दाङ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले तुलसीपुर र साल्टट्रेडिङ कर्पोरेसनले घोराहीले सूपथ मूल्य पसल सञ्चालनमा ल्याएका छन् ।
चाडबाड लक्षित सूपथ मूल्य पसलमा चामल, नुन र चिनी बिक्रीका लागि राखिएको साल्ट ट्रेडिङ कर्पोरेसन घोराहीले जनाएको छ ।
चाडपर्व लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसल सुरु गरेपछि स्थानीय उपभोक्ता खुसी भएका छन् । संघीय सरकारको निर्णयअनुसार दाङका दुई स्थानमा आइतबारदेखि सूपथ मूल्य पसल सञ्चालनमा ल्याइएको हो ।
घोराही उपमहानगरपालिका–१८ की सीता चौधरीले घोराहीमा खुलेको सूपथ पसलमा सामान किन्दा प्रतिकिलो ५ रुपैयाँ सस्तो पाएको
बताइन् । ‘ज्याला मजदुरी गरेर खाने मान्छेलाई एक दुई रुपैयाँ सस्तो पाउँदा पनि खुसी लाग्ने रहेछ,’ उनले भनिन्, ‘प्रत्येक वर्ष सञ्चालन हुने सूपथ मूल्य पसलमा सामान किन्न आउने गरेको छु ।’
पसलमा नुन, चिनी मात्रै राख्ने गरेकामा अन्य उपभोग्य सामग्री पनि राख्न उनको सुझाव छ । साल्ट ट्रेडिङका ‘आउटलेट’बाट नुनमा प्रतिकेजी दुई, चिनीमा पाँच, तेलमा सात, चिउरामा सात, पिठो र मैदामा पनि सात रुपैयाँ छुट दिइरहेको घोराहीका प्रमुख रामबाबुप्रसाद गुप्ताले जानकारी दिए ।
तुलसीपुरमा सञ्चालित सूपथ मूल्य पसलमा चामल बिक्रीका लागि राखिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले सहुलियत पसलमा ‘स्टिम’ जिरा मन्सुली र अरुवा मन्सुली चामल बिक्रीका लागि राखेको छ ।
सूपथ मूल्य पसलबाट यो वर्ष १ हजार ७ सय ५० क्विन्टल चामल बिक्री गर्ने कोटा पाएको व्यापार कम्पनीका प्रमुख तिलक सुनारले जानकारी दिए । उनका अनुसार सञ्चालन भएको सहुलियत मूल्यको पसल माघ २ गतेसम्म चल्नेछ ।
प्रतिकेजी पाँच रुपैयाँ सहुलियतमा सूपथ मूल्यको पसलबाट चामल बिक्री भएको उनले बताए । स्टिम जिरा मसिनो चामल २ हजार १ सय २५ मा तथा अरुवा मन्सुली चामल १ हजार ५ सयमा बिक्री भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्