अधिकांश स्थानीयबासीको दैनिकी कष्टकर बनेको उनले गुनासो गरे ।
यस्तै, राजपुर गाउँपालिका–६ खाङ्ग्रानाका स्थित बाल कल्याण माविका प्रध्यानाध्यापक रामसुरज यादवले सीमा नाका जोड्ने सडक मर्मत नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको दुखेसो पोखे । ‘अविरल वर्षातका कारण गत असारदेखि अवरुद्ध बनेका यहाँका ग्रामीण सडक लामो समयदेखि मर्मत नहुँदा स्थानीयलाई आउजाउमा निकै सास्ती खेप्नु परेको छ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्