कैलाली ।
डोटीका एक युवाले करिब १२ रोपनी जमिनमा व्यवसायिक तरकारी खेती गरेर मनग्य आम्दानी गरिरहेका छन् । आदर्श गाउँपालिका वडा नम्बर–१ चाँसीका २३ वर्षीय मुकुन्द अवस्थीले व्यावसायिक तरकारी खेती गरेर मनग्य आम्दानी गरिरहेका हुन् ।
किसान मुकुन्दका अनुसार हाल दैनिक रूपमा ८ देखि १० हजार कमाइ हुने गरेको छ । उनले आजभोलि दैनिक प्रतिकेजी ५० रुपैयाँका दरले ८ देखि १० क्यारेट टमाटर फर्मबाट बजारमा जाने गरेको बताए ।
मुकुन्दले दाजुभाइ बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्म दर्ता गरेर वर्तमान समयमा २५ वटा प्लास्टिक घर (टनेल) बनाएर तरकारी खेती गरेका छन् । सुरुवातमा गाउँपालिकाबाट प्राप्त भएको १ लाख ५० हजार रुपैयाँ अनुदान र बाँकी आफ्नो लगानीमा दश टनेलबाट तरकारी उत्पादन सुरु गरेको बताए । हाल उनी कृषि थोपा सिँचाइको रूपमा प्रयोग गर्दै आएका छन् ।
जिल्लाको मुख्य व्यापारिक केन्द्र दिपायल बजारसम्म पुग्ने कच्ची सडक अवरुद्ध भइरहने भएकाले पिठ्युँमा बोकेर बजार पु¥याउनुपर्ने बाध्यता सिर्जना भएको उनले बताए । पछिल्लो तीन वर्षयता डोटीमा तरकारी खेतीमा उत्पादन वृद्धि हुँदै गएको छ । कृषि ज्ञान केन्द्र डोटीले दिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ मा २ हजार २ सय ५७ हेक्टर जमिनमा २६ हजार ७ सय ६६ मेट्रिक टन तरकारी उत्पादन भएको छ ।
आर्थिक वर्ष २०७९/८० मा २ हजार ३ सय ३३ हेक्टर जमिनमा ७२ हजार ९६ मेट्रिक टन तरकारी उत्पादन भएको प्राप्त सूचनामा उल्लेख छ । त्यस्तै गत आर्थिक वर्ष २०८०/८१ मा २ हजार ३ सय ५९ क्षेत्रफल जमिनमा २७ हजार ५ सय २३ मेट्रिक टन तरकारी उत्पादन भएको ज्ञान केन्द्रले सूचनामा उल्लेख छ ।
तीनवटै आर्थिक वर्षको तथ्यांकको तुलना गर्दा डोटी जिल्लामा तरकारी खेतको क्षेत्रफल पनि वृद्धि हुँदै गएको छ । जिल्लामा तरकारी खेतीको उत्पादन वृद्धि हुँदै गए पनि पानी र जंगली जनावरका कारण तरकारी खेती बिस्तारमा समस्या भएको किसानहरूले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्